६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशी सबैको मनमा रहिरहने छन्: प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा दिवङ्गत नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताउनुभएको छ ।

जोशीप्रति आज यहाँ श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले भन्नुभयो, “जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । त्यसैले उहाँलाई बहादुर युवा भन्नुपर्छ । यस्तो बहादुर छोरा जन्माउने आमा, उहाँको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ ।”

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले जोशीको शव नेपाल ल्याएसँगै विगत दुई वर्षदेखि जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका बताउनुभयो । उहाँले विपिनलाई सकुशल पाउने नेपालीको विश्वास आज निराशामा परिणत भएको उल्लेख गर्नुभयो ।

“हामीलाई विपिन फर्केर आउनेछन् भन्ने नै लागेको थियो । यही विमानस्थलमा भव्य स्वागत गरौँला भन्ने इच्छा थियो, तर त्यो सपनामै रह्यो”,प्रधानमन्त्री कार्कीले भन्नुभयो,“उहाँले चाहेको भए आफू बाँच्न सक्थे, तर साथीहरूलाई बचाउन लाग्दा अपहरणमा परे । अपहरणको शिकार हुँदा कति दुःखकष्ट भोगे होलान्, कसरी मारिए होलान्, परिवारमा कति कष्ट भयो होला ! सोच्दा पनि कहाली लाग्छ ।”

विपिन जोशी सबैका छोरा भएको र उहाँको बहादुरी र साहस कहिल्यै बिर्सन नसकिने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले त्यो हिम्मत र साहसप्रति गौरव भएको बताउनुभयो । “विपिन कहिल्यै अस्ताउने छैनन् । हामी सबैको, नेपालको छोरा भएर सधैँ बाँचिरहने छन्”, उहाँले भन्नुभयो ।

स्व जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौँ ल्याइएको हो । रासस