६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसवर्ष झापामा हुनसकेन बजार अनुगमन



अ+ अ-

झापा। जेनजी आन्दोलन पछिको असहज परिस्थितिका कारण यसपटक जिल्लामा बजारको अनुगमन हुनसकेन । दसैँ र तिहार दुवै पर्वका बेला बजारको अनुगमन कसैले गरेनन् ।

बजारको स्वच्छताका लागि नियमित रूपमा बजार अनुगमन गर्दै आएका पालिकाहरु भदौ २४ गते आगजनी र तोडफोड भएपछि आफैँ विस्थापित अवस्थामा पुगे । अनुगमन टोलीको मुख्य सरोकारवाला प्रहरीका भवन जलेका छन् भने कतिपय हतियार भीडले लुटेर लगेको अवस्था छ ।

“अनुगमन गर्ने अवस्था नै रहेन,” विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला भन्नुहुन्छ, “नगरपालिका र प्रहरीका कार्यालय ध्वस्त भएका छन् ।

यस्तो विषम परिस्थितिमा अनुगमन कसरी गर्नु ? नगरपालिकाले अनेक प्रयत्न गरेर नागरिकलाई अतिआवश्यक सेवा प्रदान गर्ने कार्य बल्ल सुरु गरेको छ ।” झापाका १५ पालिकामध्ये १४ वटा पालिकामा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको थियो भने दर्जनौँ प्रहरी चौकी र इलाका प्रहरी कार्यालय त्यस्तै आगजनी र तोडफोडको सिकार भएका थिए ।

यसअघि विर्तामोड नगरपालिका बजार अनुगमनमा अन्य पालिकाको तुलनामा बढी सक्रिय रहँदै आएको थियो । कृषि थोक बजारमा विषादी अवशेष जाँचेर मात्र तरकारी तथा फलफूलको बिक्री वितरण गर्न दिइने कडा व्यवस्था लागू भइरहेको थियो ।

बजारको स्वच्छताका लागि अगुगमन गर्ने अधिकार स्थानीय पालिकाहरूले पाएका छन् । झापाको विर्तामोड, शिवसताक्षी लगायतका केही पालिकाले फर्मालिन रसायन प्रयोग भएको माछा बिक्री गर्न नपाइने नियम लागू गर्दै आएका थिए । जेनजी आन्दोलनपछिको असहज अवस्थामा मरेका माछाको बिक्री वितरण खुल्ला रूपमा हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाइँले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताउनुभयो । “असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,” सहायक प्रजिअसमेत रहनुभएका प्रसाइँले भन्नुभयो, “बजार अनुगमनभन्दा बाढी प्रभावितको राहत र उद्धारमा ध्यान दिनुपर्ने अवस्था आयो ।”

जेनजी आन्दोलनपछि बजार अनुगमनले निरन्तरता पाउन नसके पनि उपभोक्ताबाट कुनै गुनासो र उजुरी नआएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले कालो बजारी, कृत्रिम अभाव, अखाद्य वस्तुको मिसावट, नापतौलमा ठगीलगायत उपभोक्ता हितविपरीतका गतिविधि नगर्न सार्वजनिक रूपमा आग्रह गर्दै आएको उहाँले बताउनुभयो ।

उपभोक्ता जागरण अभियान नेपालका झापा अध्यक्ष शालिकराम भट्टराईले अनुगमनको अभावमा बजारमा अराजकता फैलिएको बताउनुभयो । “व्यापारीले जति भाउ बढाए पनि भएकै छ, कसैको नियन्त्रण छैन,” उहाँ भन्नुहुन्छ, “बजार पूरै अराजक बनेको छ । तरकारी, खाद्य वस्तु, यातायात भाडा लगायतको मूल्यवृद्धि आकासिएको छ ।” उहाँले स्थानीय पालिकालाई तत्काल बजार अनुगमन गरेर उपभोक्ताको हितमा काम गर्न आग्रह गर्नुभएको छ । रासस