१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु



अ+ अ-

विपद व्यवस्थापन चक्र अनुसार विपद पूर्व र विपदको समय र विपद पश्चात गर्नुपर्ने कार्य र जिम्मेवारीहरु स्पष्ट छन् । नीति पनि छ, कानुन पनि छ, बजेट पनि छ, योजना पनि छ तर पूर्व तयारी भने छैन । समस्या भएको यहिं नै हो । किन भएन यसको जवाफ दिन कठिन छ किनभने १००० मिटर डोरी, ५०० थान लाइफ ज्याकेट, १०० थान डुंगा, ४०० जना पौडीबाज, २ थान आपतकालीन हेलिकप्टरसम्म पनि नेपाल सरकारसँग रहेनछ भन्ने  दुइ दिनको वर्षाले गरेको बितण्डाबाटै देखियो र बुझियो ।

विपदको सामना गर्न क्षमतामा वृद्धि गर्नु पर्दछ, क्षमता भएन भने विपत्तिको नियतीलाई टुलुटुलु हेर्नु बाहेक केही गर्न नसकिने रहेछ भन्ने सत्य र तथ्य हामी सबैसामु छर्लङ्ग भएको छ । पर्याप्त पूर्व तयारी गर्न नसक्नु, मानवीय कमीकमजोरी तथा जिम्मेवारीबोध र जवाफदेहीता प्रतिको बेवास्ताका कारण दुई दिनमा २२८ जनाले जीवन गुमाउनु परेको छ ।

मानवीय बाहेक, पशु चौपाया, भौतिक स्रोतसाधन घर, गोठ, विद्यालय, बाटो, यातायातका साधनहरु, कृषिजन्य बालीनाली, घरायसी सामग्रीहरु, व्यापार व्यवसाय, सामाजिक, आर्थिक, मानसिक सबै किसिमको क्षति हामी सबैले भोग्नु परेको छ ।

विपद भनेको अचानक आउने विपत्तिपूर्ण अवस्था हो जसले जनधनको क्षति गर्दछ, जनजीवन अस्तव्यस्त हुन्छ, सामाजिक तथा भौतिक संरचनाहरुको क्षति हुन्छ र त्यस्तो बेलामा बाह्य सहयोगको आवश्यकता पर्दछ । संकटासन्न समुदायको क्षमतामा वद्धि गर्नुपर्ने हुन्छ । कुन स्थानमा कुन किसिमका प्रकोपहरु छन् र त्यसको प्रभावको पहिले नै आंकलन गरि सबै किसिमको तयारी गरेर बस्नुलाई नै पूर्व तयारी भनिन्छ । हालैको वर्षाद र यसले पारेको असरलाई अध्ययन गर्ने हो भने बाढी, पहिरो, डुबान, कटान र यसले पारेको प्रभावलाई विभिन्न दृटिकोणबाट हेर्न सकिन्छ ।

क. ऐतिहासिक विवरणको अध्ययन र विश्लेषण
ख. संरचना निर्माणको ढाँचा
ग. बजार तथा बस्ती बसोवासको अवस्था
घ. जलवायु परिवर्तनको प्रभावको अध्ययन

विपद जोखिको विश्लेषण गर्दा ऐतिहासिक विवरण वा पहिलेको समयमा सो स्थानमा घटेको कुनै किसिमको विपद र क्षतिको अवस्थालाई विश्लेषण गर्ने गरिन्छ । मानौं, कुनै नदी किनारको बस्तीमा आजभन्दा १५ वर्ष पहिला ठूलो बाढी आएको थियो भन्ने तथ्यलाई आधार मानेर सो बस्तीमा कुनैपनि बेला सो वा सो भन्दा ठूलो बाढी आउन सक्ने सम्भावना हुन सक्छ । यस्तै किसिमले अन्य प्रकोपहरुको पनि आंकलन गर्न सकिन्छ । पहिले बाढी पहिरो आइरहने स्थान हो तर न्यूनीकरणका कार्यहरु गरेर सुरक्षित बनाई बसोबास तथा संरचनाहरु तयार गरिएको छ भने पनि सो बस्ती वा समुदायको जोखिम भने उच्च नै रहन्छ ।

