६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विद्यालयमा टिक्दैनन् मुसहर किशोरी

विद्यालयमा टिक्दैनन् मुसहर किशोरी
अ+ अ-

बर्दिवास । “मुसहर बस्तीकी चेलीमा यिनले चाहिँ पढ्ने भइन् है भन्ने लागेको थियो, तर चट्टै आउन छाडिन्” महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीको मुसहरी टोलकी रिङ्कु सादाबारे माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली विषयका शिक्षक कमल श्रेष्ठले भन्नुभयो ।

नौ कक्षामा पुगेर अब चाहिँ एसइइ (माध्यमिक शिक्षा परीक्षा) मा सहभागी हुने आश जगाएकी आफ्नी छात्रा रिङ्कु एक्कासि विद्यालय आउन छाडेपछि मुसहरी टोलका चेली उच्च शिक्षामा पुग्छन् भन्ने आश मर्न थालेको शिक्षक श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो ।

“मुसहरी टोलबाट नानीहरू विद्यालय ल्याउनै गाह्रो, ल्याए पनि टिकाउनै गाह्रो” बल्लबल्ल नौ कक्षामा पुगेकी रिङ्कु गत वर्ष चैत लागेसँगै विद्यालय आउन छाडेपछि निराश हुनुभएका श्रेष्ठले भन्नुभयो, “मुसहरी टोलमा कतिपटक घरदैलो गरेर बल्लबल्ल नानी ल्याइन्छ, तर उनीहरु यहाँ टिक्दैनन्, त्यसमा पनि छोरीलाई त विद्यालय ल्याउनै गाह्र्रो छ ।”

हुन पनि रिङ्कु मात्र नभएर सोही बस्तीकी १४ वर्षीया अम्बिका सादा ८ कक्षा पढ्दापढ्दै विद्यालय आउन छाडिन् । त्यसैगरी कक्षा ७ मा पढ्दै गरेकी विना सादा, ६ कक्षामा पढ्दै गरेका बिसालु, रुवि, रितम र पविता सबै विद्यालय आउन छाडे । जम्मा ११० घर रहेका सो मुसहरी टोलबाट अहिलेसम्म विद्यालयमा टिकेर १० कक्षा टेक्ने छात्रा हुनै नसकेका र छात्रमा पनि एक मात्र सिमल सादाले एसइइ (केही वर्ष पहिले त्यतिबेला एसएलसी भनिने परीक्षा) उत्तीर्ण गरेको विद्यालयका शिक्षक बताउँछन् ।

विद्यालयबाट मुस्किलले पाँच/सात मिनट पैदल यात्राको दूरीभित्रको मुसहरी टोलबाट आएका छोरी विद्यालयमा नटिक्नुमा उनीहरूको गरीबी नै मुख्य कारण रहेको शिक्षकको निष्कर्ष छ । घरमा समयमा खान नपाउँदा विद्यालय आउने समय ढिलो हुनु, टिफिन (मध्यान्तर) मा अरु साथीले खाजा खाँदा मुसहर बालिकासँग खाजा र पैसा नहुनु र अन्य साथीसङ्गीको पहिरनअनुसार आफू हुननसक्नु, ‘स्टेसनरी’का पर्याप्त साधन जुटाउन नसक्नु र घरपरिवारको शिक्षाप्रतिको उदासीनता नै यिनीहरू विद्यालयमा टिक्न नसक्नुका मुख्य कारण हुनसक्ने शिक्षक श्रेष्ठको अनुमान छ ।

यद्यपि मुसहर किशोरीले ती समस्याबाहेक शिक्षकको बेवास्ता नै आफु विद्यालय जान नसकेको मुख्य कारण बताउँछन् । “समयमा हामीलाई भनिएको छात्रवृत्ति दिइँदैन, पैसाको अभावले कपी, कलम जुटाउन सकिन्न, अनि के जानु स्कूल ?” ८ कक्षामा पढ्दापढ्दै गत वर्ष चैतदेखि पढ्न जान छाडेकी अम्बिकाले भन्नुभयो, “हामीले केही सोध्दा सर झर्कोफर्को गर्नुहुन्छ, बुझेका हुँदैनौँ, परीक्षा आइपुग्छ, अनि के लेख्न जानिन्छ र स्कूल जानु ?” सो बस्तीका विद्यालय जान छाडेका अन्य बालिका र किशोरीले पनि अम्बिकाको भनाइमा सही थापेका छन् । आपूmहरू अझै पढ्न चाहे पनि परिवार, विद्यालय र वरपर समाज सहयोगी नभएको मुसहर किशोरीको गम्भीर आरोप छ ।

