१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी…

त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी…
अ अ+ अ-

सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमा
लोग्ने भन्छन् पहिलेजस्तै बस काखमा ।

यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिबार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा अधिकांशले आफ्नै वेदना प्रस्तुत भएको अनुभूत गरिरहे ।

तिजका गीत मायापिरती, वेदनाकै हुनुपर्छ र यस्ता गीतले मात्र लोकप्रियता हासिल गर्दछ भन्ने होइन । समाजमा सुसुप्त एवं व्याप्त तर हालसम्म उठान नभएका महिलाको प्रजननसित सम्बन्धित नयाँ समस्यालाई समयमै उजागर गराउँदा धेरैको जीवनमा परिवर्तन आउन सक्छ । भनिन्छ ,साहित्यले आम भोगाइलाई बोल्नुपर्छ, अनिमात्र साहित्यक साहित्य जस्तो हुन्छ ।  गीतले ‘मेनोपोज’ बाट उत्पन्न समस्यालाई यसरी शब्दमा उनेको छ–

उमेर पनि ढल्दै गयो जीवनको खेलमा
मासिक धर्म टाढा भयो यही बेलामा ।
गरमी र पसिना मनमा छ डर चिन्ता
के भो के भो थाहा छैन लाग्छ पिरता ।
चाल बदलियो शरीरको कहिले खुसी कहिले पिर
नानाथरि कुरा खेल्छन् छैन मनमा थिर ।

उमेर बढ्दै जाँदा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या महिलामा देखापर्दछन् ।  त्यस्ता समस्यालाई गीतका माध्यमबाट आम समुदायमा मनोरञ्जनले प्रस्तुत गर्दा जनचेतना बढाउन कोशेढुङ्गाको काम गर्दछन् । चिकित्सकका अनुसार महिलाका साझा समस्यामध्ये ‘मेनोपोज’ प्रमुख मानिन्छ । गीतले मनोपोज हुँदाको लक्षण एवं अवस्थालाई यसरी  मार्मिक रुपमा प्रस्तुत गरेको छ–

किन हो र झर्किएकी बोल्दा पनि बोल्दिनौँ
हस्पिटलै लान्छु बरु कुरै खोल्दिनौँ ।
हस्पिटल आउनुभयो राम्रो भयो बस्नुहोस्
मेनोपोजको समस्या छ बुझी जानुहोस् ।
महिनावारी बन्द हुन्छ यो उमेरमा नारीलाई
परिवारले बुझ्नुपर्छ पिरको भारीलाई ।

सासू, श्रीमान् र चिकित्सकबीचको त्रिपक्षीय पात्रका प्रतिबिम्ब बनाइ यी नै पात्रका माध्यमबाट ‘मेनोपोज’को समस्यालाई  यथार्थपरक ढङ्गमा अभिव्यक्त गरिएको छ–

मन जाँदैन पहिलाजस्तो कुनै पनि काममा
मानसिक रोग लाग्न सक्छ यस्तो बेलामा ।
निद्रा पनि टाढा भाग्छ हर्मोनको खेल हो
परिवारको साथ चाहिने यस्तै बेला हो ।
हड्डी पनि कमजोर हुन्छ मन त्यसै मर्दछ
क्याल्सियम र पोषकतत्व खानु पर्दछ ।

मेनोपोजाबाट उत्पन्न समस्याका बारेमा अधिकांश महिला एवं तिनका परिवारलाई जानकारी नै छैन । यस्तो अनभिज्ञताले महिलालाई विभिन्न रोगको जोखिम बढाएको छ  । यसले गर्दा उनीहरुको स्वास्थ्यमा थप जटिलताहरू सृजना भइरहेका छन् ।

चिकित्सकका अनुसार निन्द्रा नलाग्ने, चिडचिडापन, रुन पन लाग्ने, चिन्ता लाग्ने, खलखल पसिना आउने, शरीर अचानक धेरै तातो हुने, कुराहरू चाँडै बिर्सने, यौन सम्पर्क गर्न अनिच्छुक हुने, कपाल झर्ने, पिसाब छिटोछिटो लाग्ने, पिसाब चुहिनेजस्ता लक्षणहरू मेनोपोजका लक्षणहरू हुन् ।

