दमौली । तनहुँको दमौलीमा रु ४५ करोडको लगानीमा सुविधासम्पन्न मल निर्माण गरिएको छ । ‘एपेक्स मल्टिमिडिया प्रालि’ले व्यास नगरपालिका–२ मा उक्त मल निर्माण गरेको हो ।
विभिन्न सेवा सुविधासहित एउटै छानामुनि किनमेल, मनोरञ्जन, खानपिनको सुविधा र डिजिटल प्रविधियुक्त चलचित्र घर सञ्चालनका लागि मल निर्माण गरिएको प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणका कारण मल निर्माणमा ढिलाइ भएको हो । “विजयादशमी अघि नै मल सञ्चालनमा आउँछ”, श्रेष्ठले भन्नुभयो । मलमा २३८ र १२० जना अटाउने छुट्टाछुट्टै चलचित्र घर निर्माण गरिएको छ । “साताभरि नै मल सञ्चालन गरिने छ”, प्रालिका व्यापार प्रमुख सुशील न्यौपानेले भन्नुभयो ।
कूल ४५ पसल क्षमताको मलमा हाल बुकिङ खुला गरिएको छ । त्यसमध्ये १५ प्रतिशत बुकिङ भइसकेको छ । उपभोक्ताको मागलाई ध्यानमा राख्दै मल निर्माण गरिएको न्यौपानेले बताउनुभयो ।