२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा युद्धविरामः सिकाइ र अन्योल



अ+ अ-

डेर अल–बालाह। गाजामा लागू भएको युद्धविरामले शुक्रबार छ महिना पूरा गरेको छ, तर अपेक्षित शान्ति र स्थिरताको सट्टा यसले अधुरो प्रतिबद्धता, मानवीय सङ्कट र कूटनीतिक ढिलाइको कठोर यथार्थ उजागर गरेको छ ।

यही अनुभवले अहिले इरानसँगको नाजुक युद्धविरामलाई बुझ्न महत्त्वपूर्ण सन्दर्भ प्रदान गरेको छ । करिब २० लाख मानिस बसोबास गर्ने गाजा क्षेत्रमा इजरायली सेना र हमास नेतृत्वका लडाकूबीचको तीव्र युद्ध रोकिए पनि स्थायी समाधानतर्फका अधिकांश कदम अझै अघि बढ्न सकेका छैनन् ।

हमासलाई निःशस्त्र बनाउने, दुई दशक लामो शासनको अन्त्य गर्ने, अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने र व्यापक पुनर्निर्माण सुरु गर्ने जस्ता मुख्य कार्यहरू कागजमै सीमित छन् । इजरायलको नियन्त्रणमा रहेको एक मात्र सीमा नाकाबाट सीमित मात्रामा सहायता प्रवेश भइरहेको छ, जसले गाजावासीलाई निरन्तर अनिश्चिततामा राखेको छ ।

यी चुनौतीहरूले हालै सुरु भएको इरान युद्धको युद्धविराममा पनि यस्तै जटिलता आउन सक्ने सङ्केत दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा बमबारी रोकिए पनि त्यसपछि दीर्घकालीन शान्ति सुनिश्चित गर्ने कार्यहरू अन्य पक्षहरूको जिम्मामा छाडिएको देखिन्छ । यसले विश्व बजार र कूटनीतिक वृत्तमा अस्थिरता बढाएको छ ।

युद्धविरामको सफलता विवरण र कार्यान्वयनमा निर्भर हुने स्पष्ट भएको छ । इरानसँगको दुई हप्ते युद्धविरामले लेबनानमा थप भ्रम सिर्जना गरेको छ, जहाँ इजरायलले उक्त सम्झौता लागू नहुने बताउँदै हिजबुल्लाहमाथि आक्रमण जारी राखेको छ भने इरानले त्यसलाई सम्झौताभित्र पर्ने दाबी गर्दै चेतावनी दिइरहेको छ । यद्यपि औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि इजरायलले लेबनानसँग प्रत्यक्ष वार्ताको अनुमति दिने घोषणा गरेको छ, जसले नयाँ सम्भावना र अन्योल दुवै उत्पन्न गरेको छ ।

यसअघि अमेरिकाको पहलमा स्थापना गरिएको र ट्रम्पको नेतृत्वमा रहेको ‘बोर्ड अफ पिस’ ले सात अर्ब डलरको प्रतिबद्धतासहित गाजा मात्र नभई विश्वका अन्य द्वन्द्व समाधान गर्ने उद्देश्य लिएको थियो । तर यसको पहिलो बैठकपछि केही दिनमै इरानमाथि आक्रमण सुरु भएपछि यो संयन्त्र निष्क्रियजस्तै बनेको छ । हमासले निःशस्त्रीकरण प्रस्तावमा अझै प्रतिक्रिया नदिएकाले प्रक्रिया थप अलमलिएको छ ।

अमेरिकी अधिकारीहरूले धैर्य असीमित नरहने चेतावनी दिए पनि स्पष्ट समयसीमा नतोकिँदा दबाब कमजोर भएको देखिन्छ । कूटनीतिक प्रयासहरू विभिन्न मोर्चामा फैलिँदा गाजाजस्तो संवेदनशील क्षेत्र ओझेलमा परेको सङ्केत मिलेको छ ।

संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत विवरणअनुसार गाजाको भविष्य ‘नयाँ युद्ध वा नयाँ सुरुआत’ बीच अडिएको छ ।  तर स्थानीय बासिन्दाहरूका लागि तेस्रो विकल्प, अर्थात् बेवास्ता, अझ वास्तविक जस्तो देखिएको छ ।

