१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

प्रस्तावित चलचित्र ऐनको विषयमा सरोकारवालाहरूसँग बोर्डको छलफल

प्रस्तावित चलचित्र ऐनको विषयमा सरोकारवालाहरूसँग बोर्डको छलफल
अ अ+ अ-

काठमाडौँ। चलचित्र विकास बोर्डले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझाव सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको छ । माघ ४ गते बिहीबार बोर्डको सभाकक्षमा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाहरूका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूसँग माग र सम्बोधनका विषयमा केन्द्रित रही छलफल गरेको हो ।

करिब तीन महिना पहिले बोर्डले आवश्यक राय सुझाव एवं पृष्ठपोषणका लागि मस्यौदा सार्वजनिक गरेको थियो । सोही मस्यौदामा आधारित रही सबै सङ्घ संस्थाहरूले परिमार्जनको माग गरेकोमा राय सुझाव लिखित रूपमा माग गरी त्यसबारेमा छलफल गरिएको हो ।

सो छलफलमा बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले नयाँ चलचित्र ऐन पारित गराउन चलचित्रकर्मीहरूले धेरैवर्षदेखीको प्रयास गरेको बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय चलचित्रको हितमा हुने गरी सबैको साझा सहमतिमा चाँडै विधेयक पारित होस् भनेर आफू लागिपरेको बताउनुभयो । “चलचित्र क्षेत्रका हकहितका कुराहरू नछुटुन् भनेर बोर्डले विधेयकको मस्यौदा सार्वजनिक गरेको थियो । प्रशस्त सुझावहरू आएका छन् । केही संशोधन र केही थप्नुपर्ने कुराहरू आएका छन्”, केसीले भन्नुभयो, “सञ्चार तथा सूचना प्रविधि मन्त्री सुरुदेखि नै यो विधेयकमा सकारात्मक रहनुभएको छ । मेरो कार्यकालमा नै यसलाई टुङ्गो लगाउँछु भनेर बोर्डलाई विश्वास दिलाएको कारण यसलाई छलफल गरी मस्यौदा पठाउन यो कार्यक्रम राखिएको हो ।”

बोर्डका सदस्य सचिव तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विशाल सापकोटाले यो अन्तिम पटकको छलफल नभएको र उत्कृष्ट ऐन निर्माणको लागि अझै धेरै बहस र छलफल गर्न आवश्यक हुनसक्ने बताउनुभयो ।

यो विधेयक पास गर्न मन्त्रालय लागि परेको जनाउँदै सापकोटाले भबिष्यमा आइपर्नसक्ने समस्याका बारेमा बोर्ड सजग रहेको बताउनु भयो । “चलचित्र क्षेत्रलाई अहित हुने कुनै कानुन विधेयकमा नआओस् भनेर हामी निरन्तर छलफलमा थियौँ ।

जसको लागि विधेयक बनाउन लागेका छौँ, त्यसमा सम्बन्धित तप्का सन्तुष्ट नभई विधेयक आउन हुँदैन भनेर छलफल गरिरहेका छौँ”, सापकोटाको भनाई थियो ।

सापकोटाले थप्नुभयो, “हाम्रो लागि हामीले नै कानुन बनाउनु पर्छ । प्रजातन्त्रमा कसैले लादेको कानुन लागु हुनु हुँदैन”, कानुन बन्ने प्रक्रियाको विषयमा प्रकाश पार्दै उहाँले संसदमा दफावार छलफल हुने बेलामा समेत हामी सतर्क रहनुपर्ने दृष्टान्त औँल्याउनुभयो । चलचित्रकर्मी र सरकारबिच बोर्डले सेतुको रूपमा काम गर्ने उहाँले बताउनुभयो ।

बोर्ड प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले अब बन्ने ऐनले पछिल्लो पुस्तालाई समेट्न सक्ने बनाउनुपर्ने बताउँदै हाम्रा मौलिकताहरूमाथि भएका हस्तक्षेप र प्रविधिको नवीनतम दुनियाँमा बोर्ड कस्तो आकारमा रहने भन्ने सुझाव चाहेको जनाउनुभयो । “राष्ट्रियता, भाषा, संस्कृति तथा पर्यटनको प्रवर्धनसँगै अर्थतन्त्रको विकासमा जाने गरी हामी अगाडी बढ्नुपर्छ । विश्वव्यापी रूपमा अभिव्यक्ति र सिर्जनात्मक स्वतन्त्रबाट पनि अभिप्रेरित हुनुपर्छ । हामीले हाम्रो सामर्थ्यलाई पनि पहिचान गर्न सक्नुपर्छ”, बुढाथोकीले बताउनुभयो ।

छलफलमा सहभागीहरूले स्वायत्ततासँगै बोर्डको भूमिका शासक नभई सेवक हुनुपर्ने जिकिर गर्नुभयो । बोर्डले प्रशासनिक काम गर्ने नभई नेपाली चलचित्रको विकासमा आधारित कामहरू मात्र गर्नुपर्ने गरी ऐन बन्नुपर्ने वक्ताहरूको भनाई थियो ।

निर्माण, वितरण र प्रदर्शन मात्र नभई समग्र चलचित्र क्षेत्र नै समेट्ने गरी ऐन आउनुपर्ने, प्राज्ञिक हुनुपर्ने, बोर्डको संरचना परिवर्तन हुनुपर्ने, बोर्डमा चलचित्र विज्ञहरूको बाहुल्यता हुनुपर्ने, सदस्य नियुक्तिको विषयमा राजनीतिक नियुक्ति रोकिनुपर्ने, प्रादेशिक रूपमा रिलिज हुने चलचित्रलाई प्रादेशिक रूपमा सेन्सर भए हुने व्यवस्था हुनुपर्ने, विदेशीले नेपालमा चलचित्र बनाउन सक्ने वातावरण बन्नुपर्ने,

विदेशी चलचित्र नेपालमा आयात हुँदा यसको सबै काम बोर्डले नै गर्न पाउनुपर्ने, कला र संस्कृतिमा राज्यको लगानीको स्पष्टता लगायतका विषयहरू नेपाली चलचित्र क्षेत्रका सरोकारवाला सङ्घ संस्थाहरूबाट प्राप्त भएको छ ।

चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर बलामीले कानुनी बाधा अड्चनमा पुन: बहस गर्न सकिने तर हालको लागि सुझावसहित पुन: मस्यौदा पठाउन आग्रह गर्नुभयो । नेपाल चलचित्र निर्माता सङ्घका पुर्वअध्यक्ष आकाश अधिकारीले

सिङ्गो चलचित्र उद्योगको हितलाई मध्यनजर गरी मस्यौदामा सुझाव राखिएको बताउनुभयो । अभिनेता तथा निर्माता दीपकराज गिरीले ऐनले सबैलाई अपनत्व दिने काम गर्नुपर्ने र कसैको गुनासो रहन नहुनेमा सजग हुनुपर्ने बताउनुभयो ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले यो विधेयकको मस्यौदा अक्षरश: पारित भयो भने नेपाली चलचित्रको हित हुने जनाउनुभयो । उहाँले सबै सरोकारवालाहरूको माग यही संशोधित मस्यौदालाई नै मन्त्रालय पठाउनु पर्ने रहेको उल्लेख गर्नुभयो । चलचित्र निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँले जबसम्म हाम्रो नियत बदलिँदैन तबसम्म हाम्रो नियति नबदलिने जनाउँदै चलचित्र प्रदर्शनमा गुणस्तरको भ्रष्टाचार र चलचित्र निर्माणमा निषेधवाला कानुन हुन नहुने जिकिर गर्नुभयो ।