१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन बनाउँदै ‘विल्डअन’



अ+ अ-

सिरहा। विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै ‘विल्डअन’ नेपालले मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन निर्माण गर्ने भएको छ । सन् २०२६ भित्र उक्त लक्ष्य पूरा गर्ने योजनासहित संस्थाले काम अघि बढाएको हो ।

आज सिरहाको लहानमा आयोजित कार्यक्रममा विल्डअन नेपाल, लहान नगरपालिका र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतापछि लहान-२ स्थित भानु आधारभूत विद्यालय, लहान-१ स्थित आधारभूत विद्यालय सिंगराही मटियर्वा र लहान-४ स्थित मधेस सहिद विजय सहनी आधारभूत विद्यालयमा तीन कोठे भवन तथा दुई कोठे शौचालय निर्माणको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा विल्डअनको केन्द्रीय कार्यालय धनगढीकी निर्देशक निर्मला चौधरी र लहान नगरप्रमुख महेशप्रसाद चौधरी सहभागी हुनुहुन्थ्यो । भवन निर्माणका लागि विल्डअन र नगरपालिकाबीच संयुक्त साझेदारी रहनेछ भने स्थानीय समुदायको जनश्रमदान अनिवार्य रहनेछ । यसअनुसार एक विद्यालय भवन निर्माणका लागि लाग्ने अनुमानित लागत रु ४९ लाख ९८ हजारमध्ये संस्थाले रु ३३ लाख ९७ हजार व्यहोर्ने छ भने नगरपालिकाले रु १५ लाख योगदान गर्नेछ ।

निर्देशक चौधरीले ग्रामीण क्षेत्रमा शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले आवश्यकताअनुसार विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको बताउनुभयो । “विद्यालय भवन अभाव, जीर्ण अवस्था र विद्यार्थी सङ्ख्यालाई ध्यानमा राखेर हामीले भवन निर्माणमा सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “लहानबाट यो अभियान सुरु भइसकेको छ र अन्य स्थानमा विद्यालय व्यवस्थापन समिति र प्रशासनसँग छलफल भइरहेको छ ।”

उहाँले सिरहामा २० वटा तथा समग्र मधेस प्रदेशमा ४० वटा विद्यालय भवन निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । निर्माण कार्य तीन महिना १६ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो । यी आयोजना सम्पन्न भएपछि वार्षिक रूपमा क्रमशः ५० र ६० वटा थप भवन बनाइने उहाँले जानकारी दिनुभयो ।

विल्डअन एक अमेरिकी अन्तरराष्ट्रिय गैरनाफामूलक संस्था हो, जसले विकासोन्मुख देशहरूमा विद्यालय पूर्वाधार निर्माण गर्दै आएको छ । संस्थाका स्वयंसेवकहरू प्रत्यक्ष फिल्डमा खटिएर स्थानीय समुदायसँग सहकार्य गर्दै निर्माण कार्य सम्पन्न गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

चौधरीका अनुसार निर्माण कार्यमा छड, सिमेन्ट, फलाम, फर्निचरलगायत सामग्री संस्थाले उपलब्ध गराउनेछ भने स्थानीय तहले बालुवा, गिट्टी र ढुङ्गा उपलब्ध गराउनेछन् । साथै, स्थानीय समुदायको अपनत्व र दीगोपनाका लागि श्रमदान अनिवार्य गरिएको छ ।

सन् १९९४ देखि विद्यालय संरचना निर्माण र साक्षरता अभियानमा सक्रिय रहेको विल्डअनले समाजकल्याण परिषद्बाट स्वीकृति लिएर मात्र निर्माण प्रक्रिया अघि बढाउने गरिएको जनाएको छ । हालसम्म संस्थाले नेपालका सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगाएतमा चार सय ५७ विद्यालयमा भवन निर्माण गरिसकेको छ भने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी १५ वटा विद्यालय भवन निर्माणाधीन छन् ।

नगरप्रमुख चौधरीले शैक्षिक क्षेत्रमा संस्थाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्दै नगरपालिकाबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारविना गुणस्तरीय शिक्षा सम्भव हुँदैन ।

यस प्रकारको साझेदारीले शिक्षाको स्तर उकास्न ठूलो सहयोग पुग्नेछ । नगरपालिकाको तर्फबाट आवश्यक स्रोतसाधन र सहकार्यमा कुनै कमी हुन दिइने छैन ।” रासस