१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमन्ते करिडोरको स्थलगत अनुगमन गर्दै काम छिटो सक्न निर्देशन



अ+ अ-

भक्तपुरको हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते करिडोरको संघीय संसद् विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गरेको छ । समितिका सभापति कल्याणी खड्का नेतृत्वको टोलीले बुधबार बालकुमारीदेखि जडीबुटी हुँदै राधेराधेसम्मको हनुमन्ते नदी किनारामा निर्माण भइरहेको करिडोरको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।

अनुगमन निरीक्षणमा सभापति खड्काले जडीबुटी–कोटेश्वरको सवारी जामको हल गर्न पनि हनुमन्ते करिडोर निर्माण कार्य छिटो र छरितो ढंगले सम्पन्न गर्न सबै लाग्नुपर्ने बताइन् । उनले विकास निर्माणका कार्यमा जुनसुकै ठाउँमा पनि समस्या आउनसक्ने भएकाले समस्यालाई वार्ता र छलफलका माध्यमबाट समस्या समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिइन् । करिडोरको दायाँ–बायाँ निर्माण गरिने सडकको चौडाइ जतिसक्दो ठूलो बनाउनुपर्नेमा जोड दिँदै उनले एकैछिनको समस्याले गर्दा भविष्यलाई नै असर पर्ने गरी काम गर्न नहुनेमा जोड दिइन् ।

स्थानीय तहले करिडोर निर्माणमा उत्पन्न गरेको समस्यालाई समितिले विशेष पहल गरी समाधानको उपाय निकाल्ने उल्लेख गर्दै उनले सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएका सम्पूर्ण जग्गा पुनःसार्वजनिक नै बनाउन समितिले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी हुन् । सांसद महेश बस्नेतले करिडोर निर्माणलाई तीव्रता दिई कोटेश्वर–जडीबुटीको जामलाई न्यूनीकरण गर्न हनुमन्ते तथा मनोहरा नदीको करिडोर सम्पन्न गर्नु अपरिहार्य रहेको बताए ।

सांसद बस्नेतले करिडोर अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउने बताउँदै करिडोरसँग जोड्न रिङ रोडसमेत तीव्र गतिका साथ निर्माण भइरहेको जानकारी गराए ।मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले जग्गा एकीकरण आयोजनाका माध्यमबाट समस्या समाधानको बाटोमा अघि बढेको जानकारी गराउँदै करिडोरको दायाँबाँया २०–२० मिटरको सडक भए पनि ११–११ मिटर सडक र बाँकी ९–९ मिटरमा हरियाली बनाउने लक्ष्य रहेको समितिको टोलीलाई सांसद बस्नेतले जानकारी गराए ।

अनुगमनमा खानेपानी मन्त्रालयअन्तर्गतको पिआइडीका प्रतिनिधि भोजविक्रम थापाले उपत्यकाको फोहर पानी तथा ढलको प्रशोधन गरी मल तथा बायोग्यास निर्माणको कार्य तीव्र गतिमा भइरहेको बताए । उनले प्रशोधित पानी नदीमा बग्न थालेपछि उपत्यकाको वातावरणमा भएको प्रदूषण न्यूनीकरण हुने दाबी गर्दै ४० करोड लिटर फोहर पानी तथा ढल संकलन गरी मल तथा बायोग्यास निकाल्ने लक्ष्य रहेको जानकारी गराए ।

अहिले एक हजार ३४० लिटरको फोहर पानी तथा ढल प्रशोधित गर्ने कार्य भइरहेको उनले जानकारी दिए । वागमती आयोजनाका प्रतिनिधि लीलाप्रसाद ढकालले सम्बन्धित निकायसँगको छलफल र सहयोगमा ढललगायतका कार्य गरिरहेको जानकारी गराए । उनले हनुमन्ते नदीको करिडोर निर्माणमा जनप्रतिनिधिले लिखितरूपमा रोक्न निर्देशन दिएकाले निर्माण कार्यमा कठिनाइ हुँदै आएको बताए । करिडोर निर्माणको पहिलो चरणको काम सकिएपछि दोस्रो चरणअन्तर्गत एक अर्ब ९९ करोडको लागतमा निर्माण कार्य भइरहेको छ ।

एकतर्फी करिब आठ किलोमिटर तथा दुईतर्फी गरी करिब १६ किलोमिटर करिडोर निर्माण गरिनेछ । उक्त करिडोरमा हनुमन्ते नदीको पानी बग्ने भाग २० मिटर तथा दायाँबाँया करिडोर २०–२० मिटर गरी कुल ६० मिटर चौडाको करिडोर निर्माण हुने भएको छ भने सडकको बीच भागमा नौ मिटरको हरियाली निर्माण गरिने छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत उच्चस्तरीय अधिकार सम्पन्न एकीकृत वागमती परियोजना एकाइ समितिद्वारा निर्माण कार्य भइरहेको उक्त करिडोर भक्तपुरका लागि मात्र नभई उपत्यकावासीका लागि नै विकासको महत्वपूर्ण मेरुदण्डका रूपमा रहेको बताइएको छ । सौर्य दैनिकबाट