तर विद्यालयका प्रधानाध्यापक श्रीराम यादव मुसहर किशोरीको गुनासोसँग सहमत हुनुहुन्न । “विद्यालयभित्र मुसहर बालबालिकाले पठनपाठनको अवसर नपाएका भन्ने होइन, सबै विद्यार्थीसँग हामीले समान व्यवहार गरेका छौँ”, प्रअ यादवले भन्नुभयो, “दलितका लागि भइआएको व्यवस्थाअनुसारको सुविधा दिइएकै छ, गरीबीले समयमा खानेकुरा नपाउँदा ठीक समयमा विद्यालय आउन नसकेका कुरा मान्न सकिन्छ, तर यो समस्याबारे विद्यालय प्रशासनले के गर्न सक्छ र ?” यसका लागि विभिन्न तहका सरकारले खास नीति बनाए मात्र उनीहरूले थप सुविधा पाउनसक्ने प्रअ यादवको भनाइ छ ।

भङ्गाहा नगरपालिका क्षेत्रमा छुट्टाछुट्टै गणना गर्दा मुसहर र बाँतर भनिने उस्तैउस्तै संस्कृति परम्पराका दलित जातिको सङ्ख्या अन्य जातिभन्दा बढी भए पनि यि दुवै जातिबाट एसइइ उत्तीर्ण गर्ने अहिलेसम्म दुई जना (माथि चर्चा गरिएका सिमल सादासहित) मात्र देखिएका छन् ।

जिल्लामा मुसहर जातिको बसोबास भएको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मञ्जे सादाबाहेक अन्य मुसहर बालबालिका १० कक्षा पनि टेक्न सकेका छैनन् । बर्दिवास नगर क्षेत्रकै बिजलपुरा चल्की, पशुपतिनगर र मेघरोल बस्तीका मुसहर बालबालिका त पठनपाठनको समय बाहिरको समयमा ‘टाल–पुल्ली’ ९काठको टुक्रा डण्डाले उडाएर खेलिने एक प्रकारको खेल० खेल्ने प्रयोजनबाहेक विद्यालय परिसरमा जाने नगरेको पाइएको छ ।

मुसहरको बसोबास रहेको गौशाला नगरपालिकाको मनर्वा, रजखोर, फूलकाहा, भरतपुर र निगौल बस्तीमा पनि मुसहर बालबालिकाका हातमा कपीकलम नभई मुसा खोज्न दुलो खन्ने प्रयोजनको खुर्पी (माटो खन्ने सानो फलामे औजार) देखिन्छ । औरही नगरपालिकाको फूलबरिया, भोइलटिम्किया, लोहारपट्टी नगरपालिकाको खुट्टापिराढी, बलवा नगरपालिकाको भगवतीपुर र एकडारा गाउँपालिकाको भटौलिया बस्ती सघन मुसहर बसोबासका बस्ती हुन् । जिल्लामा अहिले करीब छ हजार जनसङ्ख्या आँकलन गरिएको मुसहर जातिमा हालसम्म एसइइ उत्तीर्ण गर्ने मुसहरको सङ्ख्या १५ ननाघेको जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय महोत्तरीले स्वीकार गरेको छ ।

एसइइ गरेका भेटिने मुसहर परिवारको यो सङ्ख्यामा छोरी भने हालसम्म एक जना पनि छिर्न नसकेको कार्यालय प्रमुख शत्रुधन यादव बताउनुहुन्छ । एसइइ गरेमध्ये ११/१२ मा पुग्ने दुई÷तीन जना देखिए पनि स्नातक गर्ने मुसहर जिल्लामा छँदै छैनन् ।

