काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा चितवनले जनकपुर बोल्ट्सलाई ३२ रनले हराएको हो । चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा अलआउट भयो ।
उसका लागि जेम्स निशमले आक्रामक पारी खेलेपनि टोलिको हार टार्न सकेनन् । उनले २४ बलमा ६५ रन जोडे । यसक्रममा निशमले ५ चौका र ६ छक्का प्रहार गरे ।
निशमले एनपिएलकै सबैभन्दा छिटो अर्धशतक पनि बनाए । उनले मात्र १८ बलमा अर्धशतक बनाएका हुन् । यस्तै, आसिफ शेखले २३, शुभ कंसाकारले १५ तथा मोहम्मद मोहसिनले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ चितवनका रिजन ढकाल, सोहेल तनभिर र कुशल मल्लले दुई–दुई तथा अमर रौतेलाले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनायो ।
उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए ।
रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।
जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष ठाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक–एक विकेट लिए ।
जितसँगै चितवन राइनोजले प्लेअफको सम्भावना बलियो बनाएको छ । टोलिले ६ खेलमा तीनमा जित र तिनमा हार ब्यहोरेको छ भने अंकतालिकामा चौंथो स्थानमा उक्लिएको छ । जनकपुर भने यसअघि नै प्लेअफमा पुगिसकेको छ ।
यता, चितवनको जितले पोखरा एभेन्जर्स र विराटनगर किंग्स पनि प्लेअफको दौडबाट बाहिरिएका छन् ।










