१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा भूकम्पको क्षति छैन तर पहिरोको जोखिम झन् बढायो



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जिल्लामा भूकम्पले पुर्याएको क्षतिको विवरण आइनसकेको बताएका छन् । उनका अनुसार अहिलेसम्म आज बिहान आएको भूकम्पको क्षतिको विवरण आएको छैन । क्षति नभएको अनुमान गरिएको उनले बताए । तर उनले भनेका छन् 'अहिले पनि यस जिल्लामा बाढी पहिरोले दुःख दिएको र अब झनै पहिरोको जोखिम बढाएको छ ।' 

यसअघि पनि गोरखा भूकम्पका कारण जमिन हल्लाएका कारण अहिले पहिरो गएको र आज बिहानको पहिरोले पनि झन् हल्लाइदिएको उनले बताए । आज बिहान सोही जिल्लाको राम्चे केन्द्रबिन्दू भएर ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।   

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले पनि जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै उनले हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।

क्षतिको विवरण संकलनका लागि प्रहरी संयन्त्र परिचालन भएको र अहिलेसम्म कतैबाट क्षतिको विवरण नआएको उनले बताएका छन् ।