२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन ऐतिहासिक र भयरहित हुने राष्ट्रिय पर्यवेक्षकहरूको निष्कर्ष



अ+ अ-

काठमाडौँ: राष्ट्रिय पर्यवेक्षकहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन विगतको तुलनामा शान्तिपूर्ण, भयरहित र मर्यादित हुने निष्कर्ष निकालेका छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा कुनैपनि ठूला झडप वा आचारसंहिताको गम्भीर उल्लङ्घन नभएको र उम्मेदवारहरू स्वयं अनुशासित देखिएकाले मतदान स्वच्छ र ऐतिहासिक हुने उनीहरूको विश्वास छ । नेपाल कानून समाज र आम निर्वाचन पर्यवेक्षण समिति (जिओक)ले देशभरका निर्वाचन क्षेत्रहरुमा गरेको अनुगमन र अवलोकनपछि बोल्दै पर्यवेक्षकहरुले मतदाताहरू सचेत रहेको र निर्वाचन आयोगको तयारी सन्तोषजनक रहेको समेत उल्लेख गरेका छन् ।

निर्वाचन पूर्वतयारी र प्रचारप्रसारको समग्र अवधिलाई सुक्ष्म रूपमा नियाल्दा राजनीतिक दल र उम्मेदवारहरूबीच कुनैपनि किसिमको भौतिक झडप वा गम्भीर विवाद नदेखिनुलाई पर्यवेक्षकहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन् । उम्मेदवारहरू स्वयंले उच्च राजनीतिक संस्कार र अनुशासन प्रदर्शन गरेको, निर्वाचन आचारसंहिताको पालनामा ‘पेपरलेस’ अभियानलाई प्राथमिकता दिएको र सानातिना प्राविधिक त्रुटिहरूलाई पनि डिजिटल माध्यम (ह्वाट्सएप) बाट प्राप्त जानकारीका आधारमा तत्कालै सच्याउने तत्परता देखाएको पाइएको पर्यवेक्षकहरुको भनाइ छ ।

लुम्बिनी प्रदेशको रुपन्देही लगायतका जिल्लाहरूमा गरिएको स्थलगत अवलोकनका क्रममा मतदाताहरूमा कुनैपनि किसिमको भय वा त्रास नदेखिएको र उनीहरू आफ्नो दैनिक दिनचर्याका साथै निर्वाचन प्रक्रियामा सचेततापूर्वक सहभागी भइरहेको देखिएको छ ।

निर्वाचन आयोगको व्यवस्थापन र मौन अवधिको शुरुवातसम्मको शान्त अवस्थाले यस पटकको मतदान स्वच्छ, धाँधलीरहित र ऐतिहासिक रूपमा सफल हुने बलियो आधार निर्माण गरेको भएपनि निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै मतदान सम्पन्न नहुँदासम्म सरोकारवाला निकायहरूलाई पूर्ण सजग रहन पर्यवेक्षकहरूले आग्रह गरेका छन् । वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय पर्यवेक्षक परशुराम कोईरालाले यस पटकको निर्वाचन मतदातामैत्री र भयरहित तरिकाले अगाडि बढेको बताउनु भयो ।

उहाँकाअनुसार राजनीतिक दलका उम्मेदवारहरूले आफूलाई अनुशासनमा राखेका कारण प्रचारप्रसारका क्रममा कुनै झडपका घटनाहरू भएका छैनन् । आचारसंहिता उल्लङ्घनका सन्दर्भमा पनि कुनै गम्भीर लिखित उजुरी नदेखिएको उहाँको भनाइ छ । सामान्य कुराहरू ह्वाट्सएपमार्फत जानकारी गराउँदा उम्मेदवारहरूले आफैँ सुधार गरेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा यसपालिको इलेक्सन अरु बेलाको जस्तो कुनै किसिमको झडप केही पनि पाइएन । शान्तिपूर्ण रूपमा यो अगाडि बढेको छ । भयरहित छ, आम मतदाताहरू अवेयर हुनुहुन्छ र पोलिटिकल पार्टीका उम्मेदवारहरूले पनि आफूलाई बडो डिसिप्लिनमा राख्नुभएको छ । चुनावको प्रक्रियामा यो प्रचार–प्रसारको क्रममा कुनै किसिमको झडपहरू भएको देखिन सुन्नमा आएन र जहाँसम्म आचार संहिताको उल्लङ्घन के कस्तो रह्यो भन्ने सन्दर्भमा पनि खासै त्यस्तो कुनै इस्यु आएको लिखित रूपमा आएको पनि देखिएन । केही–केही कुराहरू आएको रहेछ भने ह्वाट्सएपहरूबाट त्यो पोलिटिकल पार्टी सम्बन्धितलाई उम्मेदवार कहाँ पठाउँदा उहाँहरूले आफैँले आफैँलाई करेक्शन गर्नुभएको अवस्था छ । र यसरी हेर्दा यो पटकको चुनाव भयरहित र असाध्यै मतदातामैत्री तरिकाले कण्डक्ट हुन गइरहेको छ भन्नेमा हामी विश्वस्त छौं ।’

