२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा



अ+ अ-

काठमाडौँ। विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक विद्यालयका लागि अविस्मरणीय रह्यो ।

त्यस वर्ष कुनै पनि विद्यार्थी एसएलसीमा उत्तीर्ण नभए विद्यालय घटुवामा पर्ने निश्चित थियो । मावि तहको अनुमति नै खारेज हुन सक्थ्यो । विद्यार्थी अनुत्तीर्ण भए विद्यालय घटुवामा पर्ने भएपछि सदरमुकामको शैक्षिक मात्र होइन प्रशासनिक क्षेत्रमासमेत छटपटी थियो । के गर्ने, कसो गर्ने भनेर खैलाबैला चलिरहेको थियो । कहिलेकाहीँ अभिभावक र विद्यार्थी दुवैले ल्याउने खुसी सधैँ अविस्मरणीय हुने गर्दछ । यस्तै खुसी लिएर आउनुभएको थियो छात्रा कल्पना पाण्डे ।

विद्यालयलाई प्राण दिने पहिलो इतिहास कायम भयो पाण्डेका नाममा । हाल ८२ वर्ष पुग्नुभएकी पाण्डेले २०१८ सालको एसएलसी उत्तीर्ण गरेर विद्यालयको छवि उजिल्याउनुभयो । त्यसयता शक्ति मावि पछि परेको छैन, गोरखामै एक प्रतिष्ठित विद्यालयका नामले  निरन्तर प्रगतिउन्मुख छ ।

यसपटक तिनै पूर्व विद्यार्थी पाण्डे विद्यालयका पुराना तीन जना प्रधानाध्यापकलाई सम्मान गर्न प्रज्ञा–प्रतिष्ठान पुग्नुभयो । सोही विद्यालयका पूर्व विद्यार्थी समूहले शनिबार राजधानीमा आयोजना गरेको समारोहमा  प्रधानाध्यापकत्रय बाबुराम श्रेष्ठ, रामचन्द्र आचार्य र गोबर्धन आचार्यलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो ।

हाल ८२ वर्ष पुग्नुभएका पूर्व प्रधानाध्यापक रामचन्द्रले २०१६ सालदेखि उक्त विद्यालयमा सेवागरी २०४३ देखि २०५७ सालसम्म १४ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

त्यस्तै, १९९७ सालमा जन्मनुभएका गोबर्धनले २०१९ सालदेखि शक्ति माविमा सेवागरी २०५५ सालमा अवकाशमा जानुभएको थियो । १९९९ सालमा जन्मनुभएका अर्का शिक्षक श्रेष्ठले भने २०१५ देखि उक्त विद्यालयमा सेवा गर्नुभएको थियो । शिक्षक र प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्नुभएका श्रेष्ठले २०२५ सालमा अवकाश लिनुभएको थियो ।

सम्मान समारोहमा सोही विद्यालयका पूर्व विद्यार्थी शारदाप्रसाद धितालले २०३२ सालमा एसएलसी दिएका पुराना सहकर्मीहरुको खोजी गर्दै जाने क्रममा विस्तार हुँदै गएको पूर्व विद्यार्थीको समूहले गुरु सम्मान प्रारम्भ गरेको जानकारी दिनुभयो ।

ऐतिहासिक दरबार हाइस्कूलबाट गोरखाली चेलीहरुले पञ्चेबाजा बजाउँदै साजसज्जासहितको विशेष मोटरमा राखेर तीन प्रधानाध्यपकलाई नगरपरिक्रमा गराउँदै प्रज्ञा भवनको सिद्धिचरण सभाकक्षमा अभिनन्दन गरिएको थियो । कार्यक्रम संयोजक तथा श्री शक्ति एलुम्नाई एशोसिएसनका निवर्तमान संयोजक मेघबहादुर मास्केले गौरवपूर्ण इतिहास बोकेको विद्यालय र गुरुहरुको योगदानको उच्च कदर गर्दै नयाँ संस्कार सुरु गरिएको बताउनुभयो ।

कार्यक्रममा शैक्षिक क्षेत्रका अगुवा डा वसन्तचन्द्र मरहठ्ठाले चेलाहरुसँग गुरुहरु डराउनुपर्ने समयमा ज्येष्ठ नागरिक भएका विद्यार्थीबाट अग्रज गुरुहरुको सम्मान हुनु आफैँमा पवित्र कार्य भएको बताउनुभयो ।

सोही विद्यालयका पूर्व विद्यार्थीहरु हाल नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, शैक्षिक अगुवा प्रेमबहादुर थापा, मीनप्रसाद भट्टराईले समाजका लागि नैतिकवान, चरित्रवान, कर्मठ,र सुयोग्य नागरिक बनाउन गुरुहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो  ।

कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले लिखित शुभकामना सन्देशमार्फत गुरुहरुले देखाएको गोरेटो आफूहरुको गन्तव्य तय भएको जनाउनुभयो । उहाँले पनि सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वले यो उमेरमा पूर्व विद्यार्थीहरुले सम्मान गरेकामा आफूहरुले सही संस्कार दिएको अनुभूति भएको बताउनुभयो । उहाँहरुले भन्नुभयो, “जीवन एउटा सिकाइ हो, निरन्तर चलिरहन्छ, जो जहाँ जुन हैसियतमा पुगे पनि धरातल भने बिर्सनु हुँदैन ।”

कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा सोही विद्यालयका विद्यार्थी किरणबाबु श्रेष्ठ र नेपाली कांग्रेस नेत्री सृजना सिंहले आज पनि आफूहरु विद्यार्थी नै रहेको अनुभूति भएको सुनाउनुभयो । उहाँहरुलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ, “हजुरजस्ता गुरुलाई कृष्ण, अर्जुन र एकलव्यले जस्तो गुरुदक्षिणा अर्पण गर्ने क्षमता नभए पनि श्रद्धाका अभिनन्दन गर्दछौँ । ”

गोरखा जिल्लाका पुराना विद्यालयमध्ये एक शक्ति माध्यमिक विद्यालय २००९ सालमा स्थापना भएको थियो । रासस

 




भर्खरै