२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुन:निर्माण



अ+ अ-

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुन:निर्माण सम्पन्न भएको छ । १५ औ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा विस २०७२ को गोरखाभूकम्पले असर पुर्‍याएको थियो । भूकम्प एवं वर्षात्ले समेत गुम्बाका संरचना भत्किने अवस्थामा पुगेकाले काठमाडौस्थित जर्मन राजदुताबासको सहयोगमा पुन:निर्माण गरिएको गुम्बाका लामा छोम्भे गुरुङले बताउनुभयो ।

“जर्मन राजदुतावासको ६६ लाख आर्थिक सहयोगमा गुम्बाको परम्परागत संरचनालाई यथावत राखेर मौलिकता बिग्रन नदिई पुन: निर्माण गरिएको हो,” उहाँले भन्नुभयो “पुननिर्माण गरेपछि गुम्बाभित्र पानी चुहिने तथा ढुंगा खस्ने समस्या हटेको छ ।” तीन कोठा भएको गुफा मुनी गुम्बाका संरचनाहरु छन् । पहाडको फेदीमा पुगेको सडक देखि गुम्बा हुँदै गुफामा पुग्ने पदमार्ग निर्माण भएको र झर्‍याङ राखिएको छ । गुफाभित्र वौद्ध धर्मसम्बन्धी पुस्तक संकलन गरेर धार्मिक पुस्तकालय स्थापना गर्न थालिएको छ । गुफाको बाहिरी भागमा झ्याल राखिएको छ ।

गुम्बा र गुफाको रंगरोगन गरेपछि आकर्षक देखिएको छ । मुस्ताङका तत्कालीन दोस्रो सांस्कृतिक राजा आगुन साङ्वोका तेस्रो छोरा सोनाम लोवो खेनचेन (सोनाम इन्टुक) ले १५ औ शताब्दीमा निर्फुको गुफामा ध्यान बस्नका लागि गुम्बा स्थापना गरेको वृद्ध धर्म सम्बन्धी ग्रन्थहरुमा उल्लेख छ । नेपाल र भारतका धेरै भिक्षुहरु ध्यान बस्न आउने शान्त ठाउँमा रहेको निर्फु गुम्बाको धार्मिक, ऐतिहाँसिक र सांस्कृतिक महत्व रहेको छ ।

गुफा र गुम्बा अवलोकन गर्न पर्यटकहरु आउँछन् । निर्फु गुम्बा अन्तर्गत सन् २००४ देखि सञ्चालन भएको लामा सम्बन्धी कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ६० जना विद्यार्थीहरु छन् । नेपाली, अंग्रेजी र भोट भाषाको पठनपाठन हुने यस विद्यालयमा गोर्खा वेल्यफेयरको रु ३० लाख सहयोगमा तीन कोठे कक्षा कोठा भवन निर्माण भएको छ ।

भारतीय राजदुतावास र लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा करिब रु। पाँच करोड लागतमा छात्रावास भवन पनि निर्माणाधीन रहेको लामा गुरुङले बताउनुभयो । सिंगापुरमा रहेका छोसेरबासीहरुको अगुवाईमा निर्फु गुम्बाको नयाँ भवन पनि निर्माणाधीन रहेको छ ।

चीनको सिमानामा रहेको नेपालको अन्तिम मानवबस्ती छोसेरको आकर्षण निर्फु र गार्फु गुम्बा तथा झोङ गुफा हो । गुफा र गुम्बा अवलोकनका लागि नेपालीलाई रु। एक सय र विदेशीलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ । चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको नेचुङदेखि सवारी साधनमा पाँच मिनेट यात्रा गरेपछि छोसेरमा पुग्न सकिन्छ ।