२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै प्याब्सन–अक्सफोर्ड सहकार्यअन्तर्गत ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेटको बुकिङ खुला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना



अ+ अ-

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रको विकास र विस्तारका लागि ‘चलचित्र विधेयक २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको समेत बताउनु भयो ।

प्रतिनिधि सभाबाट विधेयक समितिमा पठाइएको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले ‘देशको आवाज’ बोल्ने स्तरीय चलचित्र निर्माणमा सहयोग पु¥याउन सरकारले आागमी आर्थिक वर्षका लागि साढे तीन करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो ।

मन्त्री तिमिल्सिनाले पुराना दस्तावेजका आधारमा ठूला कुरा गर्ने तर ठोस नतिजा नदिने सरकारी कार्यशैलीमा परिवर्तन ल्याउन चाहेको बताउनु भयो ।  सरकारको ध्यान केवल खर्च गर्नेतर्फ मात्र नभई उत्पादन र सिर्जनामार्फत कसरी उपलब्धि हासिल गर्ने भन्नेमा केन्द्रित रहेको उहाँको तर्क छ । चलचित्र क्षेत्रको प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको समन्वयमा बजेट व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, पार्लियामेन्टमा चलचित्र विधेयक, २०८२ लाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने प्रश्ताव पारित गरेर आएको छु । म यहाँहरू समक्ष एउटा प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । यो क्षेत्र यहाँहरूको दिल बसेको क्षेत्र हो, यहाँहरूको जिन्दगी जोडिएको क्षेत्र हो । यस क्षेत्रलाई माथि उठाउन त्यो विधेयकलाई कस्तो ऐनका रूपमा अगाडि बढाउनुपर्छ भन्ने विषयमा सरकारको तर्फबाट म हरसम्भव प्रयास गर्नेछु । संसदीय समितिमा पनि सरकारको तर्फबाट कहाँ–कहाँ आवश्यक स्पेस बनाउन सकिन्छ भन्ने विषयमा काम गर्नेछौँ । म आशा गर्छु, समितिले पनि यहाँहरूलाई बोलाएर छलफल गर्नेछ ।

समितिलाई यस सम्बन्धमा के अनुरोध गर्नुपर्छ, त्यो पनि गरौँला । हामी कहिलेकाहीँ धेरै ठूला अपेक्षाहरू गर्छौँ, तर त्यसलाई मार्गनिर्देशन गर्ने दस्तावेज भने निकै पुरानो हुन्छ । ठूला–ठूला भाषण गर्ने तर ठोस परिणामका लागि आवश्यक प्रेरणा र आधारमा ध्यान नदिने प्रवृत्तिबाट यो सरकार अलग हुन चाहन्छ। त्यसका लागि यहाँहरूकै सहयोग आवश्यक छ । जति कुरा गरे पनि सरकार भनेको अन्ततः हामी जनता नै हौँ । स्रोत–साधनहरू सीमित नै हुन्छन् । आज पनि म केहीबेर पार्लियामेन्टमा बसेर आएको हुँ । हाम्रो राष्ट्रिय बहस प्रायः “यहाँ खर्च गर, त्यहाँ खर्च गर” भन्ने विषयमै केन्द्रित हुन्छ ।

पार्लियामेन्टदेखि चिया पसलसम्म खर्चका विषयमा बढी छलफल हुन्छ । तर सरकार पनि एउटा संस्था हो; कसरी आम्दानी बढाउने, कसरी उत्पादन र सिर्जना गर्ने भन्ने विषयमा भने निकै कम छलफल हुन्छ । हामी चलचित्र क्षेत्रलाई अझ व्यवस्थित र सशक्त बनाउन चाहन्छौँ, र चलचित्र क्षेत्रले पनि भोलि देश र जनतालाई धेरै योगदान दिन सकोस् भन्ने अपेक्षा राख्छौँ । यहाँहरूलाई एउटा जानकारी पनि गराउन चाहन्छु । संस्कृति मन्त्रीज्यू र म बेलाबेलामा हाम्रो चलचित्र तथा कला क्षेत्रका विषयमा छलफल गर्छौँ ।

हामी दुवैको यस क्षेत्रसँग नजिकको सम्बन्ध छ, केही काम पनि गरेका छौँ। त्यसैले यो क्षेत्रका लागि कसरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ भन्ने विषयमा निरन्तर सोचिरहेका छौँ । यस वर्षको बजेटमार्फत संस्कृति मन्त्रीज्यू र मैले सल्लाह गरेर अर्थमन्त्रीज्यूलाई अनुरोध गरेका थियौँ कि केही राम्रा चलचित्रहरू—देशको कथा बोल्ने, देशको आवाज बोल्ने चलचित्रहरू–लाई सहयोग गर्न सकियोस् । कहिलेकाहीँ सानो सहयोगले पनि ठूलो प्रभाव पार्न सक्छ। यही सोचका साथ राम्रो चलचित्र निर्माणलाई सहयोग गर्ने उद्देश्यले यस वर्ष सरकारले करिब साढे ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

एउटा स्पष्ट विधि र मापदण्ड बनाएर देशको कथा बोल्ने खालका चलचित्र निर्माणलाई सहयोग गर्ने हाम्रो इच्छा छ । यस वर्ष त्यसबाट प्राप्त हुने सकारात्मक नतिजाका आधारमा आगामी वर्ष अझ बढी बजेट बढाउनका लागि अर्थमन्त्रीज्यूसँग अनुरोध गर्न सकियोस् भन्ने अपेक्षा राखेको छु । त्यसका लागि यहाँहरूको सहयोग र साथको पनि अनुरोध गर्दछु ।

आगामी आर्थिक वर्षको सहयोगले दिने सकारात्मक नतिजाका आधारमा आगामी वर्षहरूमा बजेट थप गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरिने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रले मुलुकको पहिचान र समृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गर्दै उहाँले सीमित स्रोत र साधनका बाबजुद सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल