२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची आयोजनाका कामदार बस्ने क्याम्प बाढीले बगायो, कैयौँ बेपत्ताको आशंका



अ+ अ-

काठमाडौं । गए रातिदेखिको आएको वर्षा र त्यसपछिको बाढीले मेलम्ची खानेपानी आयोजनाक मजदुरहरु बस्ने क्याम्प नै बगाएको बताइएको छ । यसबाट त्यहाँ ठूलो क्षति पुगेको अनुमान गरिएको छ । आयोजनाको संरचना सुरक्षित नै रहे पनि मानवीय क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सो क्याम्प सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका,१ आम्बाथाङमा रहेको थियो । त्यो क्याम्प मेलम्ची खानेपानी आयोजनाभन्दा केही तल रहेको थियो । सो क्याम्प नै बाढीले बगाएको एक स्थानीयले जानकारी दिएका छन् । 

उनका अनुसार खानेपानी आयोजनाको संरचनामा अहिलेसम्मको अवस्था हेर्दा सुरक्षित देखिन्छ तर हेडवर्क्सभन्दा तल रहेको लेभर क्याम्प भने बगाएको छ ।

सो क्याम्पमा निर्माण काममा रहेका कामदारहरू बस्ने गरेका थिए । बाढीले क्याम्प बगाएपछि त्यहाँका कामदारको अवस्थाबारे जानकारी आइसकेको छैन ।  क्याम्पभित्र पनि केही व्यक्तिको मृत्यु भएको हुनसक्ने र अरु कैयौँलाई बाढीले बगाएर लगेको हुनसक्ने अनुमान स्थनीयले गरेका छन् । 

खानेपानीको मुहानको गेट बन्द गरिएकाले खानेपानीको सुरुङ सुरक्षित रहेको बताइएको छ । अहिले सो क्षेत्रको सडक अवरुद्ध छ । त्यसका कारण उक्त स्थानमा जान सम्भव भएको छैन ।