काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ ।
त्रिवि क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर विनोद भण्डारीले ६९ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर जोश ब्राउन ९ रन बनाउदा क्रिस लिन १६, आरिफ शेख ३९ र हर्मित सिंह ७ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार ओभरमा १४३ रन बनाउँदै अलआउट भयो । आजको खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरे ।
बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले ती, हर्मित सिंहले तीन र हेमन्त धामीले दुई विकेट झारे ।
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम अपराजित रहदै ८ अङ्कका साथ शीर्ष स्थानमा छ । ४ खेल नै खेलेको लुम्बिनीले लगातार तेस्रो हार बेहोरेको छ । उसको दुई अंक रहेको छ ।










