२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेरियाको औषधिले कोरोना निको हुन्छ ? अमेरिकी राष्ट्रपति किन यसको पक्षमा उभिए ?



अ+ अ-

जेम्स ह्याम्बलिन (द एटलान्टिक)

(पछिल्लाे समय मलेरियाकाे औषधि काेराेनाभाइरसकाे उपचारमा सार्थक रहेकाे बहस चलिरहेकाे र अमेरिकी राष्ट्रपतिले भारतबाट याे औषधि खरिद गर्ने भनेपछि खुब चर्चामा छ । त्यही सेराेफेराेमा जेम्स ह्याम्बलिनकाे द एटलान्टिकमा छापिएकाे लेख यहाँ अनुवाद गरी प्रकाशन गरिएकाे छ । सम्पादक)

दुई साताअघि फ्रान्सेली एक चर्चित चिकित्सकले माइक्रोबायोलोजी जर्नलमा एउटा विवादास्पद टिप्पणी प्रकाशन गरे । कोविड–१९ को उपचारका लागि ज्ञात औषधिको अभावमा विश्वभरका चिकित्सकहरुले हाइड्रोक्सीक्लोरोक्वीनको रुपमा चिनिने शक्तिशाली औषधि प्रयोग गर्ने सम्भावनामाथि विचार गरिरहेका थिए । दशकौंदेखि यो औषधि औलो (मलेरिया)को उपचार गर्न प्रयोग भइरहेको छ । योे रोग भाइरसका कारण नभई परजीवीको कारणले हुन्छ। कोविड–१९ भएका छ जना बिरामीलाईचिकित्सकहरुले हाइड्रोक्सोक्लोरोक्वीनलाई एजिथ्रोमाइसिन (जेड–प्याक भनिने यस एन्टिबायोटिकले ब्याक्टेरिया मार्छ, भाइरस मार्दैन) सँग मिसाएर खुवाए । यो औषधि खुवाएको छ दिनपछि जाँच गर्दा सबै छ जना निको भएको रिपोर्ट दिइयो ।

उक्त रिपोर्टमाथि सेलिब्रेटी डाक्टर मेहमेट ओजको आँखा लाग्यो । उनलेयसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रिय टेलिभिजन च्यानल फक्स न्यूजमा हाइड्रोक्सीक्लोरोक्वीनको पक्षमा २१ पटक अन्तर्वार्ता दिइसकेका थिए । सिन ह्यानिटी (ट्रम्पका विश्वासपात्र) लाई ओजले सुनाए, “यी संक्रामक रोग विशेषज्ञ फ्रान्सेली चिकित्सक डिडिएर राउल्टले पाइलट (नमूना) अध्ययनमा १०० जनालाई छ दिनमै ठीक बनाएका छन् ।” राउल्टले हालैका वर्षहरुमा जलवायु परिवर्तन र डार्बिनका सिद्धान्तमाथि प्रश्न उठाएर चर्चामा आएका थिए । चीनमा कोरोनाभाइरसले प्रकोपको रुप लिइहेको अवस्थामा जनवरी २१ माराउल्टले एक युट्यूब भिडियोमा भने, “मान्छेहरू चीनमा कोरोनाभाइरसका कारण मरे भन्ने तथ्यबारे तपाईलाई बढी थाहा होला, तर मलाई धेरै चिन्ता लागेको छैन ।” गत हप्ता, कोरोनाभाइसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परामर्श दिइरहेका ओजले “राउल्ट अत्यन्त प्रभावशाली” रहेको बताए । ओजले ह्यानिटीलाई पनि आफूले ह्वाइट हाउसलाई जानकारी गराएको सुनाए । यही सेरोफेरोमा क्लोरोक्वीन अचूक औषधि हो भन्ने भ्रममा राष्ट्रपति ट्रम्प पुगेको अनुमान गर्न सकिन्छ ।

ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलका सल्लाहकार एवं अग्रणी अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फचीयो दाबीप्रति त्यति विश्वस्त भएनन्। राउल्टको अध्ययनको नतिजा सार्वजनिक भएकै दिन फचीले उक्त निष्कर्षलाई “कथा” भनेर अस्वीकार गरिदिए । उक्त रिपोर्ट राम्रोसँग गरिएकोक्लिनिकल परीक्षण नै थिएन । ओजको “शत प्रतिशत”सही छ भन्ने मान्यताभित्र कतिपय पक्षलाई बेवास्ता गरिएको छ । अध्ययनको निचोडमास्वीकार गरिएको तथ्य निकै रोचक छ । हाइड्रोक्सीक्लोरोक्वीन दिइएका तीन जनामा संक्रमण पुनः देखिएको थियो र उनीहरुलाई थप उपचारका लागि सघन उपचार कक्ष (आइसियूमा) भर्ना गर्नु परेको थियो । अर्का एक जनामा औषधिको नराम्रो प्रतिक्रिया (रियाक्सन) देखियो र थप औषधि खुवाइएन । अर्का एक व्यक्तिलाई उपचार नै गर्नु परेन, किनभने उनको छैटौं दिनका दिन मृत्यु भइसकेको थियो ।

तैपनि, राउल्टको अध्ययन प्रकाशित भएको भोलिपल्ट, राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बारेमा ट्वीट गरेः “हाइड्रोक्सिक्लोरोक्वीन र एजिथ्रोमाइसिन एकसाथ सेवनले औषधिको इतिहासमा सबैभन्दा ठूलो गेम चेन्जर हुने मौका छ ।”त्यसयता, राष्ट्रपति ट्रम्पले बारम्बार यही दाबी गरिरहेका छन् । शनिबार, उनले गेम चेन्जरले मात्र औषधिका बारेमा पर्याप्त प्रकाश गर्दैन भन्दै सुनाएः “यो अद्भुत हुनेछ । यो निकै सुन्दर पक्ष हुनेछ। यदि यस औषधिले काम गरेमा यो स्वर्गबाट प्राप्त उपहार सरह हुनेछ ।” भेन्टिलेटर र सामाजिक दूरीको महत्वका बारेमा शुरुमा नकारात्मक टिप्पणी गरेका ट्रम्पले हाइड्रोक्सीक्लोरोक्वीनको २ करोड ९० लाख डोज खरिद गर्ने घोषणा गरेका छन् । उनले आफूले पनि यो औषधि लिनसक्ने बताएका छन् ।

यी दुई हप्ताको अवधिमा, संयुक्तराज्य अमेरिकाका राष्ट्रपति ट्रम्प मेडिकल गलत जानकारीका लागि विश्वको सबैभन्दा अग्रणीव्यक्तिको सूचीमा परेका छन् । केही प्रारम्भिक प्रमाणहरूले हाइड्रोक्सीक्लोरोक्वीनले कोविड–१९मा प्रभाव पार्न सक्ने देखाएकै बखत ट्रम्पले आफ्नो शीर्ष चिकित्सा सल्लाहकारलाई पनिपछि पार्दैछन् र अमेरिकीहरुलाई अहिले नै औषधि प्रयोग गर्न प्रोत्साहित गर्दै गम्भीर जोखिम निम्त्याउँदैछन् । राष्ट्रपतिले दिएको सल्लाह सम्भावित हानिभन्दा पनि अझ खतरनाक छ ।

यो स्पष्ट भइसकेको छैन, हाइड्रोक्सीक्लोरोक्वीनले साँच्चिकैकोविड–१९ को उपचार गर्न सक्दछ, र यो औषधि अहिले रोगीको उपचारमा अध्ययनकै चरणमा छ । हाल परीक्षणका क्रममा रहेका अधिकांश औषधिहरु सामान्यतया मानिसको शरीरभित्र भाइरसको फैलावटलाई कसरी रोक्न सकिएला भन्नेतर्फ नै बढी केन्द्रित भएका छन् जस्तै रेमडेसिभर । अर्का किसिमका औषधिहरुमाथि पनि अध्ययन जारी छ जसले भाइरसलाई मानव कोषहरूमा बाँध्ने तरिकालाई लक्षित गरेको छ । अझै अन्य औषधिहरू (जस्तै आइएल–६) को उद्देश्य एक व्यक्तिको प्रतिरक्षा प्रतिक्रियालाई परिमार्जन गर्नेतर्फ केन्द्रित छ । सिद्धान्ततः हाइड्रोक्सीक्लोरोक्वीनसँग भाइरस आफैंलाई वा प्रतिरोधात्मक प्रतिक्रियालाई नराम्रोसँग असर गर्ने क्षमता रहेको मानिन्छ । औलोको उपचार बाहेक हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग रूमेटाइड आर्थराइट्स र ल्युपसजस्ता रोगहरूको उपचारमा महत्वपूर्ण मानिन्छ ।

