२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैलिँदै ड्रागन फ्रुट खेती



अ+ अ-

बनियानी । झापामा पछिल्लो समय ड्रागन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो ।

कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती सुरु गरेको यहाँका किसान बताउँछन् । गौरीगञ्ज गाउँपालिका–२ का भूपेन्द्र थापाले सुमेरु कृषि फर्ममार्फत् आठ बिघामा ड्राइगन फ्रुटको व्यावसायिक खेती गर्नुभएको छ । उहाँले दुई वर्षअघि खेती सुरु गर्नुभएकामा गत वर्षदेखि उत्पादन सुरु भइसकेको छ । अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएपछि ड्राइगन फ्रुट खेती थालेको थापाको भनाइ छ । “अघिल्लो वर्ष रू १२ लाखको बेचेँ”, उहाँले भन्नुभयो, “यो वर्ष पनि फूल फुल्न र चिचिला लाग्न थालेको छ ।”

यस वर्ष रू ३० देखि ४० लाखको ड्राइगन फ्रुटको कारोबार हुने उहाँको अनुमान छ । गतवर्ष झापा र मोरङका विभिन्न बजारमा आफ्नो उत्पादन पुगेको बताउँदै थापाले यस पटक बजारको अवस्था केही असजह भएको सुनाउनु भयो । “महँगो फल हो, बजार पनि असहज छ । यस पटक काठमाडौँसम्म ड्राइगन फ्रुट पुर्‍याउने सोच छ”, उहाँले भन्नुभयो । थापाले व्यावसायिक खेतीका लागि कृषि ज्ञान केन्द्र झापाबाट रू सात लाख अनुदानसमेत पाउनुभएको छ । गतवर्ष कार्यालयमार्फत् पिलर र थोपा सिँचाइका लागि उक्त रकम अनुदान पाएको उहाँले बताउनुभयो ।

अर्जुनधारा–११ का कृष्ण गौतमले श्री एग्रिकल्चर नर्सरी स्थापना गरी आठ कठ्ठामा एक हजार ६६ ड्राइगन फ्रुटको बिरुवा लगाउनुभएको छ । “झण्डै २० वटा विभिन्न फर्म घुमेर ड्राइगन फ्रुट खेती स्ुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “खेती गर्न सजिलो छ, उत्पादनको मूल्य पनि राम्रो छ ।” धेरै हेरचार गर्नु नपर्ने, पानी मल धेरै नचाहिने र बजार मूल्य पाि राम्रो भएका खेती सुरु गरेको उहाँले बताउनुभयो । ढुवानीसहित रू दुई सय ५० को दरले धरानबाट ‘रोज पिटया’ नामक ड्राइगन फ्रुट बिरुवा किनेर खेती थालेको उहाँको भनाइ थियो । “सुरुमा बीउ किनेर ल्याएर बिरुवा उत्पादन गरे पनि राम्रो फल नलाग्ने भएपछि बिरुवा नै किनेर लगाएको छु”, उहाँले भन्नुभयो ।

ड्राइगन फ्रुट एक पटक लगाएपछि सोहीबाट अरु बिरुवा उत्पादन गर्न सकिने गौतमले बताउनुभयो । एउटा पिलरमा चार वटा बिरुवा लगाउन सकिने र सोबाट ५ देखि ४० केजीसम्म ड्राइगन फ्रुट फल्ने उहाँको भनाइ छ ।

जिल्लामा छिटफुट रूपमा सुरु भएको ड्राइगन फ्रुट यतिबेला करिब ५० बिघा क्षेत्रफलमा फैलिइसकेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “एकै जनाले आठ बिघासम्म खेती गरिररहेका छन्”, उहाँले भन्नुभयो, “झापामा पछिल्लो समय ड्राइगन फ्रुट खेती फस्टाउँदो छ ।”

झापाको गौरीगञ्ज, मेचीनगर, दमक, बाह्रदशी, भद्रपुर, अर्जुनधारालगायत स्थानमा किसानले ड्राइगन फ्रुटको व्यावसायिक खेती गरिरहेका छन् । पानीमा नडुब्ने डोमट माटोमा यसको खेती राम्रो हुने प्रमुख विष्टले बताउनुभयो । मल र सिँचाइ राम्रो भएमा बिरुवा लगाएको एक वर्षदेखि उत्पादन सुरु हुने र वर्षौंसम्म फल्छ । ड्राइगन फ्रुटको सिजन चैतदेखि असोजसम्म मानिन्छ । चैतमा फुल फुल्न थालेपछि असोजसम्म उत्पादन हुन्छ । कृषि ज्ञान केन्द्र झापाले ड्राइगन फ्रुट खेती प्रवद्र्धनका लागि सिँचाइ र पिलरका लागि अनुदान दिइरहेको छ । रासस