९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न जिल्लाका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनः निर्माणमा भारतीय सहयोग



अ+ अ-

काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लामा ५६ वटा  विद्यालयको पुनः निर्माणका लागि सहयोग गर्ने भएको छ ।  विद्यालय पुनः निर्माणबारे सोमबार भारतीय राजदूतावास र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेको भारतीय राजदूतावासले जनाएको छ । 

सम्झौता अनुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण भारत सरकारले गर्ने भएको हो । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको दुई अर्ब ९५ करोड रुपैयाँको आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन्, विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ ।’भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ । 

भूकम्प पश्चात पुनर्निर्माण परियोजना लगायत सामाजिक–आर्थिक विकासका लागि नेपालसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको विज्ञप्तिमा उल्लेख छ ।