२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कानून बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ ? : बेदुराम भुषाल



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बेदुराम भूसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुडभेड गर्नुपर्ने कारण के छ भन्दै प्रश्न गर्नुभएको छ ।  

राष्ट्रियसभाको विशेष समयमा बोल्दै भूसालले नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुडभेड गर्ने कारण के छ भन्दै कांग्रेसलाई प्रश्न गर्नुभयो । सोमबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र नारायण देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै उहाँले भन्नुभयो, ‘‘राजनीतिक दुर्घटना निम्त्याउने भनिएको छ, के का लागि दुर्घटना निम्त्याउने ? के भारतसँग जोडिएन नेपाल भनेर ? के भारतको छोटेभाइ भएन नेपाल भनेर ? हामीले हाम्रो आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुडभेड गर्ने कारण के छ ? नेपालले आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुटभेड गर्ने ?’’

समितिले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान राखेपछि कांग्रेस सांसद देवले नेपाललाई चीनको झोलामा राख्न खोजिएको, साम्प्रदायिक दंगा भड्काउन खोजेको भारतसँगको सम्बन्ध तोड्न खोजेको प्रतिक्रिया दिनुभएको थियो । आजको बैठकमा भूसालले देवको भनाईको खण्डन गर्दै भारतले सात वर्षसम्म बसेपछि मात्रै नागरिकताका लागि आवेदन दिन सक्ने कानून बनाउने त्यही अनुसारको व्यवस्था नेपालमा हुँदा के भिन्नता भयो भन्दै प्रश्न गर्नुभयो ।

अंगीकृत नागरिकता प्राप्त नगर्दा राजनीकि र प्रशासनिक अधिकार प्राप्त नहुने उल्लेख गर्दै उहाँले स्थायी अवासिय अनुमति दिने व्यवस्था गरिएपछि सांस्कृतिक अधिकारमाथि कसरी आक्रमण हुन्छ भन्नुभयो । 

उहाँले भन्नुभयो , ‘‘सांस्कृति आक्रमण भनिएको छ, के भनेको हो ? अंगीकृत नागरिकता प्राप्त गर्दा त्यो नागरिकले प्राप्त गर्ने भनेको राजनीतिक अधिकार हो त्यही प्रतिनिधिसभाको समितिले भनेको छ । स्थायी आवासीय अनुमति पत्र प्रदान गर्ने छौँ । त्यसैमा राजनीतिक अधिकार बाहेक अधिकार हुनेछन् भनेको छ । यस्तो हुँदा कहाँबाट सांस्कृति आक्रमण हुन्छ ? राजनीतिक अधिकार दिएमात्रै सांस्कृति अधिकार प्राप्त हुन्छ भन्न खोजिएको हो ?’’
देवले चीनको झोलामा नेपाललाई राख्न खोजिएको भन्दै दिएको अभिव्यक्तिको पनि उहाँले खण्डन गर्नुभयो । भारतसँग जस्तै चीनसँग पनि प्राचिन कालदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘भारतसँगको सम्बन्ध कट गर्दै चीनको झोलामा जाने भनेर के भन्न खोजिएको हो ? के भारतको झोलामा जान खोजिएको हो त ? नेपाल सधैभरी भारतको चंगुलमा बस्नुपर्छ भन्न खोजिएको हो ? नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा नेपाललाई भारतबाट टाढा बस्न खोजिएको भनिन्छ ? के सधैभरी भारतको चंगुलमा बस्नुपर्छ भनिएको हो । यस्ता अभिव्यक्तिलाई जहिले पनि नेपाललाई भारतको अधिनस्त बनाउने खोजिएको हो किन नभन्ने ?’’

भारतीय नागरिकसँग विवाह गरेको कुनै पनि व्यक्तिले निरन्तर ७ वर्षसम्म बसेपछि नागकिरताका लागि आवेदन गर्न सक्ने भनेको छ । हामी पनि त्यही गर्दै छौँ के भिन्नता भयो ?

उहाँले राजनीतिक अभिष्ट पुरा गर्नका लागि निराधार र कपोकल्पित तर्क नगर्न पनि आग्रह गर्नुभयो । उहाँले भुटानमा १० वर्ष, श्रीलंकामा ७ वर्ष माल्दिभ्समा १२ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान रहेको समेत स्मरण गराउनुभयो । नेपालले भारतबाट विवाह गरेर आउने महिलाका लागि मात्रै कानून बनाएको उल्लेख गर्दै उहाँले अन्य मुलुकबाट विवाह गरेर आउने महिलाहरुमा पनि यो कानून आकर्षित हुने बताउनुभयो ।