२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण सुरु



अ+ अ-

काठमाडौं । आजबाट सुरु भएको १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको छ । आजदेखी असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर-घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने भएका हुन् । 

केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंका अनुसार सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

गत २७ र २८ भदौमा ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ ।

असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिएपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने  र विवरण भर्ने काम गर्नेछन् ।

यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ गतेदेखि घरपरिवार सूचीकरण गर्ने, १७ जेठबाट गणकलाई तालिम दिने, २५ जेठबाट मूल गणना कार्य थाल्ने कार्यतालिका थियो । तर, कोरोना महामारीका कारण सो कार्यतालिकाअनुसारको काम स्थगित गरिएको थियो ।

यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ ।

नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको तथ्यांक विभागको अनुमान छ ।