मानिसको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई धेरै कमजोर बनाइए मानिसहरूमा संक्रामक रोगको जोखिम अरु बढ्छ । शरीरको दुखाई कम गर्ने स्टेरोइड्स र आईबुप्रोफेन जस्ता औषधिको प्रयोगले कोविड–१९ का बिरामीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भनेर उत्साहित भएका चिकित्सक पनि अन्ततः निराश भएका छन् । यी औषधिको प्रयोगले मिश्रित परिणाम मात्र दिएको छ र व्यापक प्रयोगका लागि सिफारिस गरिएको छैन। रोग नै नलागेका मानिसमा पनि हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगले हानिकारक असर सिर्जना गरेको छ, जस्तै बान्ता लाग्ने र टाउको दुख्ने, दृष्टि गुमाउने, र अचानक हृदयघातबाट मृत्यु हुने । मुटुका रोगी र कलेजोले राम्रोसँग काम नगरेका मानिसहरूलाई सावधानीका साथ औषधि दिइनु पर्दछ । यी दुबै किसिमका बिरामीलाई नै कोरोनाभाइरसले सर्वाधिक असर पारेको देखिएको छ ।

अहिलेसम्मका सीमित प्रमाणका आधारमा हाइड्रोक्सीक्लोरोक्वीनले कतिपय अवस्थामा मानिसहरूलाई केही राहत दिन सक्ने देखिन्छ । तर कतिपय व्यक्तिलाई यसले बिरामी बनाउँछ जस्तै, बिरामीको शारीरिक अवस्था, उनीहरुले लिइरहेका अन्य औषधि, औषधि सेवन गर्ने समय, र मात्रालाई विशेष रुपमा ध्यान दिइनु पर्दछ । त्यसैले यो औषधिको विस्तृत परीक्षण र अध्ययनकै चरणमा रहेकाले अहिल्यै हतारिएर प्रयोग गर्दा झन् ठूलो स्वास्थ्य जोखिम निम्तिने निश्चित छ ।

तर ट्रम्प निकै अगाडि बढिसकेका छन् । मार्च २८ मा, ट्रम्पको निरन्तर उत्साहलाई सम्मान गरी अमेरिकी एफडीएले कोविड–१९ को उपचारका लागि क्लोरोक्वीनको प्रयोग गर्न सकिने सूचना निकाल्यो ।
संयुक्तराज्य अमेरिकाका केही अस्पतालहरू, जस्तै म्यासाचुसेट्स जनरल अस्पताल लगायतले संक्रामक रोग विशेषज्ञको निगरानीमा उपचार प्रोटोकलमा हाइड्रोक्सीक्लोरोक्वीनलाई समावेश गर्न थालेको छ। अरु संस्थाहरु यसमा बढी शसंकित छन् । वासिङ्टन विश्वविद्यालयमा चिकित्सकहरूले पनि यो औषधिको प्रयोगमा त्यति रुची देखाएका छैनन् किनभने जीवित जीवहरूमा यसले “प्रभावकारी एन्टिभाइरल” को रुपमा काम गर्ने देखिएको छैन । मिसिगन मेडिकल स्कुल युनिभर्सिटीले आफ्ना डाक्टरहरूलाई हाल उपलब्ध पाठ्यसामग्री र स्थानीय अनुभवले कोरोना संक्रमित बिरामीहरूका लागि हाइड्रोक्सीक्लोरोक्वीन लगायतका कुनै खास उपचार पद्धतिमाथिठोस सल्लाह दिन नसकिने बताइसकेको छ ।