यसअघि शिक्षाबारे चासो नभएको यो जातिमा पछिल्लो पुस्ताका किशोरकिशोरी भने अब पढ्नु राम्रो काम हो भन्नेसम्म बुझ्न थालेका छन् । “पढ्ने रहर छ, आँगनमै स्कूल पनि छ”, केहीदिनअघि गौशालाको मनर्वा बस्तीको मुसहरी टोलकी १४ वर्षीया समुन्द्री सादाले सञ्चारकर्मीसँग भनेकी थिइन्, “तर पढेर जागिर खाने रहर भने पूरा हुन सकेन ।” किशोरावस्थामा टेकेपछि बाबुआमाले नै विद्यालय जान नदिने गरेको र विद्यालयको पनि सहयोगी भूमिका नहुने गरेको मुसहर किशोरीको गुनासो छ ।

रीतिरिवाज, वेषभूषा र आफ्नैपनको खानपान हुने मुसहर मुख्यतः कृषि मजदूरी गरेर जीवनयापन गर्ने जातिका रूपमा चिनिन्छ । मुसाको चटनी र घोङी (एक प्रकारको सानो खालको सङ्खेकीरा) को झोल मुसहरका खास रोजाइका खाद्य परिकार मानिन्छन् ।

कृषि कार्यमा पनि माटो काट्ने र काटिएको माटो टाला ९काँधमा भारजस्तो गरेर बनाइएको माटो बोक्ने जाली० बोक्न निपुण मानिने गरिएको छ । सामान्यतया अचेल १३/१४ वर्षको किशोर मुसहर रोजगारीका लागि भारतको हरियाणा, पञ्जाब जाने र सो उमेरका किशोरी घोङी मार्न निस्कने, घरमा खाना पकाउने, वरपर मजदूरी गर्ने र १५ वर्ष नपुग्दै बिहे गरेर जाने आम प्रचलन देखिन्छ ।

जिल्लाका मुसहर बालबालिकालाई विद्यालयमा टिकाउन थप पहलकदमी नभए यो अवस्था नफेरिने यहाँका शिक्षाविद् बताउँछन् । सामुदायिक विद्यालयका शिक्षकको सेवाभन्दा जागिरे मनस्थिति हुनु, राजनीति दल र जनप्रतिनिधिले विद्यालयलाई राजनीतिक अखाडा बनाउनु र विद्यालयबाट प्रवाह हुने सेवाबारे उदासीनता देखिनु सामुदायिक विद्यालयको पठनपाठन उँभो नलाग्नु मुख्य कारण भएको शिक्षा क्षेत्रमा लामो सरकारी सेवा गर्नुभएका नेपाल सरकारका पूर्वउपसचिव जिल्लाकै जलेश्वर नगरपालिकाको बखरी बस्तीका बासिन्दा ८० वर्षीय महेश्वर राय बताउनुहुन्छ ।

खासगरी मुसहर बालबालिकाको पठनपाठन प्रबन्धका लागि विशेष रणनीति नै बनाउन पर्ने रायको थप सुझाव छ । अशिक्षा र गरीबीका कारण सामाजिक पछौटेपनमा पर्दै आएका मुसहरलाई विकासको मूल प्रवाहमा समाहित गराउन शिक्षाको प्रसार र अवसर जुटाउनु नै पहिलो जरुरी रहेको यस भेगका समाजशास्त्री बताउँछन् ।

मुसहर बालबालिकालाई विद्यालय पुर्याउन, टिकाउन र माध्यमिक तहसम्मको शिक्षा पूरा गराउन नै पनि यिनीलाई नै लक्षित गरी रणनीति बनाउन आवश्यक रहेको मुसहर बस्ती नजिककै भङ्गााहा–३ कै बासिन्दा एवं नेपाल फाउण्डेशन फर एडभान्स्ज स्टडी (नेफास) मा कार्यरत समाजशास्त्री शिवराज दाहाल बताउनुहुन्छ । अहिले संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर शिक्षा क्षेत्रको रेखदेख र मुख्य व्यवस्थापन उसकै जिम्मा लगाए पनि मुसहरलक्षित शैक्षिक योजना भने बन्न नसकेको दाहालको भनाइ छ ।

रासस