१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

प्राङ्गारिक उत्पादन अध्ययनको केन्द्र होलीग्रिन

प्राङ्गारिक उत्पादन अध्ययनको केन्द्र होलीग्रिन
अ अ+ अ-

डुम्रे । नेपाल कृषि प्रधान देश हो । यद्यपि खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरी आयातलाई निर्यातमा परिणत गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेका छन् ।

उत्पादन वृद्धि गर्ने हेतुले अहिले कृषि र प्रविधिलाई विशेष प्राथमिकता दिए पनि तीनै तहका सरकारले प्राङ्गारिक उत्पादनलाई जोड दिएका छैनन् । प्राङ्गारिक उत्पादनलाई जोड दिने भनिए पनि रासायनिक मल, विषादी प्रयोग न्यूनीकरण गर्न सकिएको छैन । कृषिलाई प्राथमिकता दिँदै प्राङ्गारिक उत्पादनमा युवालाई परिचालन गर्न आवश्यक छ ।

प्राङ्गारिक उत्पादनलाई प्राथमिकतामा राखी खेती गर्दै आउनुभएका शुक्लागण्डकी नगरपालिका–३ स्थित होलीग्रिन एग्रो फार्मका सञ्चालक महेन्द्रकुमार श्रेष्ठ भन्नुहुन्छ, “जैविक र प्राकृतिक कृषिबाट व्यावसायिक र आत्मनिर्भर बन्नुपर्छ ।” प्राङ्गारिक र वास्तविक स्वाद रहेका खानामा पर्यटक आकर्षित भएकाले यस प्रविधिलाई जोगाउन कृषि क्षेत्रमा लाग्न आवश्यक ठानिएको श्रेष्ठ बताउनुभयो ।

पाँच वर्ष फोटोग्राफी र पर्यटन प्रवर्द्धनमा लाग्नुभएका श्रेष्ठ पछिल्लो समय कृषि क्षेत्रमा लाग्नुभएको हो । बायोडाइनामिक कृषि तरिकाले जैविक विविधता र वातावरणमैत्री बनाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । खेतीको मौसमअनुसार उहाँ प्राङ्गारिक मल तयार गरी खेतीपाती गर्दै आउनुभएको छ । जसले गर्दा खाद्यान्नको स्वाद र खपत हुने गर्दछ । वास्तविक स्वाद र खपतले नै यस फार्म स्वदेश तथा विदेशबाट अध्ययनका लागि आउने गरेको उहाँ बताउनुहुन्छ ।

श्रेष्ठ भन्नुहुन्छ, “विदेशबाट अध्ययनका लागि आउने किसानलाई राख्न सक्ने अवस्था छैन । तर यस फार्मका बारेमा थाहा पाएका विदेशी किसान अध्ययनमा आउन समय माग्ने र आउने क्रम बढ्दै गएको छ । स्वदेशकै कृषि अध्ययनरत विद्यार्थीदेखि प्राध्यापक विद्यार्थी लिएर आउन आतुर छन् । समय मिलाउनै मुस्किल भएको छ ।” समयअनुसार मलको व्यवस्थापनदेखि विभिन्न आवश्यक काम भए पनि यहाँ अध्ययनमा आउने किसानलाई समय दिन नसकेको उहाँ बताउनुहुन्छ ।

प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्न आवश्यक रहेको श्रेष्ठ बताउनुहुन्छ । “यहाँको माटो र प्रकृतिसँगै उत्पादन हुने स्वादको संरक्षण आवश्यक भएकाले किसानले बढी उत्पादनभन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्छ । यसले देशलाई अध्ययनको केन्द्र बनाएर पर्यटक अझै वृद्धि गर्न टेवा पुग्नेछ”, उहाँ भन्नुहुन्छ, “पर्यटक बढी आउनु हाम्रो देशको आयस्तर वृद्धि नै हो ।”

व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठले १२ रोपनी क्षेत्रफलको जग्गामा होलीग्रीन एग्रो फार्म सञ्चालन गरी प्राङ्गारिक उत्पादन गर्दै आउनुभएको छ । पर्यटकलाई नेपालमा बढीभन्दा बढी भित्र्याउने सरकारको लक्ष्यलाई पूरा गर्न प्राङ्गारिक उत्पादनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा छ । प्राङ्गारिक खाद्यान्नमा पर्यटकको आकर्षण भएकाले यसलाई सरकारले ध्यान दिनुपर्ने र यसले नेपाल नै कृषि क्षेत्रको अध्ययनको केन्द्र बन्नसक्ने उहाँको भनाइ छ ।

