काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्ने बताएका छन् ।
विराटनगरमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश सरकारले माग गरेका कानुनहरू छिटै निर्माण गर्ने गरी तयारी भइरहेको बताए । त्यसका लागि आफूले सरकारसँग् नियमित समन्वय गरिरहेको सभामुख घिमिरेको भनाइ थियो ।
उनले संसद् सञ्चालनमा नरहेको बेला सरकारले अध्यादेश ल्याउने प्रचलन रहेको भन्दै हालै सरकारले ल्याएका अध्यादेश संसद्मा पेस भएकाले सोहीअनुसार छलफल गरेर निष्कर्षमा पुगिने बताए । “अध्यादेश संसद् नभएको समयमा ल्याइन्छ । यसपटक पनि संसद् सञ्चालनमा नरहेका बेला ल्याइएका अध्यादेश संसद्मा पेस भइसकेका छन्”, उनले भने, “अब संसद् सञ्चालन भएपछि कि फिर्ता र कि छलफल हुन्छ ।
सभामुख घिमिरेले विधेयकहरु लामो समयसम्म पारित नहुँदा आलोचना हुने गरेकाले अवधि तोकेर पारित गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले संसदीय समितिमा १४ वटा विधेयक अहिले छलफलमा रहेको बताए ।
आजै प्रगतिशील लेखक सङ्घ नेपाल र भुँडीपुराण प्रकाशन काठमाडौँद्वारा यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकमा निरङ्कुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापना गर्न यस क्षेत्रका जनता, दलका नेता एवं कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका थिए।
स्रष्टा जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज’ पुस्तक कृतिको लोकार्पण गर्दै उनले सङ्घीय लोकतन्त्रको स्थापनामा प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य राजनीतिक शक्तिको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गरेका थिए।