५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

यस्तो रह्यो नेम्वाङको अन्तिम बिदाइ

यस्तो रह्यो नेम्वाङको अन्तिम बिदाइ
अ+ अ-

काठमाडौँ । तीन दिनअघि हृदयाघातका कारणले निधन हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो ।

निर्धारित समयमा नै पशुपति आर्याघाटमा शव पुर्याइएको थियो । शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक सर्वसाधारणलगायत हजारौँको सहभागिता रहेको थियो । नेम्वाङको निवास, बालुवाटारबाट आर्यघाटसम्म शवयात्रा गरिएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

शवयात्रामा रहेका सबैका अनुहारमा एक कुशल, मृदुभाषी, असल राजनीतिज्ञलाई गुमाउनु पर्दाको पीडा रहेको थियो । आर्यघाटको दुवैतिरको भागमा मानिसले जलिरहेका नेम्वाङ शवप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । सर्वसाधारणले मोबाइलबाट फोटो, भिडियोसमेत बनाइरहेका देखिन्थ्यो ।

प्रधानमन्त्री, विभिन्न पार्टीका शीर्षनेता, मन्त्री, सांसद, उच्चपदस्थ अधिकारीले अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । पशुपति आर्यघाटमा नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख नेम्वाङको निधनमा नेपाल सरकारले राजकीय सम्मान प्रदान गरेको थियो । आज सरकारले उहाँको सम्मानमा सार्वजनिक बिदासमेत दिएको छ । उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा छोरा मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको थियो । त्यसक्रममा नेम्वाङप्रति सम्मान प्रकट गर्दै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो । अन्तिम श्रद्धाञ्जलि दिँदा नेम्वाङ श्रीमती विशालनुमा नेम्वाङ भक्कानिएर रुनुभयो । उहाँलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

स्व नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका शीर्षनेता, नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्याललगायत आर्यघाट जानुभएको थियो ।

यस्तै संसद् सचिवालयका पदाधिकारी, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका अधिकारी, सामाजिक क्षेत्रका प्रतिष्ठित महानुभाव, नेम्वाङको परिवारका सदस्य तथा आफन्तजन, ठूलो सङ्ख्यामा पार्टीका नेता–कार्यकर्ता र सर्वसाधारणको पशुपति आर्यघाटमा उपस्थिति रहेको थियो ।

सोमबार राति ३ः०० बजे त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि दुई दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको थियो ।

नेम्वाङ विसं २००९ फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिनुभएको हो । विसं २०४८ र २०५२ मा गरी दुईपटक राष्ट्रियसभाको सदस्य हुनुभएका नेम्वाङ २०५६ मा इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ २०६३ सालको पुनःस्थापित प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । विसं २०६४ र २०७० मा भएका दुईवटा संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी बनेर संविधानसभा अध्यक्ष बन्नु भई उहाँले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उपाध्यक्ष नेम्वाङ विसं २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्यमा पनि इलाम–२ बाट निर्वाचित हुनुभएको थियो । राजनीतिक जीवनमा नेम्वाङले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीसमेत बहन गर्नुभएको थियो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ विसं २०२९ मा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अनेरास्ववियुबाट स्ववियु सभापति हुनुभएको थियो । राजनीतिकै क्रममा २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएका उहाँ तत्कालीन नेकपा मालेमा सङ्गठित हुनुभएको थियो ।

विसं २०५४ को छैटौँ महाधिवेशनदेखि निरन्तर पार्टीको केन्द्रीय कमिटीमा रहनुभएका नेम्वाङ २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य हुनुभयो भने २०७८ सालमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभएको होे । उपाध्यक्ष नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । रासस