५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

निर्वाचनमा नगद चलखेल गर्नेहरुको उम्मेदवारी खारेज हुन्छ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचनमा नगद चलखेल गर्नेहरुको उम्मेदवारी खारेज हुन्छ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
अ+ अ-

काठमाडौंं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा नगद चलखेल भएको पाईए कडा कारबाही हुने चेतावनी दिनुभएको छ ।

आईतवार नेपाल प्रेस काउन्सिलले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मौन अवधिमा निर्वाचन सामग्री र नगद एकैठाउँमा बरामद भए त्यस्ता उम्मेदवारको उम्मेदवारीनै खारेज हुने चेतावनी दिनु भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा नगद चलखेल भए आगामी ६ वर्षसम्म त्यस्ता उम्मेदवारहरुले निर्वाचनको कुनैपनि प्रक्रिया भाग लिन नपाउने व्यवस्था गरिएकोतर्फ पनि सचेत गराउनु भयो । उहाँले नगद चलखेल गर्ने उम्मेदवार विजयी भएको घोषणा भएपनि उनीहरुको उम्मेदवारी खारेज हुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘मौन अवधि किन पेचिलो हुन्छ भने यो हाम्रो जस्तो मुलुकमा नगदको चलखेल अलि हुन्छ भनेर बोल्न नमिल्ने तर यो सबैले बुझ्ने भाषा हो । त्यसैले यी विषयलाई मैले कसरी सम्बोधन गरौँ भने केही केही ठाउँमा यस्ता उजुरी आएका छन् । बराबर पनि भएका छन । यदि रकम लेनदेन भयो, रकम बोकेर हिडियो । निर्वाचन सामग्री र रकमको झोला बोकेर गइयो भने त्यो बरामद भयो भने उहाँहरुले निर्वाचनमा विजयी भएपनि उहाँको उम्मेदवारी खारेज गर्छौं भनेको छौँ हामीले । र खारेजी मात्रै होइन, अर्को ६ वर्ष चुनिने प्रक्रियामा उहाँ सहभागी हुन पाउनु हुन्न । एउटा राजनीतिक प्रणालीलाई राजनीति गर्नबाट बञ्चित गरियो भने त्यो भन्दा ठूलो सजाय के होला । त्यसकारण निर्वाचन आयोग यस्ता विषयहरुमा शुन्य सहनशीलताको नीति अवलम्बन गरिरहेको छ ।’

कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले निर्वाचन आचारसंहिताको परिपालनामा शुन्य सहनशीलताको नीति लिएको पनि बताउनु भयो । उहाँले मौन अवधिमा पनि निर्वाचन आचारसंहिताको पालना गराउने काममा सञ्चार माध्यामहरुले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

 शुन्य समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार संप्रेषण नगर्न आग्रह 

उहाँले निर्वाचन सम्बन्धी ऐन नियममा ‘मौन अवधि’ भन्ने शब्द कतै पनि प्रयुक्त नभएकाले यसलाई ‘शुन्य समय’ वा ‘स्थिर समय’ भन्नु नै कानूनसम्मत हुने बताउनुभएको छ । शब्दावलीको प्रयोगमा स्पष्टता हुनुपर्नेमा जोड दिनुभएको हो ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले १८ गते राति १२ बजेदेखि शुन्य समय शुरु हुने बताउनु भयो । उहाँले यो संवेदनशील समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार संप्रेषण नगर्न र समाजलाई सही दिशामा डोर्‍याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले यसलाई मौन अवधि भनेर कुनै पनि निर्वाचन सम्बन्धी ऐन नियमले सम्बोधन नगरेको हुनाले शून्य समय वा स्थिर समय भन्ने गरेको छु । सञ्चार जगतले समाजलाई एउटा अनुशासनको शिक्षा दिएर अगाडि ल्याउने कार्यमा असाध्यै राम्रो भुमिका खेलिरहेको छ ।’

उहाँले सञ्चार जगतलाई निर्वाचन आयोगको सहयोगी शक्तिका रूपमा चित्रण गर्दै यो समयमा संयमित र जिम्मेवार बन्न आह्वान गर्नुभयो ।

निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा

प्रमुख निर्वाचन आयुक्त भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ ।

उहाँका अनुसार मुलुकका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् । उहाँले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भुमिका खेलेका कारण निर्वाचनको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (निर्वाचन सम्पन्न हुने) विश्वास व्यक्त गर्नुभयो ।