नेपालमा आउनु नै पर्यटक वैज्ञानिक अध्ययनअनुरूप प्राङ्गारिक कृषि उत्पादन प्रमुख हुन जरुरी रहेको श्रेष्ठको अनुभव छ । उहाँको फार्ममा समयअनुसारका विभिन्न प्रजातिका बोटबिरुवा, फलफूल, खाद्यान्न उत्पादन हुँदै आएका छन् । फलफूल, खाद्यान्नको वास्तविक स्वादलाई बचाउन प्राङ्गारिक उत्पादनलाई जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ । प्राङ्गारिक खाद्यान्न उत्पादनका लागि विभिन्न प्रविधि र रासायनिक प्रयोगभन्दा पनि प्रकृति र ग्रहहरूको चक्रीय प्रणालीअनुरूप हुने उत्पादनमा कृषिको नियमलाई किसानले बुझ्न जरुरी रहेको श्रेष्ठको बुझाइ छ ।

खाद्यान्नको वास्तविक स्वादसहितको उत्पादनका लागि ‘फोर्स ग्रोथ’ भन्दा समयानुकूल वातावरण बनाउनुपर्ने उहाँको अनुभव छ । वास्तविक स्वाद आउनेगरी उत्पादनका लागि उर्वर माटो बनाउन जरुरी रहने श्रेष्ठ बताउनुहुन्छ । युरिया, पोटासलगायतका केमिकलयुक्त मलको प्रयोगबाट गरिएको उत्पादनले स्वास्थ्यलाई असर गर्नुका साथै वास्तविक स्वाद नपाइने उहाँ बताउनुहुन्छ ।

प्राङ्गारिक उत्पादनको प्रवर्द्धन गर्नुपर्छ भन्ने हेतुले कृषि क्षेत्रमा लाग्नुभएका श्रेष्ठ भन्नुहुन्छ, “मलाई स्थानीयले पढेर पनि कृषिमा लागेको भनेर पागल भन्ने गर्थे । तर अहिले उत्पादनसँगै प्राङ्गारिक खाद्यवस्तु उत्पादनले पहिचान फेरिएको छ । आफूले उत्पादन गरेको खाद्यान्नको मागसमेत वृद्धि भएको छ । फार्मलाई प्रशिक्षण तथा अध्ययनको केन्द्र बन्दै गएको छ ।”

छिमेकका गाउँबाट किसान श्रेष्ठसँग परामर्श लिने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो फार्म अध्ययनको केन्द्र बनाउने योजना विस्तारै पूरा हुँदै गएको छ । केही देशसम्म पुगेर प्रशिक्षण दिने अवसर मिलेको छ ।” बिदाको समयमा कलेज, विद्यालयमा अध्ययनरत विद्यार्थी प्रयोगात्मक कृषि अध्ययनका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।

सीमित विद्यार्थी तथा किसानलाई फार्ममै बसेर अध्ययन गर्ने वातावरण बनाउन सफल भएको उहाँ बताउनुहुन्छ । प्राङ्गारिक उत्पादनलाई प्रवर्द्धन गर्न ग्लोबल फोरमसम्म पुर्याउने लक्ष्यका साथ विदेशसम्म पुगेर कृषि अध्ययनमा सहभागी हुने अवसर मिलेको उहाँ बताउनुहुन्छ ।

स्वदेश तथा विदेशका किसानको अध्ययनको केन्द्र

फार्ममा स्वदेश तथा विदेशबाट किसान र कृषिका विद्यार्थी अध्ययन तथा अवलोकनमा आउने गरेको श्रेष्ठ बताउनुहुन्छ । बायोडाइनामिक कृषि तरिकाले जैविक विविधता र वातावरणमैत्री माटो बनाउन विद्यार्थी, युवा तथा ग्लोबल फोरममार्फत प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ ।

