७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग

ओझेलमा पर्दै स्थानीय सीप

ओझेलमा पर्दै स्थानीय सीप
अ+ अ-

बागलुङ । पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।

“पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो”, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भन्नुभयो । उहाँले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थापित गरिदिएको बताउनुभयो ।

अहिले आफ्नै घरमा पनि प्लास्टिकका नाङ्लो र गाग्री प्रयोग गर्न थालेको घर्तीमगरको भनाइ थियो । प्रविधिको बढ्दो विकाससँगै स्थानीय परनिर्भर बन्दै गएका उहाँले बताउनुभयो ।

आफ्नो पालामा नुन, भाँडाकुँडा र लत्ताकपडाबाहेक अन्य सामान बाहिरबाट नल्याएको स्मरण गर्दै पछिल्लो समय गाउँमा सबैले आयातित सामान प्रयोग गर्ने गरेका घर्तीमगरको भनाइ थियो । अहिले पनि केही बूढापाकाले चोयाबाट सामग्री बनाउने गरेका भन्दै उहाँले आधुनिक सामग्रीको प्रयोगका कारण ती बिक्री नहुने बताउनुभयो । “आफूहरू दसैँ, माघेसङ्क्रान्ति र चैते दसैँका बेला दर्जनौँ डोका, नाङ्लो बोकेर बजारमा बिक्री गर्न जाने गरिन्थ्यो । फर्किदा घरमा चाहिने सामान लिएर आउथ्यौँ”, घर्तीमगरले स्मरण गर्नुभयो ।

स्थानीय प्रेमबहादुर सुनारले आफू ११ वर्ष हुँदादेखि डालो, नाङ्लो बुन्दै आएको सुनाउँदै अहिले पनि बुन्ने गरेको बताउनुभयो । पहिले एकै सिजनमा रू डेढ लाखको चोयाका सामग्री बेच्ने गरेकामा अहिले बिक्री नै हुन छाडेको उहाँको भनाइ थियो ।

बाउ, बाजे र काकाबाट मान्द्रो, डालो, नाम्लो, दाम्लो र नाङ्लो बुन्न सिकेको भन्दै नयाँ पुस्ताले यसप्रति चासो नदेखाउँदा सीप हस्तान्तरण हुन नसकेको सुनारले गुनासो गर्नुभयो । बूढापाकाको हातखुट्टा चल्न छाडेपछि स्थानीयस्तरमा भएका कला, सीप र संस्कृति लोप भएर जाने खतरा बढेको भन्दै एक दशकदेखि गाउँमा प्लास्टिकका भाँडाकुँडा र डालो, नाङ्लो पुगेपछि चोयाबाट बुनेका सामान प्रयोग गर्न छोडेका उहाँले जानकारी दिनुभयो ।

चोयाबाट बनेका डालो, नाङ्लो, डालोलगायत सामग्री प्लास्टिकको तुलनामा निकै बलियो हुने बताउँदै सुनारले स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति आकर्षण बढी भएकाले मौलिक सीपबाट बनेका सामानले बजार नपाएको गुनासो गर्नुभयो । डालो, नाङ्लो वनमा गएर गजिङ, मालिङका चोया निकालेर बुन्न निकै समय लाग्ने भन्दै बजार नपाउँदा आफूहरूको मेहनत खेर गएको उहाँले दु:खेसो पोख्नुभयो ।

“अहिले ७० वर्षको भए । अझै पनि हातमा सीप छ । दिनभरि लगाएर सामान बुन्ने हो, बिक्री नहुँदा दु:ख लाग्छ । अहिले वर्षभरि रू ५० हजारको सामान बेच्न पनि मुस्किल हुन्छ”, सुनारले भन्नुभयो, “हाम्रा पालामा मानापाथी चल्थे । अहिलेको जस्तो एक किलो, दुई किलो भन्ने थिएन । व्यापारीले पाँच मानादेखि १० पाथीसम्मका ठाला राख्थे, मेला महोत्सवमा पनि धेरै सामान बिक्थे ।”

बडिगाडका होमबहादुर सिंजालीले पहिले बिस्कुन सुकाउन, गोठ छाउनका लागि चोयाका मान्द्रो, बलाङ प्रयोग गर्ने गरेको भन्दै अहिले प्लास्टिकका त्रिपाल बढी चल्ने गरेको बताउनुभयो । उतिबेला गोठालाले लेक, बेँसीमा गोठा हाल्दा चोयाकै बलाङले छाउने गरे पनि अहिले लेकका टुम्पासम्म पानीकागज र त्रिपाल पुग्न थालेको उहाँको भनाइ थियो ।

सिंजालीले पहिले गाउँका अधिकांश स्थानीयले अल्लो, भेडाको ऊन, भाँगोको लोक्ताबाट कपडा बनाउने गरेको भन्दै अहिले त्यो प्रचलन नै हराएको बताउनुभयो । उहाँले भन्नुभयो, “दशौँ वर्ष अगाडिका धेरै चालचलन र सीप अहिले हराउँदै गएका छन् । गाउँ र बस्तीमा मोटर गुड्न थाले । मोटर गाडीले सहरबजारका सामान सर्लक्कै गाउँ ल्याउँछ । ती सामान देख्दा राम्रो भए पनि हाम्रा जमानाका जस्ता बलियो र गुणस्तरीय हुँदैनन् । अबको केही वर्षपछि डालो, नाम्लो केही देख्न पाइने छैन ।” रासस