काठमाडाैंः कालापानी, गुन्जी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमाथि रोक लगाउन भारतका एक जिल्लाधिकारीले दार्चुला जिल्ला प्रशासन कार्यालय समक्ष पत्राचार गरेका छन् ।
भारतको धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले जारी गरेकाे निर्देशनात्मक पत्रमा ‘विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्, अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनुहोला ।’
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजकुमार सिंहले पत्र प्राप्त भएको पुष्टि गरे ।
भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर नक्सा जारी गरेपछि नेपालमा तीब्र विरोध भएको थियो । त्यसपछि नेपालले पनि ती क्षेत्रलाई समेटेर नक्सा जारी गरिसकेको छ ।
हेर्नुहाेस् भारतीय जिल्लाधिकारीले पठाएकाे पत्र











