बजार
आज भोलि
तातेको छ
अलि पर सेकुवा,रोष्टहरु पाकीरहेका छन्
पकाउनेहरु पनि अलि परकै देखिन्छन् ।
यता
हेरा हेरी मोलतोल चलि रहेछ
एक सील सेकुवाको लागि
मान्छे ईमान बेच्छ
जमान बेच्छ
र भन्छ
मैले मात्रै कहाँ खाने हो
तलका, माथिका
सबैलाई
उ त्यो परको सेकुवा ।
तेश्रो
सेकुवा हेरेर मन अमिलो बनाउँछ
लामो बाटो र आफ्नो देश सम्झेर
अत्यास मान्दछ ।
दोश्रो
सेकुवा हेरेर जीब्रो मिठ्याउछ
पहिलोले
भोलि मिलाउला भनेपछि
भोलि पहिलो हुने अठोट गर्छ ।
पहिलो
बजार भित्र पस्दछ
बजारमा
मान्छेलाई नीतिले, ऐनले सुकाईन्छ
र मान्छेलाई उसिनेर छाडिन्छ ।
अनि
सेकुवाको बजारीकरण गरिन्छ ।
अस्तु ।
देवी प्याकुरेल
५ पौष,२०८२ जाजरकोट










