३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

रोजाइ बन्दै तनहुँका पर्यटकीय गन्तव्य

रोजाइ बन्दै तनहुँका पर्यटकीय गन्तव्य
अ+ अ-

तनहुँ । मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् ।

घरमा प्रयोग गरिएका काठका कलात्मक झ्यालहरुलगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । यहाँ अहिले स्वदेशीदेखि विदेशीसम्मको भ्रमण गन्तव्य बन्दै गएको छ । पृथ्वी राजमार्गको डुम्रेदेखि करिब आठ किलोमिटर दूरीमा पर्छ । “बन्दीपुरमा पर्यटकको चाप बढेको यिनै कलात्मक झ्यालढोकासहितका घरले गर्दा हो”, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ घर देखाउँदै भन्नुहुन्छ, “यी घरहरु हुन्थेनन् त बन्दीपुर हुने थिएन । पर्यटक हुने थिएनन् ।’’

पृथ्वीनारायण शाहले १७७८ सालतिर काठमाडौं उपत्यका आक्रमण गरेपछि भक्तपुरबाट भागेर आएका प्रधान, जोशी, पिया, श्रेष्ठ र मल्लहरुले बसालेको बस्ती हो बन्दीपुर । उत्तरतर्फ देखिने लहरै हिमाली दृश्य, कलात्मक घर र ढुङ्गाले ओछ्याइएका गोरोटो बाटोको सुन्दरताले बन्दीपुरलाई पहाडको रानीसमेत भनेर चिनिन्छ ।

बाह्रै महिना पर्यटक आउने गरे पनि पुस, माघ र नयाँ वर्षको छेकोमा विदेशी पर्यटकको चाप बढ्ने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउनुहुन्छ । “जाडो याम सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चाप बढ्न थालेको छ”, प्रधानले भन्नुभयो, “अब बन्दीपुरका होटल भरिभराउ हुने समय सुरु भयो ।”

कोभिड सङ्क्रमण पहिले बन्दीपुरमा दैनिक ३० देखि तीन सयसम्म विदेशी पर्यटक आउने गर्थे । हाल डेङ्गु सङ्क्रमणको चर्चाले विदेशी पर्यटकको आगमनमा केही असर गर्लाकी भन्ने चिन्तामा हुनुहुन्छ, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालकसमेत रहनुभएका प्रधान । बन्दीपुर भ्रमणलाई प्रोत्साहन गर्न बन्दीपुर गाउँपालिकाले आवश्यक प्रचारप्रसारको र पूर्वाधार विकासमा सहयोग गर्नुपर्ने प्रधानले बताउनुभयो । बन्दीपुरमा असोजदेखि माघसम्म स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्ने विकास समितिले जनाएको छ । कोभिड सङ्क्रमण पहिले बन्दीपुरमा चीनबाट आउने पर्यटक बढी हुने गरेपनि अहिले बेलायत र फ्रान्सका पर्यटकको चाप बढी रहेको छ ।

बन्दीपुर विकासका लागि सबै क्षेत्रबाट सकारात्मक पहलको आवश्यकता रहेको तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइले जनाएको छ । पोखरा र सौराहा जस्तै पर्यटकको चाप बढाउन बन्दीपुरमा नयाँ सोंच र योजना हुन आवश्यक रहेको एकाइ सभापति वैंश गुरुङ बताउनुहुन्छ । “बन्दीपुर जान केवलकारको काम धमाधम भइरहेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “कृत्रिम ताल बनाउने योजना पनि अब छलफल गरी अघि बढाउने योजनामा छौँ ।”

बन्दीपुरको दीर्घकालीन विकासको लागि स्थानीय तहबाट आफूहरुले सकारात्मक सहयोग खोजेको भए पनि त्यो प्रयास पर्याप्त नभएको उहाँले बताउनुभयो । बन्दीपुरमा हाल साना ठूला गरेर करिब ७७ वटा होटल सञ्चालनमा छन् । बन्दीपुर गाँउपालिकाको कार्यालयले समेत बन्दीपुरमा दोहोरिएर आउने पर्यटक बढाउने गरी दीर्घकालीन योजना बनाउने गरी आफूहरु जुटिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

बन्दीपुर आउने पर्यटक बढाउन गाउँपालिकाले ‘मिनी ग्रेटवाल’ बनाइरहेको उहाँले जानकारी दिनुभयो । “दोहोरिएर आउने पर्यटक चाप बढाउने गरी योजना बनाउन आवश्यक देखेका छौँ”, बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो, “त्यसका लागि पर्यटकलाई लोभ्याउने योजना बनाउने गरी जुटिरहेका छौँ ।”

यसै आर्थिक वर्षमा सूचना केन्द्र स्थापनाका लागि गाउँपालिकाको कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको बन्दीपुर गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँपालिकाका ११ वडामध्ये बन्दीपुर बजार २ र ३ वडामा फैलिएको छ ।

तनहुँसुर

तनहुँसुरले पनि पर्यटकीय गन्तव्यका रुपमा पछिल्लो समय पहिचान बनाउँदै गएको छ । व्यास नगरपालिका–११ मा पर्ने तनहुँसुरमा तोप, दरबार र मन्दिरको भग्नावशेष हेर्न मानिस आउने गर्छन् । यहाँबाट महाभारत पर्वत शृङ्खला, चुँदी र कलेस्तीफाँटको दृश्य मनमोहक देखिन्छ । राजाले नियम र निर्णय सुनाउन बस्ने गरेका गद्धि चौतारा अझै पनि छ । पर्यटकलाई बसाइ व्यवस्थापन सहज बनाउन तनहुँसुर सामुदायिक होमस्टे ९घरवास० पनि सञ्चालन गरिएको छ । तनहुँसुर आउने पर्यटकलाई यही होमस्टेमा वासको प्रवन्ध गरिन्छ । एकैपटकमा ३०/३५ जनालाई सजिलै व्यवस्थापन गर्न सकिने होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

पाल्पाका राजा मणिमुकुन्द सेनले जेठा छोरा भृङ्गी सेनलाई सन् १६१० मा राज्य गर्न तनहुँसुर पठाएको किंवदन्ती छ । २३० बर्षसम्म तनहुँसुरमा आठ सेन वंशी राजाले राज गरेको इतिहास छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन हुन् । विसं २०२५ तिर पृथ्वी राजमार्ग खनिएसँगै यहाँका नेवारहरु व्यापारका लागि दमौली झरेपछि यो बस्ती खण्डहर जस्तै हुन पुग्यो । तनहुँसुरमा अहिले नेवार, मगर र दलितका गरी ६४ घर छन् । तनहुँसुरमा आन्तरिक पर्यटककै चाप बढी हुने गर्दछ । यहाँ तनहुँसुर र तनहुँसुर देवस्थल गरी दुईवटा होमस्टे सञ्चालनमा छ ।

“तनहुँसुरमा आउने मुख्य पर्यटक भनेकै स्वदेशी हुन्”, तनहुँसुर होमस्टेका अध्यक्ष केवि थापाले भन्नुभयो, “एक पटक आउने अर्को पटक परिवारका सदस्यलाई लिएरसमेत आउनुहुन्छ ।”

तनहुँसुरमा अझै पनि नेवारका हटिया र ऐतिहासिक मन्दिर जीर्ण अवस्थामा रहेकाले तिनीहरुको आवश्यक संरक्षण गर्ने गरी आफूहरुले गण्डकी प्रदेश सरकारसमक्ष २० करोड ४५ लाख रुपैयाँको विस्तृत गुरुयोजना पेश गरेको तनहुँसुरका अगुवा ध्रुव पण्डित बताउनुहुन्छ । “तनहुँसुरको महिमालाई अझै उचाइमा पु¥याउन संरक्षणका विभिन्न कार्यक्रम बनाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि राज्यको साथ र सहयोग आवश्यक छ ।”

पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ । “तनहुँसुरलाई पर्यटकीय गन्तव्यको नयाँ गन्तव्य बनाउने गरी अग्रसर भएका छौँ”, व्यास नगर प्रमुख न्यौपानेले भन्नुभयो, “त्यसका लागि पूर्वाधार विकासमा जोड दिइरहेका छौँ ।”

तनहुँसुर जाने सडक कालोपत्र गर्ने कार्यलाई व्यास नगरपालिकाको कार्यालयले प्राथमिकतामा राखेको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ । दमौलीबाट १५ किलोमिटरको दूरीमा पर्छ तनहुँसुर । पूर्वाधार विकास र ऐतिहासिक सम्पदाको संरक्षण गरी पर्याप्त प्रचारप्रसार गर्नसके बन्दीपुर जस्तै स्वदेशी र विदेशी पर्यटकको तनहुँसुर गन्तव्य बन्ने पक्का छ ।

दगाम, भुजिकोट

तनहुँको अर्को घुम्ने गन्तव्यमा पर्छ शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने दगाम र भुजिकोट गाउँ । दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । दगाम र भुजिकोटबाट शुक्लागण्डकी क्षेत्रको अलावा पोखराको फेवातालसम्मको दृश्य रोचक देखिन्छ । उत्तरतर्फ देखिने अन्नपूर्ण र माछापुच्छ«े हिमालको तरेलीले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । दगाममा करिब २५ घर र भुजिकोटमा करिब २० घर छन् ।