श्रेष्ठ भन्नुहुन्छ, “केही समय अगाडि मात्रै यो फार्ममा विदेशबाट नेपालमा विदेशी आउने गरेका पाइन्छन् । जैविक पद्दतिबाट प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिँदै अध्ययनमा आउने विदेशी, कृषिका विद्यार्थी र किसानलाई प्राङ्गारिक उत्पादनमा प्रोत्साहन गर्न आफैँले स्वअध्ययन गर्न फार्म स्थापना र सञ्चालनमा ल्याएको हुँ ।” सबैभन्दा पहिले आफैँले स्वअध्ययनबाट काम गर्न सके प्राङ्गारिक उत्पादन गर्न सकिने र स्वास्थ्यमा हुने हानीलाई न्यूनीकरणमा मद्दत पुग्ने उहाँको बुझाइ छ ।

प्राङ्गारिक उत्पादनले नै विदेशीलाई आकर्षण गर्न सहयोग पुग्ने भएकाले अहिलेदेखि नै यसलाई प्राथमिकताका साथ सबै तहबाट साथ हुन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशीको कृषि अध्ययनको केन्द्र बनाउन हामीले विषादि, विकासे मल प्रयोगलाई घटाउँदै लानुपर्छ । प्राकृतिक तवरबाट खेती गर्नतर्फ किसानलाई प्रोत्साहन गर्नुपर्छ । यसले एक जना किसानलाई मात्र नभई देशलाई नै फाइदा पुग्नेछ ।”

प्राकृतिक उत्पादन प्राथमिकतामा

प्राकृतिक उत्पादनलाई प्राथमिकतामा राखी प्राङ्गारिक खाद्यान्न वृद्धि गर्न ग्लोबल फोरममा पुर्याउन सके नेपालको पहिचानमा समेत टेवा पुग्ने श्रेष्ठ बताउनुहुन्छ । जीव विज्ञान र माटोको अध्ययनबाट नै आफू कृषिमा आकर्षित भएको उहाँ बताउनुहुन्छ । जीव, प्रकृति, वातावरण, वास्तु तथा अन्तरिक्षको विज्ञानअनुसार कृषि पेसा गर्नसके उत्पादन अग्र्यानिक हुने उहाँको बुझाइ छ ।

अध्ययनलाई आफूले प्रयोगमा ल्याउने गरेको र सधैँ अध्ययन र अनुसन्धान गर्दै कृषि कर्म गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तालिमभन्दा स्वअध्ययनले आफूलाई अग्र्यानिक खेतीमा आकर्षिकत हो । किसानले बाहिर खर्च गर्ने होइन भन्ने मान्यता छ ।” श्रेष्ठको फार्ममा एक सयभन्दा बढी प्रजातिको फलफूल तथा कृषि उत्पादन हुने उहाँ बताउनुहुन्छ । प्राङ्गारिक तथा जैविक विविधतायुक्त खाद्यान्न उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

जति घाँस उति माटो उर्वर

किसान खेतबारीमा घाँस बढी भएमा दिक्क मान्ने गरेका हुन्छन् । तर जति खेतबारीमा घाँस उम्रिएको पाइन्छ, उति नै माटो उर्वर हुने किसान श्रेष्ठको भोगाइ छ । वास्तुशास्त्र र धार्मिक मान्यतासँग कृषि उत्पादनसमेत एकापसमा जोडिएको श्रेष्ठ बताउनुहुन्छ ।

प्रकृति, धार्मिक, वास्तुशास्त्र र ज्योतिषशास्त्रसमेत कृषि उत्पादनसँग जोडिएर रहने गरेको उहाँको प्रयोगात्मक विश्वास छ । प्राकृतिक उत्पादन गरिएको ठाउँमा चराचुरुङ्गी, कीरा, फट्याङ्ग्रा आउने र कृषि उत्पादनमा प्राकृतिक मल प्राप्त हुने उहाँ बताउनुहुन्छ । खेती गर्दा खेतबारीको छेउछाउमा रूखबिरुवा लगाएमा विभिन्न रोगको समेत निराकरण गर्न सकिने उहाँको अध्ययनले प्रमाणित गरेको बताउनुहुन्छ ।

भौतिक पूर्वाधारको विकास जरुरी

कृषि उत्पादनलाई प्रवर्द्धन र विकासका साथै आयस्तर वृद्धि गर्नका लागि भौतिक पूर्वाधार विकास गर्नुपर्ने श्रेष्ठ बताउनुहुन्छ । कृषिमा आत्मनिर्भर बनाउनका लागि बजार व्यवस्थापन गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । कृषि उत्पादन गरेपछि बजारसम्म पुर्याउनका निम्ति सडक, यातायात र सञ्चारको सुविधा हुनुपर्ने उहाँको भनाइ छ । कृषिलाई अनुदान दिनुभन्दा यी तीन क्षेत्रको विकास गर्नसके उत्पादित कृषि उपजको बिक्री वितरणमा सहज हुने प्रयोगात्मक अध्ययनले देखाएको श्रेष्ठ बताउनुहुन्छ ।