अक्टोबर १० देखि लागू भएको युद्धविरामपछि छ महिना बितिसक्दा पनि गाजाको दैनिक जीवनमा उल्लेखनीय सुधार आएको छैन । विशाल पालका शिविरहरूमा अधिकांश जनसङ्ख्या बस्न बाध्य छन् भने केही मानिसहरू क्षतिग्रस्त भवनहरूमा आश्रय लिइरहेका छन् । स्वास्थ्यकर्मीहरूले औषधि र राहत सामग्रीको आपूर्ति अपेक्षाअनुसार नबढेको बताएका छन् ।

पाँच अन्तर्राष्ट्रिय सहायता संस्थाले सार्वजनिक गरेको मूल्याङ्कनअनुसार २० बुँदे युद्धविराम योजना मानवीय दृष्टिले निकै कमजोर साबित भएको छ । मार्च २०२६ को पहिलो दुई हप्तामै गाजामा प्रवेश गर्ने सहायता ट्रकहरू ८० प्रतिशतले घटेका छन् भने अत्यावश्यक वस्तुको मूल्य अत्यधिक बढेको छ । चिकित्सा निकासीसमेत ठप्पजस्तै भएको छ ।

स्थानीय बासिन्दाहरूले निराशा व्यक्त गरिरहेका छन् । विस्थापित एक महिलाले वातावरण प्रदूषित र रोग फैलिएको बताउँदै युद्धविराम भएको अनुभूति नै नभएको गुनासो गरिन् । अर्का एक बासिन्दाले युद्ध रोकिए पनि जीवन अझै भयावह रहेको उल्लेख गरे ।

स्थानीय स्तरमा छिटपुट हिंसा जारी नै छ । इजरायली सेनाले कब्जा क्षेत्र नजिक हवाई आक्रमण र गोली प्रहार गरिरहेको छ भने लडाकू समूहहरूले पनि प्रतिकार गरिरहेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम अवधिमा मात्र ७३८ जनाको ज्यान गएको छ ।

समग्रमा, अक्टोबर ७, २०२३ मा सुरु भएको युद्धयता ७२ हजार ३१७ प्यालेस्टिनी मारिएका छन् । यी तथ्याङ्कहरू अन्तर्राष्ट्रिय निकायहरूले सामान्यतया विश्वसनीय माने पनि नागरिक र लडाकूबीचको स्पष्ट विभाजन भने दिइएको छैन ।

अन्तर्राष्ट्रिय ध्यान घट्दै जानु पनि अर्को चुनौती बनेको छ । एक समय विश्वव्यापी आक्रोशको केन्द्र रहेको गाजा अहिले इरान युद्धको छायाँमा परेको छ । यसले युद्धविराम कार्यान्वयनमा आवश्यक कूटनीतिक दबाब कमजोर बनाएको छ ।

सहायता संस्थाहरूले लगातार उच्च तहबाट विशेषगरी अमेरिकाले दबाब दिनु आवश्यक रहेको बताएका छन् । तर यस्तो दबाब पर्याप्त रूपमा कायम नरहेको उनीहरूको निष्कर्ष छ ।

मध्यपूर्वका प्रमुख मध्यस्थकर्ता इजिप्ट र कतारसमेत अहिले इरानसँगको युद्ध र त्यसको आर्थिक प्रभावतर्फ केन्द्रित भएका छन् । यसले गाजाको दीर्घकालीन समाधान अझ पर धकेलिएको छ ।

यस्तै अवस्थामा लेबनानमा इजरायल–हिजबुल्लाहबीचको तनावले क्षेत्रीय अस्थिरता बढाएको छ । गाजा स्थिरीकरणका लागि प्रस्तावित अन्तर्राष्ट्रिय बलमा योगदान दिन इच्छुक देशहरूको सङ्ख्या घट्न सक्ने चिन्ता पनि बढेको छ । उदाहरणका रूपमा इन्डोनेसियाले हालै लेबनानमा आफ्ना तीन शान्ति सैनिक गुमाएको छ ।

यसरी गाजाको छ महिनाको युद्धविरामले देखाएको अधुरो शान्ति, कमजोर कार्यान्वयन र घट्दो अन्तर्राष्ट्रिय ध्यानले इरानसँगको वर्तमान युद्धविरामलाई सफल बनाउन गम्भीर पाठ प्रस्तुत गरेको छ । (रासस/एपी)




भर्खरै