काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडलले माधव नेपालको नवगठित पार्टी एकीकृत समाजवादीले आगामी निर्वाचनमा एक सिट पनि नजित्ने बताएका छन् ।
बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेल माधव नेपालप्रति आक्रामकरूपमा प्रस्तुत हुँदै सो पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिएका हुन् ।
यस्तै नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन पौडेलको सुझाव छ ।
नेता पौडेलले दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने सरकारले अरु केही गर्न नसक्ने दावी समेत गरे । उनले एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड, माधव र कांग्रेसमा नरहेको भन्दै उनले सबै मिलेर बनेको गठबन्धनलाई परास्त गरिने र माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने बताए ।
रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गर्दै पौडेलले छिट्टै मुलुक चुनावमा जान लागेको र एमाले आफ्नो हैसियतसहित सत्तामा आउने बताए ।