एजेन्सी । भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका स्टार फुटबल खेलाडी लियोनल मेसीलाई उछिनेका छन् ।
विश्वकप छनोटअन्तर्गत सोमबार दोहास्थित जसिम बिन हमाद रंगशालामा बंगलादेशविरुद्धको खेलमा २ गोल गर्दै क्षेत्रीले मेसीलाई उछिनेका हुन् ।
उक्त खेलमा भारत २–० ले विजयी बनेको थियो । क्षेत्रीको उत्कृष्ट प्रदर्शनमा विश्वकप २०२२ को छनोटमा भारतले पहिलो जित पनि हात पारेको छ । भारतले खेलेका ७ मध्ये यसअघि ३ खेलमा बराबरी र ३ मा हार ब्यहोरेको थियो ।
योसँगै सुनीलले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्याएका छन् ।
सन् २००५ को जुन १२ मा पाकिस्तानविरुद्धको खेलमा डेब्यु गरेका उनले अहिलेसम्म ११७ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
समूह ‘ई’ मा रहेको भारत ६ अंकसहित तेस्रो स्थानमा छ । समूहमा कतार २२ अंकसहित पहिलो र ओमान १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यता मेसीले भने गत बिहीबार चिलीविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै आफ्नो गोलसंख्या ७२ पुर्याएका थिए । मेसीले अर्जेन्टिनाबाट १४३ खेल खेलेका छन् । सक्रिय खेलाडीमध्ये भने पोचुर्गलका क्रिस्टियानो रोनाल्डोको नाममा सबैभन्दा बढी १०३ अन्तर्राष्ट्रिय गोल रहेको छ । रोनाल्डोले पोर्चुगलका लागि १७४ खेल खेलेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी इरानका अली दाई हुन् । उनले १४९ खेलबाट १०९ गोल गर्दै कीर्तिमान बनाएका छन् ।