२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम



अ+ अ-

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

गल्याङभित्रका एघार वडामा चालु आर्थिक वर्षमा जन्मिएका छोरीहरूको नाममा गल्याङस्थित गरिमा विकास बैंकमा खाता खोलिदिने र सो खातामा नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिने उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन् ।

“नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भनिन्, “चालु आर्थिक वर्षबाट सुरु भएको यो कार्यक्रमलाई अब निरन्तरता दिँदै जाने छौँ ।” छोरी जन्मिनासाथै जनप्रतिनिधि, नगर तथा बैंकका कर्मचारी घरमै पुगेर प्रक्रिया पूरा गरी छोरीको नाममा बैंक खाता खोलिदिएको उनले बताइन् ।

बिहीबार गल्याङ–३ स्थित एक दलित समुदायकी सुत्केरी आमाले छैटौँ छोरीका रूपमा जन्मदिएकी नवजात शिशुको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी भएको हो ।

“हाम्रो गाउँ समाजमा छोराछोरीप्रतिको विभेद न्यूनीकरण हुँदै गए पनि आंशिकरूपमा कायमै छ”, उपप्रमुख न्यौपानेले भनिन्, “नगरपालिकाले सुरु गरेको ‘नगरकी छोरी’ कार्यक्रम विशेषगरी छोरीलाई प्रोत्साहन र हौसला दिनका लागि बढी महत्त्वपूर्ण हुने विश्वास लिएका छौँ ।”

नगरपालिकाले छोरीको नाममा खोलिदिएको खातामा रहेको रकम १८ वर्ष उमेर नपुग्दासम्म झिक्न पाइँदैन । छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गरेको उनले बताइन् । “नगरपालिकाले सुरुमा खाता खोलेर रकम जम्मा गरिदिन्छ, पछिका दिनमा छोरीको नाममा घरपरिवारले थप रकम जम्मा गरिदिँदै जाँदा १८ वर्षमा ठूलो रकम प्राप्त हुन्छ”, उनले भनिन्, “तत्काल छोरीको प्रोत्साहनका लागि भए पनि पछि गएर आर्थिकरूपमा पनि सवलतातर्फ लैजान्छ ।” नगरपालिकामा ‘उपप्रमुखसँग सुत्केरी पोषिलो झोला कार्यक्रम’ र ‘गर्भवतीलाई अण्डा वितरण’ कार्यक्रम सञ्चालनमा छन् ।