४ मंसिर २०८१, मंगलवार
,
Latest
अनुकूलन कोषको ‘एनआइई’ मा ‘एनटिएनसी’ छनोट, अब अनुकूलन वित्तमा नेपालको सोझै पहुँच चुरे दोहनका कारण जटिल समस्या उत्पन्न हुँदैछ: मन्त्री यादव सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक स् स्वास्थ्यमन्त्री पौडेल डडेल्धुरामा जीप दुर्घटना: दुईको मृत्यु, सात घाइते पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह युक्रेनलाई हतियार दिने बाइडेनको निर्णयपछि पुटिनद्वारा नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर उपनिर्वाचन पर्यवेक्षण गर्न नौ संस्थाले पाए अनुमति बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति राजनीतिक नेतृत्वले एकले अर्कालाई झुक्याउने कुरा घातक छः जनार्दन शर्मा बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत के ? (भिडिओसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’



अ+ अ-

बेनी । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गर्नुभएको हो । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताउनुभयो ।

सुन बचेर सुन्तलाखेती गर्नुभएकी ६८ वर्षीय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ । ‘‘सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ”, हुमेनले भन्नुभयो । अहिले सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तलाखेती रहेको उहाँको भनाइ छ । कान्छो छोरासँगै बसोबास गर्दै आउनुभएका हुमेन र उहाँका दुई छोराको सुन्तला बगैँचामा अहिले करिब चार सय बढी बोट रहेका छन् ।

हरेक वर्ष रु आठदेखि १० लाखसम्म सुन्तला बिक्री हुने गरेको हुमेन परिवारको भनाइ छ । ‘‘खेतमा धान राम्रो फल्ने थिएन, एक नातेदारले सुन्तला लगाउन सल्लाह दिएका थिए, उनले पनि खेतबारीमा सुन्तलाखेती लगाएको देखेर, मैले पनि लगाएको हुँ, पछि गाउँभर नै सुन्तलाखेती विस्तार भयो, अहिले हाम्रो गाउँ बास्कुनाबाट सुनकुना भएको छ भन्दा हुन्छ’’–उहाँले थप्नुभयो । यहाँ रहेका बास्कुना, सुर्केमेला र थामडाँडाका चालिस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् ।

हरेक घरमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ । दुई वर्षअघि बालमखोला सिँचाई आयोजना निर्माण भएपछि सिँचाइ सुविधा पुगेर सुन्तलाखेती थप फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । यहाँ उत्पादन भएको सुन्तला बगैँचाबाटै बिक्री हुने गरेको छ । पोखरा र काठमाडौँको व्यवसायी यहाँका सुन्तला बगँैचामै पुगेर खरिद गर्छन् । सुन्तला फल्न थालेको सुरुवाती चरणमा पोखरा र काठमाडौँसम्म आफँैले ढुवानी गरेर बिक्री गर्नुपरे पनि पछिल्लो समय भने व्यवसायी बगैँचामै आएर सुन्तला खरिद गर्न थालेका छन् । यसबाट सहज भएको स्थानीय अगुवा किसान दलबहादुर कार्कीले बताउनुभयो ।

‘सुन्तला नपाक्दै पेश्की रकम लिएर व्यवसायी गाउँमा आउँछन्, यहाँका अधिकांश बगैँचा ठेकेदारले पेश्की लगाएका छन्, जति उत्पादन भए पनि बजारको अभाव छैन’’–उहाँले भन्नुभयो । यो वर्ष सुन्तलाको उत्पादन घटेपनि फलको गुणस्तर राम्रो भएकाले विगतको तुलनामा केही बढी मूल्य किसानले हात पारेका छन् ।

गतवर्ष प्रतिकिलो रु ७२ मा सुन्तला बिक्री गरेकामा यो वर्ष प्रतिकिलो रु ८० मूल्य पाएको किसान कार्कीले जानकारी दिनुभयो । बास्कुनामा यस वर्ष सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरेर सुन्तला बिक्री गर्न थालिएको छ ।

मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउन वडाका जनप्रतिनिधि र किसान समूहले मूल्य निर्धारण गरेको किसानसमेत रहनुभएका बेनी नगरपालिका–४ का वडा सदस्य सन्दीप खत्रीले जानकारी दिनुभयो । बास्कुना, सुर्केमेला र थामडाँडाका चालिस घरधुरीले गतवर्ष रु एक करोड मूल्य बराबरको सुन्तला निकासी गरेकोमा यसवर्ष फल कम लागेकाले रु ७५ देखि ८० लाख बराबरको सुन्तला निकासी हुने अनुमान गरिएको वडा सदस्य खत्रीले बताउनुभयो ।

सुन्तला बिक्री गरेर एक जना किसानले रु एक लाखदेखि दश लाखसम्म आम्दानी गर्छन् । परम्परागत रुपमा धान, कोदो, मकै र गहुँखेती गर्दै आएका यहाँका स्थानीयवासीले नगदेबालीको रुपमा सुन्तला खेतीलाई विस्तार गरेका छन् । सुन्तला खेतीबाटै यहाँका स्थानीयवासीको आयआर्जनमा वृद्धि र जीवनस्तरमा समेत सुधार भएको छ । रासस