काठमाडाैंः राष्ट्रिय अनुसन्धान विभाग अन्तरगतकाे राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले गुड्खा/चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस/रिसवत लेनदेन गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा राना पक्राउ परेकाे आयोगले जनाएकाे छ ।
आयोगको अनुसन्धान टोलीले प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिल कुमार झालाई दुई लाख घुस/रिसवतबापतको रकम लेनदेन गरिरहेको अवस्थामा उक्त रकमसहित बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोक, रुपन्देहीबाट नियन्त्रणमा लिएकाे हाे ।
राजश्व हिनामिनाका घटना अनुसन्धान गर्ने निकायका प्रमुख नै यस्ताे अवैध धन्धा र रकम असुलीमा लागेकाे याे पहिलाे घटना भने हाेइन । यसअघि पनि राजश्व अनुसन्धान र राजश्व विभाग मातहतका कर्मचारीहरू घुसखाेरीमा पक्राउ परिरहेका छन् ।











