• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक



बेझाड । माछापालन व्यवसायबाट पाल्पाका कृषकले मनग्य आम्दानी लिन थालेका छन् । आधुनिक पोखरी निर्माण गरी व्यवसाय गर्न थालेपछि यहाँका कृषकले माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका हुन् ।

घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले आर्थिक वर्ष ०७००७१ देखि साविक जिल्ला कृषि विकास कार्यालयले माछापालनकार्यक्रममार्फत सहयोग गरेपछि जिल्लामा माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो ।

कार्यालयले परम्परागत शैलीमा माछापालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउन प्राविधिक तथा आर्थिक सहयोग गरेको छ । अन्य पेशा तथा व्यवसायका तुलनामा माछापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको माछापालन व्यवसायी सङ्घ जिल्ला अध्यक्ष एवं अगुवा कृषक महेश्वर पन्त बताउनुहुन्छ । “उत्पादित माछा बिक्री गर्न बजार सहज भएपछि यस व्यवसायमा कृषक आकर्षित हुँदै गएका छन्”, उहाँले भन्नुभयो ।

एक कृषकले वार्षिकरूपमा रु दुई लाखदेखि तीन लाखसम्म माछापालन व्यवसायबाट आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । पाँच रोपनी क्षेत्रफलमा माछापालन व्यवसाय गर्नुभएका पन्तले वार्षिक करीब तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

तानसेन नगरपालिका–१२ बौघापोखराथोकका टङ्कनाथ घिमिरेले पाँच वर्ष अघिदेखि दुई कट्ठा क्षेत्रफलमा माछापालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँ जिल्लामै यस व्यवसायमा सफल व्यवसायीका रूपमा चिनिनुहुन्छ । घिमिरेले माछाको व्यापार राम्रो हुन थालेपछि अहिले फिसिङ रिसोर्ट सञ्चालन गर्नुभएको छ । “माछाको माग राम्रो हँुदै गएपछि अहिले आफ्नै रिसोर्टबाट माछा बिक्री गरिरहेको छु” उहाँले भन्नुभयो । तीन लाखको लगानीमा व्यवसाय शुरु गर्नुभएका घिमिरेले वर्षमा खर्च कटाएर करीब तीन लाख बराबरको आम्दानी गर्नुहुन्छ ।

लामो समयसम्म तरकारी खेती गर्नुभएका रामपुरका अगुवा कृषक सूर्यप्रसाद अधिकारीले पनि तरकारी खेती छाडेर माछापालन व्यवसाय थालनी गर्नुभएको छ । “माछा पालेर राम्रो आम्दानी हुने सम्भावना देखेर तरकारी खेती छाडेर अहिले माछापालन व्यवसायमा लागेको छु”, अधिकारीले भन्नुभयो । उहाँले चार रोपनी जग्गामा यसै वर्षदेखि माछापालन व्यवसाय शुरु गर्नुभएको हो ।

यहाँका कृषकले सिल्भर, बिगहेड, कमन, रहु, ग्रास कार्प जातको माछापालन गरेका छन् । सीमसार क्षेत्र पर्ने अन्य बालीको उत्पादन लिन नसकिएको जमीनमा कृषकले माछापालन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । जिल्लामा हालसम्म १५६ जना कृषक माछापालन व्यवसायमा आबद्ध छन् । यहाँ छ दशमलव ५५ हेक्टर क्षेत्रफलमा १४१ वटा पोखरीमा व्यक्तिगत तथा सामूहिकरूपमा कृषकले माछापालन व्यवसाय गर्दै आएको पाइएको छ ।

जिल्लामा वार्षिकरूपमा २० देखि २५ मेट्रिक टन माछा उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका कृषि अर्थविज्ञ ज्ञानकुमार यादवले जानकारी दिनुभयो । “व्यवस्थित पोखरी निर्माण गरेर कृषकहरू राम्रो आयआर्जन गर्ने गरी माछापालन व्यवसायमा लागेका छन्”, यादवले भन्नुभयो ।

जिल्लाको तानसेन, रामपुर, रैनादेवी छहरा, गल्धा, दोभान, पोखराथोक, बौघापोखराथोक, सोमादी, कसेनी, अर्गलीलगायतका क्षेत्रका कृषक यस व्यवसायमा आबद्ध छन् । बिक्रीका लागि बजार सहज भए पनि भैरहवाबाट माछाका भुरा ल्याउन समस्या परेको सम्बद्ध कृषक गुनासो गर्छन् । रासस