कानून व्यवसायी एवं राष्ट्रिय पर्यवेक्षक उषा मल्ल पाठकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा गरिएको पर्यवेक्षणका क्रममा निर्वाचनको वातावरण अत्यन्तै शान्तिपूर्ण पाइएको जानकारी दिनुभयो । उहाँले यस पटकको निर्वाचनमा ‘पेपरलेस’ आचारसंहिताको प्रभावकारी पालना भएको बताउनु भयो । उम्मेदवारहरूले आपसी सहमतिमा प्रचारप्रसारको तालिका मिलाएका कारण झडप र गालीगलौज नभएको बताउनु भयो । निर्वाचन ऐतिहासिक हुने देखिए पनि यो संवेदनशील विषय भएकाले मतदान नसकिँदासम्म सुरक्षा निकाय र सरोकारवालाहरू सजग रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन पूर्वतयारीका क्रममा लुम्बिनी प्रदेशको भैरहवा र बुटवल रुपन्देही जिल्लामा पर्यवेक्षण गर्ने क्रममा त्यहाँको पाँचवटा निर्वाचन क्षेत्रमध्ये चारवटा निर्वाचन क्षेत्रको अवलोकनको क्रममा र त्यहाँको तयारीको अवस्था प्रमुख निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सिडियो कार्यालय, प्रमुख जिल्ला प्रशासन कार्यालय लगायत सुरक्षाकर्मी लगायतसँगको छलफल गरेका थियौँ । मतदाताहरुसँगको छलफलमा र राजनीतिक दलका प्रतिनिधिहरु र उम्मेदवारहरु, साना दलका उम्मेदवारहरु, स्वतन्त्र उम्मेदवारहरु सबैसँगको छलफल लगायत अवलोकनको क्रममा त्यहाँ के देखियो भने अहिलेसम्म त्यहाँ कुनैपनि किसिमको तडकभडकहरु र झडपहरु, विवादहरु केही पनि देखिएन भने देखिन एकदमै शान्तिपूर्ण अवस्था रहेको पाइयो । त्यस्तै गरी निर्वाचनको जुन यो आचारसंहिताले पेपरलेस बनाउने भन्नेकुरा थियो । त्यसलाई धेरै हदसम्म सबै राजनीतिक दल र उम्मेदवारहरुले त्यहाँ प्रयोग गरेको पायौँ । उहाँहरुको सचिवालय अथवा प्रचारप्रसार कार्यालयमा ठूला एउटा एउटा आफ्ना उम्मेदवारहरुको पोस्टर र झण्डाहरु बाहेक अन्य ठाउँहरुमा कुनैपनि त्यस्ता पोस्टर, प्याम्प्लेट, पर्चाहरु देखिएन । र त्यस्तै गरी जनताहरु माझमा पनि निर्वाचनको माहोल भनेर एक किसिमको भय, त्रास केही पनि छैन । सबैजना आ–आफ्नो जे दैनिक दिनचर्यामा लागेका छन्, त्यसरी नै मतदाताहरु पनि स्वयं लागिराखेको अवस्था छ अहिलेसम्म । प्रचारप्रसारको शैली नै अलिकति फरक पायौँ । एउटा दल अथवा एउटा उम्मेदवार एउटा प्रचार गर्न जाँदा अर्को त्यहाँ नजाने खालको त्यो किसिमको, त्यो वातावरण पनि मिलाइएको पायौँ । उहाँहरु त्यही किसिममा सहमतिमा त्यसरी नै आफ्ना प्रचारप्रसारहरु गरिएको कारणले त्यहाँ कुनैपनि दल उम्मेदवारहरु बीचको झडप बीचमा होहल्ला, झडप एक अर्कालाई  गालीगलौज जस्ता लगायतका कुनैपनि कार्यहरु नभएको भेटियो । र अहिलेसम्म लुम्बिनी प्रदेशको यो रुपन्देही जिल्लामा हिंसात्मक कार्यहरु भएको यो बिथोल्ने किसिमको यस्ताहरु पनि अहिलेसम्म सम्भावनाहरु नदेखिएको पाइयो । अथवा अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि निर्वाचन ऐतिहासिक हुने देखियो । तर पनि निर्वाचन हो । चाहे सुगम क्षेत्र भने पनि दुर्गम क्षेत्र भने यो संवेदनशील नै विषय हो । निर्वाचन आफैँमा संवेदनशील विषय भएको र जोखिमपूर्ण पनि हुने भएकोले अहिलेसम्मको हेर्दा एकदमै शान्तिपूर्ण, कुनैपनि जोखिमहरु देखिएको छैन तर यो दुई दिन अझै बाँकी छ निर्वाचन सम्पन्न हुँदासम्म पनि यही अवस्था रहिरह्यो भने यो एकदमै ऐतिहासिक हुन्छ । यो संवेदनशील विषय भएकाले सम्बन्धित निकाय र सरोकारवाला सजग रहनुपर्छ ।’

राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले मनोनयनको समयमा रहेको निर्वाचनप्रतिको शङ्का अहिले निवारण भएको बताउनु भयो । निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार तयारीहरू पूरा भएको र मौन अवधिको शुरुवातसम्म कुनैपनि अप्रिय घटना नभएको उहाँको भनाइ छ । विभिन्न जिल्ला र प्रदेशको अवस्थालाई विश्लेषण गर्दा यस पटकको निर्वाचन स्वच्छ, धाँधलीरहित र ऐतिहासिक रूपमा सफल हुने अधिकारीले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस पटक मनोनयन अलि हतार–हतारमै भयो र प्रायः जसो प्रि–म्याच्युर पूर्वअवस्था पूरा नभइकन हुन लागेको निर्वाचनमा शङ्का थियो पहिले । अहिले त्यो शङ्का निवारण भयो । किनभने मनोनयनको बेलादेखि आजसम्म त्यस्तो उल्लेख्य झगडा भएको पनि सुनिएन । र निर्वाचन आयोगले पनि आफ्नो तयारी आफ्नो समय–समयावधिलाई जुन तोकेर गरेको थियो । त्योअनुसार भएको छ र मौन अवधिसम्म आइपुग्दा कुनैपनि किसिमको त्यस्तो निर्वाचन बिथोलिने खालको वातावरण केही नदेखिएको र आजको मिति जहाँ मौन अवधि शुरु भइसक्यो र पनि त्यस्तो केही देखिएको छैन । र हामीले जति जिल्लाको हामीले थाहा पायौँ र प्रदेशको थाहा पायौँ त्यसले के देखायो भने निर्वाचन स्वच्छ हुन्छ, निर्वाचन धाँधलीरहित हुन्छ र निर्वाचन ऐतिहासिक रूपमा नै सफल हुन्छ भन्ने अहिलेसम्मको हाम्रो आँकलन छ । र हामीलाई के लाग्छ भने अब बाँकी ४८ घण्टा पनि र चुनावको सिद्धिने बेलासम्ममा पनि यही तरिकाले जाओस् र जान्छ भन्ने हामीले आँकलन गरेका छौँ ।’

यस पटकको निर्वाचन प्रचारप्रसारको शैली र उम्मेदवारहरूको अनुशासनले नेपाली लोकतन्त्र परिपक्व बन्दै गएको सङ्केत गरेको पर्यवेक्षकहरूको ठम्याइ छ । मौन अवधिको यो शान्त वातावरण मतदान नसकिँदासम्म कायम रहेमा यस पटकको निर्वाचन नेपालको इतिहासमै सबैभन्दा स्वच्छ र नमूना योग्य हुने विश्वास पर्यवेक्षकहरुले गरेका छन् । –न्युज एजेन्सी नेपाल