१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विस्फोटको संघारमा एकीकृत समाजवादी



अ+ अ-

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमाथि गरेको प्रहार एक अन्तर्वार्ताको अभिव्यक्ति मात्र होइन । यो एकीकृत समाजवादीको जग, वर्तमान र भविष्यमाथि नै प्रश्न उठाउने शक्तिशाली राजनीतिक दस्तावेज हो ।

यसले पार्टीभित्र लामो समयदेखि गुम्सिएको वैचारिक द्वन्द्व, सांगठनिक गतिहीनताप्रतिको निराशा र नेतृत्वप्रतिको अविश्वासलाई विस्फोटको संघारमा ल्याइपु¥याएको छ ।

खनालको विश्लेषणले पार्टीलाई इतिहासको यस्तो मोडमा उभ्याइदिएको छ, जहाँबाट यसको अस्तित्वकै लागि गम्भीर आत्मसमीक्षा र पुनर्गठन अनिवार्य देखिएको छ ।

विद्रोहको औचित्यमाथि ऐतिहासिक प्रश्नः ‘पुष्टि नभएको विद्रोहको अर्थ के ?’

खनालको विश्लेषणको सबैभन्दा धारिलो प्रहार पार्टी स्थापनाको वैधानिकतामाथि नै छ । उनले विद्रोहलाई ‘दक्षिणपन्थी अवसरवाद’ विरुद्धको लडाईं भनिए पनि त्यसलाई सैद्धान्तिक र राजनीतिक रूपमा पुष्टि गर्न नेतृत्व पूर्णरूपमा असफल भएको तर्क अघि सारेका छन् । उनको ‘पुष्टि नभएको विद्रोहको अर्थ रहेन’ भन्ने अभिव्यक्तिले पार्टीको जन्मलाई एक वैचारिक आवश्यकताभन्दा पनि तत्कालीन सत्ता–संघर्ष र व्यक्तिगत टकरावको प्रतिक्रियाको रूपमा चित्रित गर्दछ ।

यसले हजारौँ कार्यकर्ताको त्याग र बलिदानमाथि नै प्रश्न खडा गर्छ । जसले एक स्पष्ट वैचारिक दिशाको अपेक्षामा विद्रोहलाई साथ दिएका थिए । जब विद्रोहको जग नै कमजोर र अस्पष्ट हुन्छ तब त्यसबाट बनेको संरचनाको भविष्य पनि अनिश्चित हुनु स्वाभाविक हो । खनालले यही वैचारिक खोक्रोपनालाई पार्टीको मूल समस्याको रूपमा औँल्याएका छन् ।

नेतृत्वको असक्षमताः ‘सांगठनिक पक्षाघात र दिशाहीन पार्टी’

खनालले पार्टीको आन्तरिक जीवन र सांगठनिक अवस्थाको निराशाजनक चित्र प्रश्तुत गरेका छन् । महाधिवेशन भएको १३ महिनासम्म पनि त्यसका निर्णयहरू कार्यकर्तासम्म नपुग्नु, अन्तरपार्टी निर्देशन (अपानि) जस्ता न्युनतम सांगठनिक गतिविधि ठप्प हुनु र पार्टीको मुखपत्रसमेत बन्द हुनुले एकीकृत समाजवादी एक जीवन्त राजनीतिक शक्तिभन्दा पनि एक निष्क्रिय र दिशाहीन समूहमा परिणत भएको उनको आरोप छ ।

यो अवस्थाले पार्टीभित्र चरम अन्योल, निराशा र पलायनको स्थिति सिर्जना गरेको छ । नेतृत्वले कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्ने, राजनीतिक रूपमा परिचालन गर्ने र सांगठनिक रूपमा एकतावद्ध गर्ने आफ्नो आधारभुत दायित्व पूरा गर्न नसकेको उनको निष्कर्ष छ । यो ‘सांगठनिक पक्षाघात’ले पार्टीलाई जनताबाट मात्र होइन, आफ्नै कार्यकर्ताबाट समेत टाढा बनाउँदै लगेको उनको विश्लेषण छ ।

अध्यक्षको राजीनामा मागः ‘पार्टी हाँक्न नसकेपछि पदमा बस्ने अधिकार छैन’
यो अन्तर्वार्ताको सबैभन्दा महत्वपूर्ण अंश अध्यक्ष माधवकुमार नेपालको प्रत्यक्ष राजीनामा माग हो । न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा खनालले अध्यक्ष माधवकुमार नेपालको प्रत्यक्ष राजीनामा माग गर्नुभएको छ । पार्टीको वैचारिक र सांगठनिक दूर्दशाको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि थोपर्दै उनलाई पदबाट हट्न सार्वजनिक रूपमा चुनौति दिएका छन् । ‘तपाईंले यो पार्टी हाँक्न सक्नुभएन, पार्टी हाँक्ने योग्यता र क्षमता पनि रहेनछ’ भन्ने उनको कठोर अभिव्यक्तिले दुई नेताबीचको सम्बन्ध व्यक्तिगत टकरावबाट शक्ति संघर्षको चरणमा प्रवेश गरेको देखाउँछ । यो केवल असन्तुष्टि होइन, यो नेतृत्व परिवर्तनका लागि गरिएको खुला आह्वान हो ।

यसले पार्टीको आगामी केन्द्रिय कमिटी वा कुनैपनि तहको बैठकमा ठूलो राजनीतिक भुइँचालो ल्याउने निश्चित छ । अध्यक्ष नेपालमाथि पद त्यागका लागि चौतर्फी दबाब सिर्जना गरेको छ ।