सामान्यतया यस्ता लक्षणहरू ४५ वर्षको उमेदेखि ५५ वर्षको उमेरसम्म देखिन्छ । महिनावारी सुक्नुभन्दा केही वर्षअघिदेखि केही वर्षपछिसम्म यस्ता लक्षण देखिने अवधिलाई ‘पेरिमेनोपोज’ भनिन्छ । कुनै–कुनै महिलालाई ४० वर्षको उमेरमा पनि मेनोपोजका लक्षण देखिन सक्छ । गीतले भन्दछ–

त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी
सानो–सानो कुरामा नि गर्थिन् झर्किनी ।
हर्मोनको गडबडीले भाको रैछ समस्या
मेनोपोजलाई बुझी साथ दिन्छौँ अवश्य ।
माया अनि साथ दिन्छौँ सजिलैसँग हुन्छ पार
सहज जीवन हाँसीखुसी हुन्छ परिवार ।
दिदीबहिनी सबले बुझौँ बढाऔँ जनचेतना
८१ साल तिजपर्वको शुभकामना ।

नेपाल मेडिकल एशोसिएसनले सन् २०१७ मा ४० वर्ष नाघेका दुई हजार महिलामा गरेको अध्ययनअनुसार ५९ दशमलव दुई प्रतिशत महिलालाई मेनोपोजका लक्षण र जटिलताबारे जानकारी छैन । यसैले घरघरमा, टोलटोलमा मेनोपोजका बारेमा जनचेतना जगाउन आवश्यक छ । यसका लागि गीत–सङ्गीतका माध्यम सशक्त र प्रभावकारी हुन्छन् ।

चन्द्रागिरि–१० स्थित नयाँ बस्तीमा बसोबास गर्ने महिलाद्वारा गठित नवज्योति महिला समूहले प्रस्तुत गरेको जनचेतनामूलक ‘मेनोपोज’सम्बन्धी तिजगीत केन्द्रबिन्दुमा रह्यो । साथै प्रतियोगितामा  प्रथम स्थान हासिल गरेको छ । गीतको शब्द तथा लय संयोजन समूहका सदस्य उषा रिमालले गर्नुभएको थियो भने वाद्यवादनको संयोजन भगवती थापाले गर्नुभएको थियो । त्यस्तै गायनतर्फ समूहका सदस्यहरु उषा रिमाल, सृजना खतिवडा, सरस्वती भण्डारी, शान्ता थापा, कमला खत्री, ऋतुकला पाण्डे, सीता विष्टलगायतले भाग लिनुभएको थियो । गीतमा अप्सरा खड्का र कविता थापाले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

समूहका अध्यक्ष शारदा खतिवडाले भन्नुभयो, “तिज गीत प्रतियोगितामा भाग लिनु त छँदै छ, आम महिला दिदीबहिनीमा ‘मेनोपोज’का लक्षण, यसले उत्पन्न गर्न सक्ने जटिलता र समाधानका उपायका बारेमा सन्देश प्रवाह गर्नु र जनचेतना जगाउनु नै हामीको मुख्य ध्येय हो । यसैले  समूहले कार्यक्रममा भाग लिने र  मेनोपोज सम्बन्धी  गीत रचना  गर्ने सङ्कल्प गर्यौँ । यसमा समूहका सबै सदस्यले अथक साथ र सहयोग गर्नुभयो ।  प्रतियोगितामा गीततर्फ हाम्रो समूह प्रथम भयो, निर्णायकमण्डलले गीतलाई न्याय दिनुभएको छ । ” उहाँले यसबाट  आगामी दिनमा समूहलाई अझ रचनात्मक सामाजिक काम गर्ने  हौसला मिलेको  बताउनुभयो ।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय एवं सहभागीलाई चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१० का वडाध्यक्ष शिवकुमार महर्जन, वडासदस्यद्वय भेषनाथ उपाध्याय र सीता महर्जनले पुरस्कार प्रदान गर्नुभएको थियो । रासस