काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको आवश्यक्ता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताउनु भएको हो । उहाँले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनिकरण गर्न समाजिक संघसंस्थाहरुको ठूलो भूमिका रहेकाले सामाजिक संस्थाहरुले सरकारसँग मिलेर समाजका विकृति, विसंगतिहरु समाधान गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रपति भण्डारीले बालबालिकाहरुले सर्वाङ्गिण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताउनु भयो । कतिपय सरकारी विद्यालयहरुमा पूर्वाधारहरु कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरुको वृत्ति र तालिमको समस्या रहेकोले त्यसलाई समाधान गर्दै लैजानु पर्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङहरुमा न्यूनिकरण गर्न सकिने दाबी गर्नुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘युवा युवतीहरुको बीचमा अपहरण, बलात्कार, हत्या जस्ता विकृतिहरु हटाउनको लागि हाम्रो भोलेन्टियर संस्थाहरुको ठूलो भुमिका हुन्छ । हामी सबैले ध्यान लगाउनुपर्ने क्षेत्र भनेको विद्यालय क्षेत्र हो । यो देशमा पैदा भएको नानीबाबु, बच्चा, छोरा, छोरी सकुशल अगाडि बढोस्, उसको स्वास्थ्य राम्रो होस्, उसलाई कुनै आँच नआओस् र उसको सर्वाङ्गिण विकासको क्षमता पाओस् भन्नको लागि विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्छ । अहिले हाम्रो ध्यान पनि त्यतातिर छ र विद्यालय शिक्षालाई कसरी बढी भन्दा बढी समर्थनवान बनाउने भन्ने कुरा सोच्नुपर्छ ।

अहिले ३५/३६ हजार विद्यालय छन्, कति त मर्ज गर्नुपर्ने होला, कति त त्यसको पूर्वाग्रहहरु कमजोर छन् । कति त गुणस्तरको समस्या छ, शिक्षकहरुको अभाव छ । शिक्षकहरुको वृत्तिको सवालहरु छ । तालिमको कुरा छ । यी थुप्रै कुराहरुलाई समाधान गर्नुपर्छ । स्काउटलाई घर घरमा पु-याउन नेपालमा गणतन्त्र छ भन्ने थाहा हुनुप-यो नि । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, राष्ट्रपति छ भन्ने कुरा थाहा हुनपर्छ । शैक्षिक सुधार कार्यक्रममा पनि राष्ट्रपति शैक्षिक सुधार भन्ने हिसावले कार्यक्रमहरु त्यसलाई सहकार्य गर्न सक्नुहुनेछ । पहिलो हाम्रो पाठशाला घर होला तर घरपछिको पहिलो पाठशाला त विद्यालय नै हो । त्यहाँ हामीले सुशिक्षा दिनुपर्छ । यति भयो भने अनुशासनहीन भएर आएका विकृतिहरुलाई समाधान गर्न सकिन्छ ।’
राष्ट्रपति भण्डारीले समाजमा विकृति र विसंगति नहोस् भन्नको लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले पश्चिममा छाउपडीको समस्याले विभिन्न दुर्घटनाहरु निम्त्याइरहेको भन्दै यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताउनु भयो । राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलाहरुमाथि आपराधिक घटनाहरु भइरहेकोले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘समाजमा विकृति र विसंगति नहोस् भन्नको लागि परिवर्तन आवश्यक छ । आफ्नै ठाउँबाट, आफैँबाट परिवर्तन गर्नुपर्छ । जस्तो यो छाउपडीको कुरा । बास्तवमा यो छाउपडी त एउटा वैज्ञानिक प्रणाली हो नि मानव शरीरको । त्यो नभइकन सन्तान पनि जन्मिदैन । तर त्यो कुरालाई पनि यस्तो अन्धविश्वासले जगडेको छ कि, त्यसबाट पनि धेरै घटनाहरु भएका छन् ।

शारीरिक दुःख त हुन्छ हुन्छ । बाहिर बस्नुपर्छ । सर्पले डस्नेदेखि, अपराधिक सोच भएकाहरुबाट आक्रमण हुने अनेक प्रकारको दुःख हुने र प्रतिष्ठामा आँच आउने गरी आक्रममण हुने गरेका छन् । त्यसलाई हामीले हटाउन जरुरी छ । त्यो एकैपटक सम्भव छैन । नेताहरुले छैन भन्छन्, तर त्यही जिल्लामा बढी हुन्छ । सरकार जान्छ गोठ भत्काइदिएर आउने तर सरकारका प्रतिनिधिहरु सधैँ बसिरहँदैनन् । फेरि गोठ बनाइहाल्ने । मैले यो स्थिती देखेपछि एउटा छेउमा सुरक्षाका लागि बनाउने कुरा गरेको थिएँ । अब त्यो कति क्रान्तिकारी हुन्छ थाहा छैन । दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ ।’

महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषरह नै अधिकार दिनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाहरुका लागि सफल भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नुपर्ने बताउनु भयो ।














