८ आश्विन २०८१, मंगलवार
,
Latest
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा गरियो फोहोर सफाई, यसैगरी भ्रष्टाचार पनि सफा गर्न पाए !



अ+ अ-

–पूर्णप्रसाद मिश्र 

काठमाडौँ -मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए । पुसको बिहानी चिसो थियो, चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा भएको सफाइमा अधिकांश मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिहानैदेखि जुटेका थिए । प्रमुख प्रशासनिक स्थल क्षेत्रमा यत्रतत्र थुपारिएका निर्माण सामग्री, पुराना सवारी उठाई व्यवस्थित गरिएको कार्यालयका प्रशासन शाखा प्रमुख उपसचिव विष्णु घिमिरेले राससलाई जानकारी दिनुभयो । 

विभिन्न मन्त्रालय अघि थुपारिएका पुराना सवारीलाई गृहमन्त्रालय पछिको भागमा व्यवस्थित तरिकाले राखिएको छ । पुराना सवारीमध्ये मर्मत गरेर सञ्चालनमा आउन सक्नेलाई उपयोगमा ल्याइने कार्यालयले जनाएको छ । आज १०० भन्दा बढी सवारी साधनलाई व्यवस्थित गरिएको शाखा अधिकृत सुरज पोखरेलले सुनाउनुभयो । 

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन 

यसैगरी उपत्यकाका नदी र चक्रपथ सफाइ गरी अभियानकर्मीले ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको हो । 

वाग्मती सफाइ महाअभियानको २९६औँ हप्तामा ललितपुरतिरको गुसिङ्गाललमुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राष्ट्रियसभाकी सांसद कोमल ओली, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मीको सहभागिता थियो । शाखा अधिकृतको नाम निकाली नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालीम लिइरहेका १०० नयाँ कर्मचारी पनि सफाइ अभियानमा सहभागी भएको जनाइएको छ । 

सफाइमा १८ संस्थाका ४५० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । डेढ वर्ष अघि गुसिङ्गाल क्षेत्रबाट हटाइएका सुकुम्वासी फेरि नदी किनारमा आई बसेकाले नदीमा फोहर बढेको पाइएको उहाँले जानकारी दिनुभयो । 

गुह्येश्वरीमाथिको नदी सफाइको २५७ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित माकलबारी बसपार्क अघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–४ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारमा सफाइमा नआउनसमेत आह्वान गरेको छ । 

सो अवसरमा नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, मानवअधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित माकलबारी टोलवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । रुद्रमती सफाइ अभियानको २५१ हप्तामा रातोपुल–सेतोपुलसम्मको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वडासदस्यद्वय शर्मिला महतो र मनोज डङ्गोलसहित २०० अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो । 

विष्णुमती सफाइ अभियानको २२३ हप्तामा तारकेश्वर नगरपालिका–९ मा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी अनिल धरेलले बताउनुभयो । सफाइसँगै सो क्षेत्रमा जनचेतनामूलक अभियान पनि गरिएको थियो । 

वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९८औँ हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो । तिलगङ्गा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०६ औँ हप्ताको सफाइ गरियो । १०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो । 

मनोहरा नदी सफाइको ९६औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दङ्गालले बताउनुभयो । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

चक्रपथ सफाइ अभियानको ९२औँ हप्तामा ग्रिनसिटी अस्पतालबाट वसुन्धरा चोकसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो । सफाइमा महिला टेम्पो चालकलगायत ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइ अभियान शुरु भएको १०० औँ हप्ताको कार्यक्रमलाई विशेषरुपमा मनाउने तयारी गरिएको उहाँले सुनाउनुभयो । 

आलोकनगर सफाइको ९२ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सो अवसरमा जनचेतनामूलक अभियानसमेत चलाइएको थियो । 

चक्रपथ बाफल खण्ड सफाइको ७४ औँ हप्तामा कलङ्कीचोकमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । २०० भन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइमा हेभी इक्विपमेन्ट डिभिजनको सहयोगमा ब्रुमर लगाई सडकको धूलो टिपिएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । 

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको उपत्यकाका नदी एवं चक्रपथलगायत विभिन्न स्थानको सफाइले देशव्यापी स्वरुप ग्रहण गरे पनि सोचे जति सफा हुन नसकेको गुनासो छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुँगुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन ।
(रासस)
–––