७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदरमुढे बम विस्फोट : जो बसको छतमा यात्रुसँग भाडा उठाउँदै थिए …



अ+ अ-

काठमाडौं । माडीका रामु क्षेत्री १७ वर्षका मात्रै थिए। घरसँग साटेर ना. १ख ३२४५ नम्बरको बस चलाउँथे। आफ्नो बसमा उनी पैसा उठाउने काम गर्थे। २०६२ जेठ २३ गते बगईबाट हिँडेको बस तीन घण्टापछि बिहान पौने ८ बजे बाँदरमुढे खोलामा आइपुग्यो। त्यहाँ आइपुग्दा १ सय २० जना यात्रु थिए। भित्र खुट्टा टेक्ने ठाउँ नभएपछि यात्रु छतमा पनि थिए। 

बसधनी क्षेत्री अरू बेला पहिला भित्रका यात्रुसँग भाडा उठाउँथे। बसन्तपुर बजार पुगेपछि मात्रै छतमा भाडा उठाउने चलन थियो। तर, भित्र भीड भएपछि उनी पहिला छतमा रहेका यात्रुसँग पैसा उठाउँदै थिए। त्यही बेला गाडी एक्कासि उड्यो। उनले बसको तल हेरे। झ्यालबाट फुटबलजस्तो उछिट्टिएको देखे। उनलाई भित्रबाट कसैले बल फाले होलान् भन्ने लाग्यो। बस भुइँमा नबजारिँदै उनी छतबाट बालुवामा हाम फाले। त्यसपछि मात्रै उनलाई थाहा भयो कि त्यसरी उछिट्टिएको कुनै बल नभएर बसकै यात्रु थिए।

भुइँमा यत्रतत्र छरिएका शव देखेर, रोइकराई गरेको सुनेर उनलाई सपनाजस्तै लाग्यो। ‘मान्छेहरू लथालिंग देखेर सपना हो कि विपनाझै भयो’, उनी भन्छन्, ‘सपनाजस्तो लागेर चारपटक आफूले आफैंलाई चिमोटेपछि पो बम पड्किएको भन्ने भयो।’

उनी छतमा भएकै कारण बाँचे। छतमा भएका सबै यात्रु बाँच्न सफल भए। दोस्रो बम पनि पड्किन्छ भनेर भागे। बसछेउ एक महिलाको शरीर क्षतविक्षत अवस्थामा थियो। जिउँदै रहेकी ती महिला आफ्नो पेटबाट निस्केका भित्री अंग हेर्दै थिइन्। बसको अघिल्लो भागमा बसेकी हुनाले उनकी १६ वर्षकी छोरी सकुसल थिइन्। 

‘विस्फोट भएपछि त्यही बहिनी र म मात्रै थियौं। आमालाई काखमा राखेर बचाइदिनुस् भन्दै थिइन्’, उनी त्यस बेलाको घटना स्मरण गर्छन्, ‘पानी–पानी भनेपछि खोलाको पानी लगेर खुवाएँ। त्यत्तिकैमा छोरीको काखमा प्राण गयो।’ 

त्यसदिन उनकै बसको पहिलो पालो थियो। बिहान ५ बजे बगईबाट हिँड्ने बेला १०–१२ जनाको संख्यामा नेपाली सैनिक वनकट्टा पोस्टसम्म जान चढेका थिए। त्यसअघि नै माओवादी कार्यकर्ताले सेनालाई बसमा नचढाउन भनेका थिए। 

संकटकालको समयमा सवारीधनीले सेनालाई रोक लगाउन सकेनन्। नचढाउँदा पनि यातायात व्यवसायीले सेनाबाट सजाय भोग्नुपथ्र्यो।  ‘माओवादीले पहिल्यै नचढाउनु भनेका भन्थे। नचढाए आर्मीले समात्ने डर थियो’, उनी भन्छन्, ‘हामी दुवै पक्षबाट चेपुवामा थियौं।’  नभन्दै तत्कालीन विद्रोही पक्ष माओवादीले २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा बम विस्फोट गराएको थियो। माओवादी कार्यकर्ताले बसमा चढेका सेनालाई लक्ष्य गरी बसका यात्रुलाई विद्युतीय धरापमा पारेका थिए। 

तत्कालीन शाही नेपाली सेनाका जवानसहित ३९ जना मारिए। छतमा बसेका सबै सकुशल भए। भित्र बसेर बाँचेका यात्रु कोही अपांगता अवस्थामा छन्। कतिपय काम गरेर खान नसक्ने अवस्थाका छन्। 

घटना भएको १० दिनसम्म पनि स्थानीयवासी खोलामा जान डराएको उनीहरू बताउँछन्।  बसका चालक र साहूको विषयमा अहिलेसम्म कहीँ कुरा भएको सुनिँदैन। उनीहरूले क्षतिपूर्ति र राहत अहिलेसम्म पाएका छैनन्। उनीहरूको नाम पीडितको सूचीमा पनि छैन। अहिलेसम्म कसैले सम्झिएको छैन उनीहरूलाई। अहिले दुवै जना परिवारसँग रमाइरहेका छन्। 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।