ससाना आक्कलझुक्कल नतिजाकै आधारमा यो औषधिको व्यापक प्रयोगलाई स्वीकार्न चिकित्सकहरु नै तयार भइसकेको अवस्था छैन । शंघाईमा कोविड–१९ का ३० जना बिरामीमाथि हाइड्रोक्सीक्लोरोक्वीनको परीक्षण गर्दा त्यस्ता बिरामीमा सात दिनपछि पुनः कोरोना देखिएको थियो । अर्को भर्खरको एक अध्ययनले यो औषधिले कोरोना संक्रमित व्यक्तिलाई केही लाभ पुगेको देखियो । सुक्खा खोकी र ज्वरो भएका तर रोगले भर्खर छोएका ६२ जनामा गरिएको परीक्षणमा यस औषधिले काम गरेको थियो । मार्चको मध्यमा, इटालियन र इजरायली अनुसन्धाताहरुले के निष्कर्ष निकाले भनेयो औषधिमाथि थप अध्ययन गर्न जरुरी छ, र औषधि दिँदा बिरामीको विशेष निगरानी गर्नु पर्दछ ।

संयुक्तराज्य अमेरिकामा डा फचीले मेडिकल समुदायकै जस्तो धारणा राखिरहेका छन् । उनी हाल चलिरहेका क्लिनिकल परीक्षणहरूमा विशेष ध्यान दिएर हेरिरहेका छन् । यसैबीच राष्ट्रपति ट्रम्पभिन्न रुपमा प्रकट भइरहेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पले “तपाईले के गुमाउनु पर्ला ? म फेरि भन्दैछुःयो औषधिठीक छ, लिनुहोस्। मलाई साँच्चिकै के लागिरहेको छ भने उनीहरूले यसको सेवन गर्नु पर्दछ । यो नै उचित विकल्प हो । र यो उनीहरूका चिकित्सक वा अस्पतालका चिकित्सकको रोजाइको कुरा पनि हो ।” एक ब्रीफिङमाराष्ट्रपति ट्रम्पले हाइड्रोक्सीक्लोरोक्विनको बारेमा डा फचीको लागिसोधिएको प्रश्नको जवाफ आफैंले दिएका थिए ।

तपाईले के गुमाउनु पर्ला ? भन्ने राष्ट्रपतिले देशभित्र फैलिएको एक विशाल स्वास्थ्य समस्याप्रति खासै महत्व नदिएको प्रष्टै देखिएको छ, र ट्रम्प प्रशासन कुनै पनि रुपमा तयारी हालतमा थिएन । अमेरिकी प्रशासन पूर्णतः असफल भइसकेको छः अमेरिका परीक्षणका क्षेत्रमा असफल भयो, संचार गर्न असफल भयो, र डाक्टरहरूको लागि पर्याप्त मास्क दिन समेत असफल भयो। वास्तवमै अमेरिकीहरुलेअझै बढी गुमाउने खतरा छ । जबदेखि ट्रम्पले क्लोरोक्वीनको प्रचारप्रसार गर्न थाले, मानिसहरूले यसलाई जम्मा गरिरहेछन् । र यो औषधि अहिले अभावको बढ्दो सूचीमा थपिएको छ । दुई हप्ता अघि मात्रएक एरिजोना दम्पतीले भूलबस क्लोरोक्वीनको सुई प्रयोग गर्दा पुरुषको मृत्यु भएको थियो ।

यी नाजूक क्षणहरूमा आशाको किरणका रुपमा कुनै औषधि प्रस्ताव गर्न सकिन्छ । तर यही मात्र रामबाण झैंप्रचार गर्दा मानिसलाई विचलित बनाउँछ । परीक्षणका कार्यमा प्रकारान्तरले अबरोध आउँदा राष्ट्रपतिका फजूल र मनगढन्ते टिकाटिप्पणीले समग्र अमेरिकी स्वास्थ्य प्रणालीमाथि नै खेलवाड गर्ने र त्यसबाट आमजनताको स्वास्थ्यमाथि नै जोखिम निम्त्याउने निश्चित छ ।
शनिबार, ट्रम्पले लुपस भएका मानिसहरूलाई कोरोनाभाइरस लाग्दैन भन्ने वैज्ञानिक प्रमाण रहेको बताए । यसको अर्थ कोरोना संक्रमित व्यक्तिलाई हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगले सुरक्षा दिन्छ भन्ने नै हो । तर ट्रम्प आफैंले यो सत्य हो, होइन भन्ने बताउन सकेनन् ।

वास्तवमा, यस्तो कुनै अध्ययन भएको छैन।

जेम्स ह्याम्बलिन येले स्कुल अफ पब्लिक हेल्थका प्राध्यापक हुन् ।