१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखा–नुवाकोट सुरुङमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौँमा



अ+ अ-

काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । टोली शुक्रबार नै सम्बन्धित क्षेत्रमा पुग्ने छ । चीनका राष्ट्रपति सी चिनफिङको केही महिनाअघि सम्पन्न नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी अनुसार काठमाडौँको टोकादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन थालिएको हो ।

निर्माण कार्यका लागि अध्ययनलाई अगाडि बढाउनेबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले भने, ‘‘चीनका राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा टोखा–छहरे सुरुङमार्ग निर्माणबारे भएको समझदारी कार्यान्वयनका रूपमा सो प्राविधिक टोली नेपाल आएको हो ।’ अध्ययनका लागि टोली एक महिनासम्म सोही सिलसिलामा नेपाल बस्ने जानकारी उनले दिए ।

चिनियाँ राष्ट्रपतिले असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेका थिए । थापाका अनुसार सो टोली चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी, हाइवे कन्सल्ट्यान्ट लिमिटेडका प्रमुख इन्जिनियर कायी जिङ वाङको नेतृत्वमा नौ सदस्यीय प्राविधिक टोली नेपाल आएको हो । सो सुरुङमार्गको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख गरिएको छ ।

उनले भने, ‘‘टोलीले अध्ययनको क्रममा सुरुङमार्ग निर्माणबारे तथ्याङ्क सङ्कलन, बनाउनुपर्ने सुरुङमार्गको लम्बाइ र चौडाइ अहिले सञ्चालनमा रहेका कुन कुन सडकका सवारीसाधन सो सुरुङमार्गमा ‘डाइभर्ट’ हुन्छ, यस सुरुङमार्गको सवारी चाप के कति हुनसक्छ, कति जनता लाभान्वित हुनसक्छ लगायतका विषयमा गहन अध्ययन गर्ने छ । टोली तीन महिनाभित्र सन् २०२० को मार्चमा सोको प्रतिवेदन चीन सरकारलाई बुझाउँछ । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । ’’

सुरुङमार्ग निर्माणबारे तीन वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन सम्भव रहेको देखाएको थियो । त्यसैगरी काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सो सुरुङमार्गको कुल लम्बाइ सात किलोमिटर हुनेछ । चौडाइ डबल लेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत तीस अर्ब रुपियाँ लाग्न सक्ने अनुमान गरिएको छ ।

सुरुङमार्गको निर्माणपछि अढाई घण्टामा नै राजधानीदेखि चीनको सिमानासम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिने छ । यो सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ । गोरखापत्र दैनिकबाट