पहिलो पटक चन्द्रमाको टाढाको भागमा अवतरण गरेको रोबोटिक यानले संकलन गर्ने नमुनाबाट भौगर्भिक अवस्थाको अध्ययन गरिने
बेइजिङ । चीनले पहिलो पटक चन्द्रमाको टाढाको भागमा रोबोटिक अन्तरिक्ष यान अवतरण गरेको जनाएको छ । चन्द्रमाको परको भाग अर्थात् पृथ्वीबाट नदेखिने क्षेत्रबारे हालसम्म कुनै अध्ययन भएको छैन ।
चीनले चन्द्रमाको टाढाको भागको अध्ययनका लागि प्रक्षेपण गरेको चांग ई–४ रोबटिक यान । तस्बिर स् रोयटर्स
बेइजिङको स्थानीय समयानुसार बिहीबार बिहान १० बजेर २६ मिनेटमा मानवरहित ‘चांग ई–४’ यान चन्द्रमाको दक्षिणी ध्रुव एइटकेन घाँटीमा अवतरण गरेको हो ।
चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले यानको सहयोगले उक्त क्षेत्रको भौगर्भिक अवस्थाबारे अध्ययन गरिनेछ । साथै यानले एक जैविक प्रयोग गर्न चाहिने उपकरणसमेत साथमा लगेको छ । यानको अवतरणलाई अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोसेढुंगाका रूपमा लिइएको छ ।
यसअघि चन्द्रमाको पृथ्वीतर्फ फर्किएको क्षेत्रमा मात्र यानहरू अवतरण गरिएका थिए । हालैका वर्षहरूमा भने चन्द्रमामा कुनै पनि यान अवतरण भएका छैनन् । यस पटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा यान पुगेको हो ।चन्द्रमाको नजिकको र टाढाको भागमा धेरै अन्तर भएको बताइन्छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा गत साता नै उत्रेको जनाएका थिए । चन्द्रमाको टाढाको क्षेत्रमा अवतरण गर्ने लक्ष्यका साथ पठाइएका कारण यसलाई जोखिमपूर्ण तथा जटिल मानिएको थियो । ‘चांग ई–४’ ले पठाएको सतहको तस्बिर चीनको सरकारी सञ्चारमाध्यमले सार्वजनिकसमेत गरेको छ । यानसँग प्रत्यक्ष सम्पर्क स्थापित नभएपछि ती तस्बिरहरू नजिकैको भू–उपग्रहमार्फत पृथ्वीमा प्राप्त भएको हो ।
यसअघि चाइन विश्वविद्यालयका लङ सियावले ‘चन्द्रमाको परको क्षेत्रबाट पृथ्वीको दृश्य नदेखिने भएकाले सञ्चार चुनौती सामना गर्नुपर्ने’ बताएका थिए । चिनियाँ अधिकारीका अनुसार उक्त यानले चन्द्रमाका चट्टान तथा धूलोका नमुना संकलन गरी पृथ्वीमा ल्याउनेछ । सन् २०१३ मा ‘चांग ई–३’ यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो ।
क्यालिफोर्निया इस्न्टिच्युट अफ टेक्नोलजीका खगोल शास्त्री ये कुआन्जीले भने, ‘अन्य अन्तरिक्ष शक्तिहरूले हालसम्म नगरेको प्रयास चीनले गरेको हो ।’ गत डिसेम्बर ७ मा सिचाङ भूउपग्रह केन्द्रबाट पठाइएको ‘चांग ई–४’ यान डिसेम्बर १२ मा चन्द्रमाको सतहमा पुगेको थियो । ‘चांग ई ४’ को मद्दतले भन कार्मन क्रेटरको समेत अध्ययन गरिने जनाइएको छ । उक्त क्रेटर (खाल्डो) चन्द्रमाको सुरुवाती इतिहासमा कुनै विशाल घटनाका कारण बनेको अनुमान छ ।
सामान्यतस् हामीले पृथ्वीबाट चन्द्रमाको एक पाटो मात्र देख्न सक्छौं । चन्द्रमाले आफ्नो अक्षमा घुम्दा लाग्ने समय र उसले पृथ्वीको एक परिक्रमा गर्न लाग्ने समय अवधि एकै हुने भएकाले हामीले पृथ्वीबाट चन्द्रमाको अर्को पाटो देख्न नसकिएको हो । त्यस्तो प्रक्रियालाई ‘टाइडल लकिङ’ भनिन्छ ।
चन्द्रमाको परको क्षेत्रलाई ‘अँध्यारो पाटो’ अर्थात् नदेखिने पाटोसमेत भनिन्छ । तर दिन र रात भने चन्द्रमाका दुवै पाटामा हुन्छ ।बीबीसी