घुमफिरका लागि आन्तरिक पर्यटक आउन थालेपछि आफूहरुले होमस्टे समेत सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष नन्दु थापा बताउनुहुन्छ । होमस्टेमा आउनेहरुबाट सकारात्मक प्रतिक्रियाले उत्साहित बनाउने गरेको उहाँको भनाइ छ । कोदो, मकैको परिवारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने दगामका अगुवा तथा दगाम सामुदायिक होमस्टेका सहजकर्ता नन्दु थापा बताउनुहुन्छ । “पाहुनालाई हामी भटमास, मस्याङ गुन्द्रुक, ढिडोंलगायतका स्थानीय परिकार नै खुवाउने गर्छांै”, सहजकर्ता थापाले भन्नुभयो, “स्थानीय उत्पादन नै होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।”

दगाम र भुजिकोटमा चार वटा होमस्टे सञ्चालनमा छ । कुस्मावती, दगाम, इमान्दार र भुजिकोट होमस्टेमा तिहारपछि फागुन पहिलोसातासम्म स्वदेशी पयर्टकको चाप बढ्ने गर्छ । पाहुनाहरुमा अधिकांश शुक्लागण्डकी र पोखराका हुने गर्छन् ।

दगाम र भुजिकोटमा होमस्टेका पाहुना फर्किदा स्थानीय मह कोशेलीका रुपमा लैजान मन पराउने दगाम होमस्टेका अध्यक्ष तिला थापाले जानकारी दिनुभयो । गाउँसम्म पुग्न पक्की बाटो भए शुक्लागण्डकी र पोखराका पर्यटकलाई समेत आकर्षित गर्न सकिने सोच दगाम र भुजिकोटवासीको छ ।

मिर्छुलुङ

भिमाद नगरपालिका–५ मा पर्ने मिर्छुलुङ पनि होमस्टेका पाहुनाको रोजाइमा पर्दै गएको छ । मगर बाहुल्यता रहेको यस होमस्टेमा निहुरो, कर्कलो, मकैको आँटो, स्थानीय जातका कुखुरा र सुँगुरको मासुको परिकार चाख्न पाइन्छ । यहाँ आउने पर्यटकलाई कौराहा र झ्याउनेमा नाचेर रमाइलो गरिन्छ । पर्यटक पनि नाच्ने र गाउने गरेर रमाइलो गर्छन् । मिर्छुलुङ होमस्टेमा ३० घर रहेका छन् ।

गाउँको शिरानमा भ्युटावर ९दृश्यावलोकन स्तम्भ०समेत छ । टावरबाट हिमालका दृश्य, भिमाद बजार र सेतीको नागबेली रोचक देखिन्छ । मन बहलाउन र थकान मेट्न आउने आन्तरिक पर्यटकको चाप बढ्दै गएको होमस्टेका सदस्य मनसरा थापाले बताउनुभयो । “साथी र परिवारका सदस्यहरु आएर रमाइलो गरेर जाने चलन बढ्दै गएको छ”, थापाले भन्नुभयो, “हाम्रो चुल्होमा पनि स्थानीय परिकार नै प्राथमिकतामा पर्छ ।” भिमाद बजारबाट पाँच किलोमिटर दक्षिणतर्फको यात्रापछि मिर्छुलुङ पुगिन्छ । भिमाद नगरपालिकाको कार्यालयले समेत मिर्छुलुङलाई प्राथमिकतामा राखेको छ ।

तनहुँमा विभिन्न गन्तव्यहरुमा बाहिरी तथा आन्तरिक पर्यटकको भ्रमणको तथ्यांक नभएपनि पछिल्लो समय साथी र आफन्तसँग घुम्ने संस्कारको विकास हुँदै गएको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ बताउनुहुन्छ । “पछिल्लो समय घुम्ने संस्कारको विकास हुँदै गएको छ”, गुरुङले भन्नुभयो, “प्रर्यटन प्रवर्धनका कार्यक्रमलाई राज्यले समेत प्राथमिकतामा राख्नुपर्छ ।”

गण्डकी प्रदेश सरकारले प्रदेशका एक सय १० मुख्य गन्तव्यको सूचीमा तनहुँका १० प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरेको छ । प्रमुख गन्तव्यमा बन्दीपुर, व्यास पर्यटन क्षेत्र, मिर्लुङकोट, देवघाटधाम, ढोरवाराही, छाब्दी वाराही, छिम्केश्वरी, भानुभक्त जन्मस्थल, आधिमुल बाराही र तनहुँसुर रहेका छन् । पूर्वाधार र आवश्यक विकास गरी ती गन्तव्यको पहिचान गराउने कार्यक्रम प्रदेश सरकारले राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराका सूचना अधिकारी विकास थापामगरले जानकारी दिनुभयो । रासस