काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताउनुभएको छ ।
शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उहाँले सो दावी गर्नुभएको हो । अध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह¥याउन नसक्ने जिकिर समेत गर्नुभयो । हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठह¥याउन सक्ने अवस्था नरहेको समेत बताउनु भयो । उहाँले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो,‘देशमा संविधान अनुसार नबनेको सरकार छ । संविधान मिचेर बनाएको सरकार छ । लोकतान्त्रिक विधि, लोकतान्त्रिक प्रक्रिया, त्यसबाट नबनेको सरकार छ । त्यस प्रणालीलाई लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक कृतिम ढंगले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ । यस्तो सरकारको संवैधानिक परिक्षण सम्मानित अदालतबाट संवैधानिक परिक्षण हुनै पर्दछ । संविधानले कुनै पनि हालतमा यो सरकारलाई उचित ठह¥याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठह¥याउनै सक्दैन । यो सरकार असंवैधानिक बाटोबाट बनेको छ । त्यसकारण हामी यो सबै राष्ट्रिय समस्याको समाधान सही ढंगले होस भन्ने चाहन्छौ । र हुनेछ । यस कामको अगुवाई नेकपा एमालेले गर्नेछ । मैले अघि नै पनि भने । नेकपा एमालेले यस कामको नेतृत्व गर्नेछ ।’
अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत बताउनु भयो ।