विकास भनेको संरचना निर्माण हो, भौतिक स्रोतसाधन तयार गर्नु हो, ठुला ठुला भवन निर्माण गर्नु हो भन्ने मान्यता नै हाम्रो जस्तो भूगोल भएको देशमा गलत सावित हुँदैछ । वैशाखदेखि असार मसान्तसम्म पाखा पखेरामा डोजर चल्न थालेको पनि १० वर्ष बितिसकेको छ । हो, घरघरमा बाटो पुर्याउनु पर्छ तर यहि रफ्तार कायम रहने हो भने अबको १० वर्षमा घर, खेतबारी सबै सकिने र बाटोमात्र रहने दिन आउन सक्ने स्थिति देखिँदैछ ।

हामीले अन्य मुलुकहरुको जीवनशैली, सूचना, शिक्षा, रहनसहन भने यता भित्रायौं तर भौतिक संरचना र विकासको अवधारणामा भने हामी चुकेकै छौं । बढ्दो शहरीकरण र बजार निर्माण गर्ने क्रममा यो १० वर्षमा धेरै नदी किनारहरुमा घना बस्ती बसिसकेका छन् । कतै सरकारी जग्गा होलान् त कतै निजी जमिन । भवितव्य त कसले जानेको हुन्छ र ? मानवीय क्षति हुनु धेरै ठूलो क्षति हुनु हो ।

घर पुरिएर, आफ्नै घर भत्किएर जीवन गुमाउनु पिडादायक हुन्छ र यसलाई प्राकृतिक प्रकोपको रुपमा लिन सकिन्छ भने अर्को तर्फ यात्रा गर्दागर्दै धेरै व्यक्तिको ज्यान गुमेको अवस्था छ । यो मानवजन्य धेरै र प्राकृतिक रुपमा कम प्रकोप हो । जुन प्रकोपको कारण मानव हुन्छ, मान्छेले गर्ने क्रियाकलापहरुका कारण प्रकृतिलाई, वातावरणलाई असर गर्दछ र अन्ततोगत्वा त्यसको प्रत्यक्ष र परोक्ष असर मानवलाई नै आइपर्दछ । बाढी पहिरो प्राकृतिक र मानवजन्य दुबै प्रकोप भित्र पर्दछ । प्राकृतिक रुपमा ठूलो पानी परेका कारण नदी, खोला खोल्साहरुमा पानीको बहाब बढ्न जान्छ र त्यसले कतै बाढीको रुप लिन्छ भने कतै पहिरो त कतै डुबान कटान आदि हुन जान्छन् । जसबाट मानव बस्ती, बाटोघाटो, भौतिक संरचनाहरु, सामाजिक अवस्थालाई निमेष भरमै ध्वस्त बनाइ दिन सक्दछ ।

जलवायु परिवर्तनको प्रभावको अध्ययन नगरि अबका दिनमा कुनैपनि विकासका कार्यहरु गरियो भने १० वर्ष पछि फेरि यहि नियति भोग्नु नपर्ला भन्न सकिन्न । हामीलाई बाटो चाहिने, हामीलाई सुगम स्थानमा जग्गा चाहिने, खोलाको बालुवा हामीले बेच्नु पर्ने, चुरेका ढुंगामाटो बेच्नु पर्ने, ठेक्काको ठेक्का पेटी ठेक्कामा संरचना बन्दछन् । कंक्रिटले माटो छेकेपछि पानी कहाँ जान्छ ? हाम्रो भौगोलिक बनाबट र जलवायूको अवस्थाले हामीलाई अनुकूलन हुन के के सिकाए सोही नियम पालन गरे हामी रहन्छौ होला । प्राकृतिक प्रकोलाई हटाउन सकिन्न, घटाउन भने सकिन्छ ।