वैचारिक द्वन्द्वः ‘वैज्ञानिक समाजवाद र बहुदलीय जनवादको लडाईं’

खनालले आफू र नेपालबीचको मतभेदलाई ‘वैज्ञानिक समाजवाद’ र ‘जनताको बहुदलीय जनवाद’ (जबज) बीचको वैचारिक लडाईंको रूपमा प्रश्तुत गरेका छन् । उनको तर्कअनुसार, ०६२÷६३ पछि जबजको औचित्य समाप्त भइसकेको अवस्थामा पनि अध्यक्ष नेपालले पार्टीको विधान र प्रतिवेदनमा जबजलाई नै स्थापित गर्न खोज्नु वैचारिक प्रतिगमन हो । यो मतभेदले एकीकृत समाजवादीभित्र एउटा साझा र स्पष्ट मार्गदर्शक सिद्धान्तको अभाव रहेको पुष्टि गर्छ । जबज एमालेको पहिचानसँग जोडिएको छ र त्यसलाई नै बोकिरहँदा एकीकृत समाजवादीको स्वतन्त्र र मौलिक पहिचान कसरी स्थापित हुन्छ भन्ने प्रश्न खडा हुन्छ । खनालले यही वैचारिक अस्पष्टताका कारण पार्टीले आफ्नो छुट्टै पहिचान बनाउन नसकेको र कार्यकर्तालाई आकर्षित गर्न नसकेकोतर्फ संकेत गरेका छन् ।

नैतिकताको संकटः ‘भ्रष्टाचारको मुद्दा र नेतृत्वको जवाफदेहिता’

खनालले अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचारको मुद्दालाई एक रणनीतिक र नैतिक अस्त्रको रूपमा प्रयोग गरेका छन् । उनले सिधै दोषी नभनीकन ‘राजनीतिक नेतृत्व र नैतिकता अभिन्न हुने’ र ‘गम्भीर मुद्दा लागेपछि सांसद पद निलम्वन हुने नियम पार्टी नेतृत्वमा लागू हुन्छ कि हुन्न?’ भन्दै नेपाललाई सार्वजनिक नैतिकताको कठघरामा उभ्याइदिएका छन् । यो एउटा राजनीतिक चाल हो । जसले नेपालमाथि पदमा रहिरहन गम्भीर नैतिक दबाब सिर्जना गर्दछ । यसले पार्टीलाई भ्रष्टाचारजस्तो संवेदनशील मुद्दामा कमजोर देखाउने र जनतामाझ पार्टीको छवि थप धमिल्याउने खतरा बढाएको छ । खनालले यो मुद्दामा पार्टीभित्र औपचारिक छलफल नभएको भन्दै नेतृत्वको अपारदर्शिता र गतिहीनतामाथि पनि एकैसाथ प्रहार गरेका छन् ।

वामपन्थी एकताको बहसः ‘एमालेको दमनकारी चिन्तन र एकताको आवश्यकता’

खनालले विभाजित वामपन्थी आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने आवश्यकता औँल्याउँदै आफूलाई एक वृहत वाम एकताको पक्षधरको रूपमा प्रश्तुत गरेका छन् । तर उनले नेकपा (एमाले) नेतृत्वमाथि ‘दमनकारी चिन्तन’ रहेको र पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि भएको व्यवहार त्यसैको उदाहरण भएको भन्दै एमालेसँग तत्काल विलयको सम्भावनालाई नकारेका छन् । उनको जोड ‘कार्यगत एकता’मा छ । जसले उनी वामपन्थी आन्दोलनमा आफ्नो स्वतन्त्र हैसियत र भुमिका खोजिरहेको देखाउँछ । यो अभिव्यक्तिले उनी एमाले वा अन्य कुनै दलमा समाहित हुनुभन्दा पनि वामपन्थी ध्रुविकरणमा आफूलाई एक महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गर्न चाहन्छन् भन्ने संकेत गर्छ । जसले भविष्यको वाम राजनीतिको समीकरणमा नयाँ सम्भावनाहरू खोलेको छ ।

पार्टीको भविष्यमाथि कालो बादलः ‘यही नेतृत्व रहे पार्टीको भविष्य छैन’

खनालले अन्तिममा एउटा चेतावनी पनि दिएका छन् । ‘पार्टीहरू पनि जन्मने र मर्ने गर्छन्’ भन्ने भनाइ उद्धृत गर्दै वर्तमान नेतृत्व र कार्यशैली कायम रहे एकीकृत समाजवादीको भविष्य अन्धकार रहेको उनको स्पष्ट निष्कर्ष छ । उनले पार्टी र नेतृत्व दुवैको पुनर्गठन अनिवार्य भएको बताएका छन् । यो केवल आलोचना होइन । यो पार्टीको अस्तित्वमाथि नै देखिएको खतराको घण्टी हो । यसले पार्टीका इमान्दार कार्यकर्तालाई कि त पार्टीभित्रै विद्रोह गरेर नेतृत्व परिवर्तन गर्न, कि त वैकल्पिक बाटो रोज्न प्रेरित गर्नसक्छ । उनको यो भनाइले पुष्टि गर्छ की, एकीकृत समाजवादी अब एक ऐतिहासिक क्षणमा आइपुगेको छ । जहाँबाट लिइने निर्णयले यसको अस्तित्व रहने वा नरहने कुराको फैसला गर्नेछ । –सविन धमला/न्युज एजेन्सी नेपाल