२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा अर्थमन्त्रीको कच्चा जवाफ



अ+ अ-

काठमाडौँ । सर्वाधिक विवादित तथा बजेट प्रस्तुतिमा आफ्नो व्यक्तिगत स्वार्थ छताछुल्ला पोखिएपछि झनै आलोचित भएका अर्थमन्त्री युवराज खतिवडाले एक आर्थिक विधेयकमा आजको राष्ट्रिय सभाको बैठकमा दिएको जवाफले राष्ट्रिय सभाका सदस्यहरु चकित परेका छन् । कतिले पिएचडी गरेका अर्थमन्त्रीको अल्पज्ञान भनेका थिए भने केहीले आफूनै सर्वज्ञानी भएकाले कसैले प्रश्न उठाउन नसक्ने घमण्ड पालेर अर्थमन्त्रीले जवाफ दिने चेष्टा गरेको बताएका थिए । राष्ट्रिय सभाका केही सदस्यले उनको यस मन्त्रीपदको खुस्किनै लागेकोले आफूले कार्यान्वयन गर्नु नपरेपछि जे भने पनि भो नि भनेर पनि कानेखुशी गरेका थिए । 

एक आर्थिक विधेयकमा सांसद जितेन्द्रनारायण देवको प्रश्न देश कोरोना महामारीले थपा परिरहेका बेला आगामी दिनमा देशको अर्थतन्त्रलाई बचाउन सरकारले के कस्तो आर्थिक व्यवस्था गरेको छ भन्ने थियो । तर त्यसको जवाफ मन्त्री खतिवडाले बडो हल्का र सोह्रै आना नमिल्दो दिए । अर्थमन्त्रीले भने– यस्तै प्रश्न नेपालमा विसं २०७२ मा भूकम्प गएपछि पनि उठेको थियो र मानिसहरुले अब त देश खत्तमै भयो कसरी आर्थिक रुपमा पारलाग्ला भन्ने भनेका थिए । उनले थप भने– अझ त्यतिबेला त देशका आर्थिक संरचना त भत्किएका थिए, तर अहिले केही भएका छैनन् । सबै ठीक हुन्छ, अर्थतन्त्र टाट पल्टिँदैन, डराउनुपर्दैन । 

तर अर्थमन्त्रीले भनेजस्तो भूकम्पको बेला र अहिलेको अवस्था एउटै होइन । त्यतिबेला त हामी नेपालीमात्र मर्कामा परेका थियौँ कि अरु देशलाई केही भएको थिएन । त्यसैले हाम्रै छिमेकी चीन, भारतका साथै जापनलगायतका विश्वका कैयौँ देशले पनि हामीलाई सहयोग गरेका थिए । नेपालले दाता सम्मेलन गरेको र त्यसमा कम्तीमा पनि १४ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता आएको अनि त्यसमध्ये धेरै दाताहरुले हामीले खर्च गर्न सक्नेगरी सहयोग गरेको कुरा मन्त्री खतिवडाले विर्सिएझैँ गरे । जबकि अहिले हाम्रा दाता कोही हुनेवाला छैनन् किनभने विश्वका सबै देशलाई कारोनाले थला पारिरहेको छ । यस समयको अर्थव्यवस्था कुनै पनि देशले आफैले गर्ने हो । 

अनि अर्को कुरा अर्थमन्त्रीले हामीले निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्ने भन्दै उद्योेग व्यवसाय सुरु भइसकेका र अबका केही समयमै लकडाउनपूर्वको अवस्थामा देश पुग्नेछ भने । मुलुकमा लकडाउन कायमै राखेर व्यापारीलाई कर तिर्न आदेश दिने मन्त्री हुन् यिनी । सर्वोच्च अदालतले लकडाउन हटेको ३० दिनभित्र कर तिर्ने प्रबन्ध गर्नु भनेर सरकारका नाममा आदेशै जारी गर्दा पनि उनले त्यस विरुद्ध सर्वोच्चमा अर्को निवेदन पठाएका थिए । यसरी अप्ठेरो परेका बेला निजी क्षेत्रको घाँटी समाउन माहिर अर्थमन्त्रीले निजी क्षेत्रलाई साथ साथ लिएर जाने र देशको खराब अर्थतन्त्रलाई उकास्ने काममा उनीहरुको साथ र सहयोग पाउने भन्ने कुरा विरलै होला । मुलुकको निजी क्षेत्रले कर्मचारी प्रवृत्ति र राजनीतिक नेतृत्वको जस्तो अलिक ठूलो छाती नभएर कुखुरे छाती भएका मन्त्रीका रुपमा यीनलाई हेर्ने गर्दछ ।