पुर्वानुमान तथा पूर्व तयारी

जल तथा मौसम विज्ञान विभागले मिति र स्थानहरु तोकेरै ठूलो पानी पर्ने सम्भावना रहेको सूचना जारी गरेको थियो जुन धेरैजसो सही सावित भयो तर पनि किन पूर्व तयारी भएन ? चाडबाडको मुखैमा यति धेरै क्षति भयो जुन क्षतिले आम जनता, सरोकारवाला निकायहरु त्था सरकारलाई नै अबका दिन यस्ता घटना न दोहरिन दिनका लागि सोच्ने र पूर्व तयारी गर्न पर्छ भन्ने पाठ सिकाएको छ तर बिडम्बना पाठ सिकेर तयारी गर्ने बारे सरकारलाई सोच्ने फुर्सद भने छैन ।

सरकारको प्रतिकार्यको अवस्था पनि यो तीन चार दिनमा देखिएको छ । विपद परेको २४ घण्टा भित्रमा प्रतिकार्य गर्नुपर्छ भन्ने कुरा ऐन, नियम, नीति, बैठकका निर्णयमा मात्र सीमित भए । बाढी पहिरोमा परेर २२८ जनाको मृत्यु भएपछि कोही किन रात्रिबस चलाएको भन्दैछन् कोही भाईबरमा सन्देश पठाएकै हो भन्छन् कोही हामीले पूर्व तयारी गरेभन्दा धेरै ठूलो प्रकोप आएर क्षति गरेको हो भन्दैछन्, कोही अब कार्यकर्ताहरु परिचालन गर्ने तयारी गर्दैछन ।

राहत बाढ्नुको लोभ

हाम्रा जनप्रतिनिधिहरु राहत काँधमा बोकेर त्रिपाल र कम्बल बाँड्न रुचाउनु हुन्छ भन्दा आपत्ति नहोला । राहतमुखि अवधारणाले गर्दा पूर्व तयारी तथा प्रतिकार्यमा सबैको ध्यान जान सकेको छैन । मानवीय कारणले गर्दा भएको मानवीय क्षतिलाई अब एक थान त्रिपाल, दुई वटा त्रिपाल र पच्चिस हजारले मात्र न्याय पुग्दैन । राहत वितरण तथा व्यवस्थापन कार्य सामाजिक अभियन्ता तथा समाजसेवीहरुबाट भइरहेका छन् जो सबैलाई हार्दिक नमन छ ।

कसले गर्नुपर्ने पूर्व तयारी ?

सङ्घीय संरचनाले स्थानीय सरकारलाई सबै किसिमको अधिकार प्रदान गरेको छ । एकल र साझा अधिकारमा विपद व्यवस्थापनका कार्यहरु गर्ने उल्लेख गरिएको छ । बिडम्बना नै भन्नुपर्छ, धेरै स्थानीय निकायमा विपद व्यवस्थापन शाखा छन् तर जिम्मेवार व्यक्ति नै छैनन्, कतै आपतकालीन कार्य संचालन केन्द्रको बोर्ड मात्र छ भने कतै खोज उद्धारका सामग्री अलपत्र छन् । ती सामग्री कतिपय दातृ निकायले हस्तान्तरण गरेका हुन् भने केही स्थानीय तहले व्यवस्थापन गरेका छन् । समुदाय तथा वडा तहमा जे आवश्यक पर्छ त्यो गरिएको छैन ।

हरेक स्थानीय तहले आफ्ना वडा तथा समुदायको प्रकोप, संकटासन्न क्षेत्र र क्षमताको पहिचान गरि सोको आधारमा आवश्यक पर्ने पूर्व तयारीका कार्यहरु गर्नु अति आवश्यक छ । पूर्व तयारीका कार्यहरु कुनै संरचनागत हुने गर्दछन् जस्तै तटबन्धन, वृक्षरोपण, चेक ड्याम निर्माण,पर्खाल निर्माण वातावरण अनुकूलनका संरचना निर्माण, सुरक्षित स्थानहरुको व्यवस्थापन आदि पर्दछन् भने गैह्रसंचनात्मक कार्यहरुमा समुदायको क्षमता विकासका कार्यहरु जस्तै प्रशिक्षण, खोज तथा उद्धारका समग्री तथा सीपको व्यवस्थापन समुदाय, वडा तथा स्थानीय निकायहरुको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, प्रतिकार्य टोलीहरु गठन तथा क्षमता विकास, विभिन्न संचेतनामूलक गतिविधिहरु संचालन गर्नुपर्ने हुन्छ ।

