६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने



अ+ अ-

कास्की। क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति तथा मध्यम गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

गरिब घरपरिवारको बिमा गर्ने सम्बन्धमा आज महानगर र स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशबीच सम्झौता भएको छ । महानगरपालिकाको अति तथा मध्यम गरिब घरपरिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावलीबमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

उहाँका अनुसार महानगरपालिकाका गरिब घरपरिवार पहिचान तथा परिचयपत्र विवरणमार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूचीबमोजिम आगामी विसं २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिनेछ ।

स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको प्रतिपरिवार रु तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्य रु सात सय बिमाबापतको रकम महानगरपालिकाले बिमा बोर्डलाई भुक्तानी गर्नेछ ।

महानगरपालिकाको निःशुल्क बिमा कार्यक्रममा सहभागी तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घरपरिवार पहिचानको सिफारिस र दर्ता सहयोगीमार्फत भरिएको दर्ता फारमसमेत संलग्न गरी महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ ।

यसरी पेस हुन आएका विवरणसहितका फारमहरू आवश्यक प्रक्रिया पूरा गरी स्वास्थ्य बिमा बोर्डमा बुझाइसकेपछि स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिने प्रमुख आचार्यले बताउनुभयो । यस कार्यक्रमबाट महानगरपालिका क्षेत्रमा रहेका गरिबीको रेखामुनिको लक्षित वर्गको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास आचार्यले बताउनुभयो ।

“आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत सेवाको पहुँचमा पुग्न नसकेको वर्गलाई निकै ठूलो राहत मिल्ने विश्वास लिएका छौँ । महानगरपालिका सम्पूर्ण नगरवासीको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेको छ”, प्रमुख आचार्यले भन्नुभयो ।

महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अति तथा मध्यम गरिब परिवारलाई बिमा गर्ने कार्यका लागि सुरुआतमा दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिने बताउनुभयो । लक्षित वर्गलाई यस कार्यक्रममार्फत लाभ लिन महानगरपालिकाले अनुरोधसमेत गरेको छ । रासस