काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । शनिबारसम्म आइपुग्दा नेपालका सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । शनिबार १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो । जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।
शनिबार पीपीआर विधिबाट ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय ८५ गरी आजसम्म २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ । अहिले क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना रहेका छन् । यस्तै ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । शनिबार १ सय ३६ गरी आजसम्म आजसम्म २ हजार ८ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइसर (कोभिड—१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।