फितलो प्रतिकार्य 

कुनैपनि विपद पश्चात् तत्काल गर्नुपर्ने कार्य प्रतिकार्य हो । अहिलेको प्रतिकार्यको ढाँचा साह्रै कमजोर देखिएको छ । सरकारले त हात उठाई सक्यो र बाह्य निकायसँग सहयोगको माग गरिसकेको अवस्था छ । एकद्वार प्रणाली र प्रकृयाका नाममा ढिलासुस्ती बाहेक प्रभावित जनताले केही पाउन सकेका छैनन् । प्रहरी, सेना लगयातका सुरक्षा निकाय र सरकारी गाडीहरु प्रयोग गरेर सम्बन्धित जिल्लालाई परिचालन गरे बाटोमा मानिसहरु अलपत्र पर्ने थिएनन् । योजनामा सीमित क्षेत्रगत अवधारणाले काम गर्दैन । विवरण संकलन र प्रतिवेदन तयार गर्ने समूह आज परिचालन हुँदैछ उता मृतकका परिवारको हालत के छ ? ६ अर्बको कृषि क्षेत्रमा असर पुगेको तथ्यांक आएको छ, गर्ने के के हो ?

भूकम्प प्रभावितहरुको अवस्था :

गत वर्षको कार्तिक महिनाको जाजरकोट भूकम्पका प्रभावितहरु अझै पनि अस्थायी आवासमा छन्, दोस्रो किस्ता रकम बाटामै छ । कसरी सुरक्षित घर बनाउने हो ? चिसो बढ्दैछ, कति त्रिपाल र कम्बल मात्र बाँड्ने हो ? घरभित्र बसौं सरकारले सुरक्षित स्थानमा बसौं भन्छ । भर्खरै मन्त्रालयले सुरक्षित यात्रा गर्नु होला, सुरक्षित भएर हिँड्नु होला, सुरक्षित स्थानमा बस्नु होला भनेर अग्रीम जानकारी गराएको पत्र हेर्दै यो लेख लेख्दैछु । कहाँ कहाँ हो सुरक्षित स्थान सरकार ? कति दिनमा तिम्रो राहत घरमा पुग्छ ? बाटो खोल्न फेरि ठेक्का दिनु पर्ने होला ? स्थानीय स्तरमा विपद व्यवस्थापन समतिलाई जिम्मेवार बनाउन के ले छेक्या छ ? खाना छ बास छैन, बास छ खाना छैन ।

के गर्ने त ?

सुरक्षा निकाय तथा सबै क्षेत्रगत अगुवा गर्ने निकायहरुलाई परिचालन गर्ने । क्षतिको लेखाजोखा संगसंगै प्रभावितलाई तत्काल सोही स्थानमा राहतको प्याकेज वितरण गर्ने । अन्य जिल्ला तथा स्थानीय निकायसंग समन्वय गरेर प्रभावकारी प्रतिकार्यका कार्यहरु गर्ने ।

प्रत्येक स्थानीय निकायमा विपद् व्यवस्थापन शाखा र स्थानीय आपतकालीन संचालन केन्द्र स्थापना गरि विपद् पूर्व तयारीका लागि एक स्थायी एकाई खडा गर्ने र परिचालन गर्ने ।

क्षेत्रगतरुपमा विज्ञता भएका दातृ निकायहरुसंग समन्वय गरि काम गर्ने वातावरणका लागि तहगतरुपमा भएका संरचनाहरुलाई परिचालन गर्ने । संघ, प्रदेश, स्थानीय तह र वडा तहसम्मका लागि पूर्व तयारी र प्रतिकार्यका लागि सबै सरोकारवाला निकायहरुसंग समन्वय गरेर आजैदेखि भोलिको तयारी गर्नु नै उत्तम हो ।

देवी प्याकुरेल- आईएनएफ नेपाल, भूकम्प पुनर्लाभ परियोजना जाजरकोटमा कार्यरत हुनुहुन्छ ।