प्राङ्गारिक मल उत्पादन र प्रयोग

किसानलाई आफ्नो थोरै जग्गामा लगाइएको खेतबारीबाट धेरै उत्पादन लिने अपेक्षा हुन्छ । छोटो समयमा धेरै उत्पादन गर्नका लागि किसानले फोर्स ग्रोथ गराउने गरेकोप्रति उहाँको चिन्ता छ । प्राकृतिकरूपमै उत्पादन धेरै गर्न सकिने उहाँको प्रयोगात्मक अध्ययन छ । कृषि उपजको अग्र्यानिक स्वाद ल्याउनका लागि उहाँले माटोलाई उर्वर बनाउन आफैँले प्राङ्गारिक मल उत्पादन गर्नुहुन्छ । माटोलाई आवश्यक पर्ने मल, कीरा फट्याङ्ग्रा भगाउनका लागि औषधिसमेत आफैँ घरमा बनाउने बनाउनुहुन्छ ।

बजारमा आउने गरेको रासायनिक मलको प्रयोग भने खेतबारीमा प्रयोग गर्नु हुँदैन । प्राङ्गारिक उत्पादनका लागि आवश्यक पर्ने मलसमेत आफैँले निर्माण गर्ने विभिन्न तरिका रहेको बताउँदै उहाँले अध्ययन र प्रयोग गर्दै आउनुभएको छ ।

खाद्यान्नको खपत

धेरै ठाउँका किसानले उत्पादन गरेका खाद्यान्न, फलफूलले बजार नपाएको भन्ने गुनासो आउने गरेको छ । तर उहाँको फार्ममा उत्पादित वस्तुको भने बढिरहेको छ । बजारको मागअनुसारको वस्तु पुर्याउन नसकेको उहाँ बताउनुहुन्छ । फार्ममा उत्पादित वस्तुमा वास्तविक स्वाद भएकाले धेरै ठाउँबाट पहिले नै माग गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

श्रेष्ठको फार्ममा उत्पादित धान, मकै, गहुँ, भटमासलगायतका खाद्यान्न धेरै ठाउँमा खपत हुँदै आएको छ । स्थानीय बजारमा नै यस फार्ममा उत्पादित वस्तुले बजार पाउने गरेको उहाँ बताउनुहुन्छ । मकैका विभिन्न प्रजाति, भटमास, धानको समेत धेरै प्रजाति लगाउने गरेको र उत्पादनसमेत राम्रो रहेको उहाँ बताउनुहुन्छ ।

प्रकृतिको चक्रीय प्रणालीलाई अवलम्बन गर्नसके उत्पादनमा वृद्धि हुने होली एग्रोका सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । एउटै ठाउँमा सधैँ एउटै प्रजातिका कृषिखेती गर्दा पनि उत्पादनमा कमी आउने उहाँको बुझाइ छ । चक्रीयरूपमा कृषि कर्म गर्नसके उत्पादन मनग्य हुने उहाँको अध्ययनले बताउँछ ।

श्रेष्ठ भन्नुहुन्छ, “एक वर्ष धान लगाइएको ठाउँमा अर्को वर्ष मकै लगाउने गर्नुपर्छ । मकै लगाइएको ठाउँमा अर्को वर्ष अरू खेती गर्नुपर्छ । अनिमात्रै उक्त स्थानको माटो मलिलो हुन्छ । उत्पादनमा ह्रास आउँदैन ।” सधैँ एकै प्रकारका खाद्यान्न बाली लगाउनुभन्दा वर्षैपिच्छे फेर्न सकिएमा त्यसबाट उत्पादनमा पर्ने नोक्सानी व्यहोर्नु नपर्ने उहाँ बताउनुहुन्छ ।

रासायनिक मल र विषादिबिनाको खेती

आजकल रासायनिक मलबिना खेती नै हुँदैन भन्ने धारणालाई चिर्दै आएको छ होली ग्रिन एग्रो प्रालि । रासायनिक मल अभावले खेती भएन भन्दै आएका किसानलाई प्राङ्गारिक खेतीतर्फ प्रोत्साहित गर्दै आएको छ । किसानले पर्याप्त नभएको भनी गर्दै आएको गुनासोलाई चिर्नु आवश्यक देखिन्छ ।

