• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

पत्रकारमाथिको आक्रमण र हत्या रोकिएन




वासिङटन । पत्रकारहरु सन् २०१८ मा पनि हत्या, हिंसा र आक्रमणको तारो बनेका छन् । विश्वका कतिपय स्थानमा युद्ध र द्वन्द्वका घटनामा कमी आएपनि पत्रकारमाथिको आक्रमणका घटनामा कमी नआएको एक विश्व संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

कमिटी टू प्रोटेक्ट जर्नालिस्टका अनुसार यस वर्ष आफ्नो पेशागत कार्यमा रहेकै अवस्थामा ५३ जना पत्रकारको हत्या भएको छ । यीमध्ये ३४ जना पत्रकारको हत्या युद्ध वा द्वन्द्वसँग असम्बन्धित छन् ।

“रिपोर्टिङका क्रममा प्रतिशोधका आधारमा मारिएका पत्रकारको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा दोब्बर भएको छ ।” न्यूयोर्कस्थित सीपीजेले प्रकाशन गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

यसैसाता पेरिसस्थित रिपोर्टर्स विदाउट बोर्डर्सले प्रकाशन गरेको प्रतिवेदन पनि सीपीजेसँग मिल्दोजुल्दो छ । रिपोर्टर्स विदाउट बोर्डर्सले यस वर्ष ८० जना पत्रकारको हत्या भएको प्रतिवेदन गत साता सार्वजनिक गरेको थियो । उक्त संस्थाले ब्लगर, नागरिक पत्रकार र सञ्चारकर्मीको मृत्युको गणना गरेको थियो ।

दुबै प्रतिवेदनले संवाददातामाथि प्रतिशोधका घटना निरन्तर बढेको जनाएका छन् । सीपीजेले आफ्नो प्रतिवेदनमा इस्तानबुलको साउदी अरेबिया महाबाणिज्यदूतावासमा भएको वासिङटन पोस्टका स्तम्भकार जमाल कशोग्जीको “निर्लज्ज हत्या”लाई पनि समावेश गरेको छ ।

सीपीजेको प्रतिवेदनमा तीन वर्षको अवधिमा हत्या गरिएका पत्रकारको कूल संख्या बढी भएपनि सन् २०११ यता द्वन्द्वमा मारिएका पत्रकारको संख्यामा कमी आएको उल्लेख छ ।

“पत्रकारमाथि आक्रमणका घटना बढी हुने अफगानिस्तानमा अझै पनि खतरनाक परिस्थिति छ र पत्रकार मारिनेक्रम रोकिएको छैन,” प्रतिवेदनमा भनिएको छ ।

अफगानिस्तानमा एएफपीका प्रमुख फोटोग्राफर शाह माराई गत अप्रिलमा भएको विद्रोहीको बम हमलामा मारिनुभएको थियो । उक्त घटनामा उहाँसमेत २५ जनाको हत्या भएको थियो ।

पत्रकारको अधिकार र सुरक्षाका सम्बन्धमा अन्तर्राष्ट्रिय नेतृत्व कमजोर बन्न थालेको पाइएको छ, खासगरी जमाल खशोग्जीको हत्याका आरोपीलाई बचाउन शक्तिशाली राष्ट्रको मुख्य नेतृत्व क्रियाशील रहेको सीपीजेको निचोड छ । सञ्चार क्षेत्रका लागि परिस्थिति दिनदिनै प्रतिकूल हुँदै गएको छ ।

“खशोग्जीको हत्याका बारेमा सबैभन्दा प्रखर रुपमा टर्कीका राष्ट्रपतिले आवाज उठाउनुभयो, तर उहाँकै सरकारले स्वतन्त्र मिडिया बन्द गराउन प्रमुख भूमिका निर्वाह गरिरहेको छ र अरु देशको भन्दा बढी पत्रकार यही देशमा बन्दी बनाइएका छन्,” सीपीजेका इलाना बेइजरले जारी गर्नुभएको प्रतिवेदनमा भनिएको छ ।

“विश्वव्यापी प्रेस स्वतन्त्रताको सशक्त प्रतिरक्षक ह्वाइट हाउसले पनि खशोग्जीको हत्याका बारेमा स्पष्ट हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग व्यापार गर्ने राष्ट्रले पत्रकारको हत्या गर्न स्वतन्त्र रहेझैं गरी मन्तव्य दिइरहनु भएको छ जहाँ कुनै कारणको जरुरत समेत पर्दैन ।”

सीपीजेले सन् २०१८ मा मारिएका अरु २३ जना पत्रकारका बारेमा पनि अनुसन्धान गरिरहेको जनाएको छ । रासस