काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफ्नाविरुद्ध फेरि अनर्गल प्रचार शुरू गरेको बताएका छन् । उनले आज स्पष्टीकरण दिँदै आफूहरू माधव नेपाललाई छाडेर पार्टी एकतामा जान लागेको भन्ने हल्ला गलत रहेको प्रष्ट पारेका हुन्।
भुसालले नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन पञ्चायत व्यवस्थाका ‘सुकुलगुण्डा’ जस्तै समूह खडा भएको त होइन भन्ने प्रश्न गरेका छन् ।
‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरू भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,’ भुसालले भने ।
अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने भन्दै एकताको आह्वान गरेपछि माधव नेपाल समूहमा दुई धार देखिएको छ ।