उत्पादन बढी लिने आसले किसानले कालोबजारीका रासायनिक मल खरिद गर्ने गरेका छन् । रासायनिक मलबिना खेती सप्रिँदैन भन्ने भ्रम चिर्नुपर्ने सरकारको प्राथमिकता हुनुपर्छ । अधिंकाश किसान रासायनिक मल र विषादिमा बानी परे पनि रासायनिक मल बिना पनि खेती सम्भव छ भन्ने तथ्यलाई केही किसानले भने पुष्टि गरेका छन् ।

किसान महेन्द्र श्रेष्ठले अग्र्यानिक खेती गर्दै आउनुभएको करिब १२ वर्ष भयो । बायोडायनामिक खेती पद्दतिबाट स्वअध्ययन गरेर त्यसैको प्रयोग गरिरहनुभएका श्रेष्ठ रासायनिक मलले देशलाई ठूलो नोक्सानी पुर्याइरहेको बताउनुहुन्छ । रासायनिक मलले एकाध वर्ष केही बढी उत्पादन दिए पनि यो दीर्घकालीन समाधान नभएको र बर्सेनि माटोको उर्वरशक्ति नष्ट गरिरहेको उहाँ बताउनुहुन्छ ।

“रासायनिक मल र विषादीले कालान्तरमा हामीलाई रोगी बनाउँछ । मानिस लागुऔषधको कुलतमा फसेजस्तै रासायनिक मलले माटोलाई दुव्र्यसनयुक्त बनाउँछ । माटोलाई सधैँभरि स्वस्थ र जीवित राख्न दिँदैन ।” श्रेष्ठले घर वरपर, खेतबारी, वनजङ्गलमा नै पाइने झारपात र घरमै पालिएका पशुको गोबरबाट जैविक मल उत्पादन गर्नुहुन्छ ।

गोबर, सिस्नो, आख्लेझारलगायत विभिन्न झारको प्रयोग गरेर तयार पारिने मलले जमिनलाई स्वस्थ बनाउनुका साथै सुक्ष्म जीवाणु बचाउन तथा बढाउन, बोटविरुवाको जरा मजबुत बनाउन, वास्तविक स्वादयुक्त गुणस्तरीय उपज उत्पादन गर्न मद्दत पुर्याउने बताउनुहुन्छ । “प्राङ्गारिक मल बनाउन चाहिने स्रोत हाम्रै वातावरणमा छन् । मल हुने कच्चा पदार्थलाई हामीले फोहर सम्झेर फलिरहेका छौँ । हाम्रै वरपर औषधीय मूल्यवान झारपात, बोटबिरुवा छन् । खेतीमा आवश्यक हुने जैविक औषधि उत्पादन गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ ।

बजार सीमित व्यक्तिको कब्जामा भएकाले प्राङ्गारिक उत्पादन गर्ने किसानलाई प्रोत्साहन नमिलेको श्रेष्ठ बताउनुहुन्छ । सरकारले नै प्राङ्गारिक खेती पद्दती गर्ने, रैथाने उत्पादन बढाउने र त्यसको बजारीकरण गर्ने नीति लिइनुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “प्राय: सबै किसानले मकै लगाउँछन् । हामी मकै फलाउँछौँ तर मकैको कुकिज विदेशको खान्छौँ । मकैबाट धेरै चिज बनाउन सकिन्छ तर हाम्रो ध्यान त्यता छैन, मकै केबल पशु आहारामात्रै भइरहेको छ । जबकि पशुलाई हामी घाँसले मात्रै पनि पाल्न सक्छौँ ।”

एक अञ्जुली माटोभित्र छान्नै नसकिने अथाह जीवाणु छन् । योचाहिँ जीवाणु चाहिँदैन भनेर विष हाल्दा त अरु धेरै जीवाणु मर्ने गर्दछन् । जसले गर्दा उत्पादन गरिएको खानामा विषादी मिसिएको हुन्छ । मानिसको स्वास्थ्य जैविक विविधतासँग जोडिएकाले सचेत हुन आवश्यक रहेको छ । यसको कार्यान्वयनका लागि किसानलाई जानकारीको खाँचो छ भने सरकारले नीति ल्याउन ढिला गर्न नहुनेमा विज्ञको अध्ययनले बताएको छ । रासस