काठमाडौ । अर्थ मन्त्रालयका राजश्व सचिव दिनेश घिमिरेले लेखा समितिको निर्देशनको कारण बेरुजु फछ्र्याैटको गति सुस्त भएको बताउनुभएको छ ।
सार्वजनिक लेखा समितिमा आज सचिवहरुसँगको छलफलमा उहाँले अंकको हिसावले सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको रहेको बताउनुभएको हो ।
गत वर्षसम्म १ खर्ब १२ अर्बको स्थिति रहेकोमा महालेखाको पछिल्लो प्रतिवेदनपछि १ खर्ब ४५ अर्ब पुगेको देखिन्छ । सचिव घिमिरेले महालेखाले गर्ने लेखा परीक्षणको चक्र नमिलेको र लेखा समितिमा भएका छलफलहरु पनि प्रभावकारी हुन नसकेको बताउनु भयो । उहाँले बेरुजु फछ्र्यौटमा कर्मचारीको क्षमता विस्तार गर्न जरुरी रहेको बताउनु भयो । बेरुजु बढ्दा मेकानिजम भएपनि सिस्टम बनाउन जरुरी रहेको उहाँको भनाई छ ।
सचिव घिमिरेकाअनुसार सचिवहरुको बैठकमा बेरुजु फछ्र्यौटबारे छलफल हुने गरेको छ । कार्यसम्पादन सम्झौतामा बेरुजु फछ्र्यौट मापदण्डमा राख्ने गरिएको छ । बेरुजु फछ्यौटमा दण्ड र पुरस्कारको व्यवस्था नभएको उहाँको भनाई छ । कर्मचारीको सरुवा धेरै हुँदा फछ्र्यौटमा समस्या परेको उहाँको भनाइ छ । सचिव घिमिरेले भन्नुभयो– ‘राजश्व असुली गर्नुपर्ने तर अदालतका कारणले पनि असुल हुन नसकेको स्थिति छ । सार्वजनिक संस्थानमा भएको लगानी र सेयर लगत नमिल्दा बेरुजु देखाइएको छ ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले तत्कालिन जिल्ला विकास समितिको नाममा रहेको पुरानो बेरुजुका कारण अहिले धेरै देखिएको बताउनु भयो । उहाँले १८ अर्ब बेरुजु रहेको बताउनु भयो । सचिव पन्थकाअनुसार बेरुजु फछ्र्यौटका लागि कार्ययोजना बनाउने काम भएको छ । ७० जिल्लामा जिल्ला समन्वय समितिमा कार्यलय प्रमुख रहेको छ र फछ्र्यौैट बढ्ने देखिन्छ । उहाँले भन्नुभयो–‘समितिहरुको नाममा ८ प्रतिशत बेरुजु छ । पछिल्लो ५७ लाख बेरुजु फछ्यौट गरिएको छ । पुरानो बेरुजुका कारण धेरै बेरुजु देखिएको छ ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सचिव चुडामणी पौडेलले मन्त्रालयको अंक शिर्ष स्थानमा रहेको बताउँदै ३४ अर्ब बढि बेरुजु विश्व विद्यालयको रहेको बताउनु भयो । ती विद्यालयहरुको फछ्र्यौट गर्न गाह्रो रहेको उहाँको भनाई छ । सचिव पौडेलले भन्नुभयो–‘शिक्षा मन्त्रालय अन्तर्गतका निकायमा जिल्ला शिक्षा कार्यालयहरुको नाममा विद्यालय निर्माणका बेरुजु ३ अर्ब बढी रहेको छ । संघीयता पछि शिक्षा मन्त्रालयको बेरुजु घटेको छ ।’
सचिव पौडेलले बेरुजु सम्बन्धि गोष्ठी गरिरहेको बताउँदै लेखा जनशक्ति, प्राविधक जनशक्तिको अभाव धेरै रहेको बताउनु भयो । फछ्र्याैटमा समस्या रहेको बताउँदै उहाँले २०७२ भूकम्पपछि विद्यालय तहसनहस भएको र बेरुजु फछ्र्यौट हुन नसकेको बताउनु भयो । विश्व विद्यालयको बेरुजुका सन्दर्भमा लेखा समिति, महालेखा बसेर छलफल हुनुपर्छ ।