ज्वाइन्ट इलेक्सन अब्जर्भेसन कमिटीबाट प्राप्त एसएमएसको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘हाम्रो कमिटीले देशभरको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ । अहिले भर्खरै प्राप्त जानकारीअनुसार सबै निर्वाचन व्यवस्थापनका सामग्रीहरू उच्च पहाडी हिमाली जिल्ला र त्यो भन्दा पारिको बस्तीमा पनि पुगिसकेका छन् । मतदान अधिकृत, मतपत्र र मतदानका लागि आवश्यक सबै सामग्रीहरू गन्तव्य स्थानमा पुगिसकेकाले अब कुनैपनि काम बाँकी र अधुरो छैन ।’
जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उहाँको भनाइ छ।

पत्रकारका लागि छुट्टै पास नचाहिने, सुचना बिभागकै परिचयपत्र मान्य हुने

निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सुचना बिभागले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले देशभर आवागमन गर्न पाउने जानकारी दिनुभएको हो । उहाँले ७९ सालको निर्वाचनमा प्रेस काउन्सिल र आयोगबीच केही तिक्तता भएपनि अहिले ०८२ सालमा राम्रो समन्वय रहेको बताउनु भयो । साथै, मतदान स्थलको ३ सय मिटर वरिपरि कुनै पनि दलको प्रचार सामग्री भएमा त्यसलाई हटाउन र आचारसंहिता पालनामा सघाउन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरूले निर्वाचनमा आवागमन गर्दा आयोगबाट छुट्टै पास लिनुपर्दैन ।सुचना बिभागले जारी गरेको पास नै मान्य हुनेछ । ‘आवागमनमा कतै समस्या पर्‍यो भने आयोगमा तुरुन्त खबर गर्नुहोस्, हामी सहजीकरण गर्छौं ’

पत्रकारहरु आफैँ आचारसंहिताको नमूना बनेर देखिनुपर्ने र त्यसले अरूलाई पनि अनुशासनको दायरामा ल्याउने उहाँको विश्वास छ ।

१ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रवन्ध मिलाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।

फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।  यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रवन्ध मिलाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।

उहाँले भन्नुभयो, ‘एक मतदातालाई मतदान गर्न १ देखि २ मिनेट मात्र लाग्नेछ । कुनैपनि मतदान केन्द्रमा १ हजार भन्दा बढी मतदाता छैनन्, त्यसैले लाइनमा धेरै कुर्नु पर्दैन ।’ प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताहरूलाई आफ्नो परिचय पत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आह्वान गर्नुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उहाँको दाबी छ ।

आचारसंहिता उल्लंघनमा शुन्य सहनशीलता: उम्मेदवारी खारेज र ६ वर्षको प्रतिवन्धको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा शुन्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुन्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पार्नुभएको हो । हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव १ हजार १ सय उजुरी परेको बताउनु भयो ।

तीमध्ये धेरैको स्थानीय स्तरमै फस्र्योट भइसकेको उहाँले बताउनु भयो । आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रिय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिवन्ध लगाइनेछ । एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो ।’ निर्वाचन आयोग कुनैपनि दबाबमा नपरी कानून बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उहाँको दाबी छ ।

तराईका जिल्लामा ‘निर्वाचनमैत्री होली’ मनाइने, मतदानमा असर नपर्ने

तराईका जिल्लाहरूमा निर्वाचनको समयमा होली पर्व परे पनि यसले मतदान प्रक्रियामा कुनै नकारात्मक असर नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मोरङ, रौतहट, बारा, पर्सा लगायतका तराईका जिल्लाहरूको भ्रमणपछि त्यहाँका मतदाताहरू ‘निर्वाचन मैत्री होली’ मनाउन तयार रहेको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार तराईका मतदाताहरू निर्वाचनप्रति सचेत र उत्साहित छन् । होलीको उल्लाससँगै निर्वाचनको महाकुम्भमा सहभागी हुन मतदाताहरू आतुर रहेको र यसले मतदानको वातावरणलाई अझ उल्लासमय बनाउने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘हामीले यहाँबाट विश्लेषण गर्दा होलीले असर गर्छ कि भन्ने सोचेका थियौँ । तर त्यहाँका मतदाताहरूले स्वत:स्फूर्त रूपमा अहिले हामीले मनाउने होली निर्वाचनमैत्री हुन्छ र यसले मतदान प्रक्रियालाई केही असर गर्दैन भन्नुभएको छ ।’

पर्व र निर्वाचन दुवैलाई सँगसँगै सफल बनाउन तराईका नागरिकहरूले देखाएको प्रतिवद्धताको उहाँले प्रशंसा गर्नुभयो ।

–न्युज एजेन्सी नेपाल